पृथ्वीनारायण शाहले ‘असली हिन्दुस्तान’ विधर्मीबाट सुरक्षित तात्कालिक ‘नेपाल’ हो भनेका थिए । उनले आ–आफ्नो कुल र धर्म–संस्कृतिको रक्षा गर्नुपर्छ भनेर यो राष्ट्र नेपाल जोगाएका हुन् । त्यसैले उनले नेपाली जनतालाई अनेक प्रलोभन र प्रपञ्चमा पारेर धर्म परिवर्तन गराउन खोज्ने फिरङ्गीहरूलाई डाँडा कटाएका थिए । अहिले राष्ट्रको कुनै धर्म हुँदैन भन्दै मुलुकलाई अधर्मी, पापी र पाखण्डीहरूको क्रीडास्थल बनाउन खोजिँदै छ । जुन घोर आपत्तिजनक छ । सबै शब्दकोश हेरियोस् ‘निरपेक्ष’ शब्दको अर्थ नास्तिक र नकारात्मक छ (अपिल, २०७० फागुन १५) ।
माथिका प्रसङ्ग विश्व हिन्दू महासङ्घ नेपाल, राष्ट्रिय समितिका अध्यक्ष डा. रामचन्द्र अधिकारीद्वारा वितरित अपिलमा उल्लेख गरिएका हुन् । उक्त पर्चामा यसबारे केही विस्तृत रूपमा उल्लेख गरिएका भनाइ अझ प्रासङ्गिक भएकाले साभार गर्नु उपयुक्त हुनेछ–
‘यतिबेला मुलुक ठूलो सङ्क्रमणमा छ । ०६२/६३ को जनआन्दोलनको भावनाविपरीत ०६३ जेठ ४ गते घोषित धर्मनिरपेक्षता इसाईकरणसँगै नेपाललाई केन्द्र बनाई भारत–चीन दुवैतर्फ जातीय द्वन्द्व चर्काउने उद्देश्य रहेको बुझिन्छ । यसकारण अब बन्ने संविधानमा नेपाललाई ‘वैदिक सनातन हिन्दू राष्ट्र’ कायम नगरिए त्यसबाट अन्त्यहीन द्वन्द्व निम्तने र गृहयुद्ध चर्कने देखिन्छ । हिजो लोकतान्त्रिक पद्धति, संस्कार र संस्कृतिविरुद्ध उग्रराष्ट्रवाद, नयाँ नेपाल र अग्रगमन भन्दै सशस्त्र द्वन्द्व मच्चाएर हजारौँ निर्दोष नेपालीको अनाहकमा ज्यान लिने, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको सालिक ढाल्ने, संस्कृत विश्वविद्यालय जलाउने, बौद्ध धर्मका आस्थाकेन्द्र गुम्बाहरू भत्काउने, पवित्र आस्था र भावभक्तिका साथ तिजको व्रत बसेका नारीहरूलाई गाईको मासु कोच्याउने, नेपालका प्रत्येक गाविसमा दुई–दुई र नगर वडामा एक–एक चर्च स्थापना गर्ने इसाईकरण अभियानका मतियार उग्रवामपन्थी शक्तिसँग तिनले गरेको नरसंहारको औचित्य पुष्टि नभएसम्म विद्यमान समस्याको निकास देखिँदैन भन्ने भनाइ स्मरणीय छ ।
धर्मनिरपेक्षता ल्याएको सन्दर्भमा आँखा विशेषज्ञ डा. रामप्रसाद पोखरेल लेख्नुहुन्छ– केही लालची नेताहरूले पैसाको लोभमा जनताको भावनाविपरीत हिन्दूराष्ट्रलाई मासेर ठूलो पाप गरेका छन् । नेपाली जनतामा जस्तो धर्म सहिष्णुता, धर्मको नाममा कहिल्यै कुरा नउठेको ठाउँ जहाँ ८० प्रतिशतभन्दा बढ्ता जनता हिन्दू छन्, त्यहाँ नचाहिँदो रोग थपिदिएर नेपालका नेताहरू पैसामा कतिसम्म गिरेका रहेछन् भन्ने प्रमाणित गरिदिए (कमान्डर पोष्ट, २०७१, पुस ६) ।
आधुनिक युगलाई छोडेर पहिलेका तमाम युगहरूमा धर्म सबै ज्ञानविज्ञानको स्रोत र नियन्ता मानिन्थो । प्रारम्भिक धर्ममा बहुदेववादको प्रवृत्ति प्रधान थियो । ग्रिक धर्ममा ओरिसस, होरस, जिअस, अपोलो आदि देवता प्राकृतिक शक्तिहरू अथवा मानवीय गुणहरूको सर्वोत्तम प्रतिनिधित्व गर्दछन् । वैदिक साहित्यमा ऋषि इन्द्र, वरुण, सूर्य, अग्नि, शिवजस्ता देवताको वर्णन, अभिवादन गर्दछ । देवता समय र परिवेशका साथै विशेष र गौण हुन्छन् । ऋग्वेदमा बहुदेवतावादका साथै सर्वेश्वरवादको प्रवृत्ति पनि देखिन्छ । वरुण प्राकृतिक, मानवीय तथा सबै जैविक स्थितिहरूको नियन्ता मानिन्छन् । पुरुष एक छ अनेक हुन चाहन्छ (जेम्स, इ.ओ. (सम्पा.) कम्परेटिभ रिलिजन पृ. ९९, १२३, १४६, १४७) ।
जगतको सञ्चालन गर्ने शक्तिको नाम ‘ऋतु’ हो । त्यो ‘पुरुष’को शक्ति हो तथा जगतको भित्रबाट नियन्त्रण गर्दछ । प्रकृति पुरुषको विस्तार हो, जगत्को अङ्ग त्यसैको शरीरको अङ्ग हो (पाण्डेय, गोरख धर्मबारे माक्र्सवाद दृष्टिकोण पृ. ५८) ।
भारतीय उपमहाद्वीपभित्र अनेकौँ संस्कृति विकसित भए । केही संस्कृति शाश्वत संस्कृति हुन् भने केही ऐतिहासिक । ऋतुअनुसारका संस्कृति शाश्वत संस्कृतिमा पर्दछन् । सनातन संस्कृति शाश्वत हो । भारतको अर्थ हुन्छ— ‘भा’ ले ज्ञानलाई बुझाउँछ । ‘रत’ले ज्ञानमा लिन भएको अथवा लागेको जो छ त्यसैलाई ‘भारत’ भनिन्छ । यसरी ‘भा’मा लिप्त नै भारत भयो । भारत शब्दले जीवनशैली र दर्शनलाई पनि बोध गराउँछ । ज्ञानमय जीवनशैलीलाई भारतीय जीवनशैली भनिन्छ । त्यस्तै षट्शास्त्रलाई पनि भारतीय जीवन दर्शन भनिएको छ । भारतीमा ‘भा’को अर्थ ज्ञान र ‘रति’को अर्थ रत हुनु हो । यो स्त्रीवाचक शब्दले विद्याकी अधिष्ठातृलाई बुझाउँछ । महाभारतको अर्थ हुन्छ महायज्ञ महाज्ञान (पन्त वेदराजः दशैँ, सविता प्रकाशन, २०७०, पृ.ज) ।
उपनिषद्हरूमा (श्वेताश्वरतरोपनिषद्) कर्मकाण्डहरूको प्रवृत्ति कमै छ । जगत् मनुष्य तथा परम् सत्ताका बारेमा सूक्ष्म चिन्तनले उसको ठाउँ लिन्छ । ब्रह्म विश्वको सञ्चालक, नियामक शक्ति हो र मान्छेको आत्मा पनि त्यही हो । माया या भ्रमका कारण आत्मा आफ्नो स्वरूपको पुनः उपलब्धि नै मोक्ष हो । प्रकृति पनि ब्रह्म नै हो । सर्व खल्विदंब्रह्म । आत्मा पनि ब्रह्म हो ‘तङ्खवमसि’ (पाण्डेय, ऐ पृ. ५८) ।
अझ धर्म के हो भन्ने सन्दर्भमा पूर्वीय मान्यताका केही प्रसङ्ग उल्लेख गरी यस विषयलाई अगाडि बढाउनु सान्दर्भिक हुन्छ । धर्म शब्द सर्वप्रथम ऋग्वेदमा प्रयोग भएको छ । धर्म धृ धातुमा मन् प्रत्यय लागेर बनेको छ । धृ धातुको अर्थ हुन्छ– धारण गर्नु । यसप्रकार जुन धारणीय हुन्छ त्यसलाई धर्म भनिन्छ । धर्मको तात्पर्य सद्गुणको धारण गर्नु नै हो ।
– केदार अधिकारी
प्रतिक्रिया