आइतबार (१७ चैत) बेलुका आएको विनाशकारी आँधी, हावाहुरी र असिनापानीले बारा, पर्सा र रौतहटमा ४० जना भन्दा बढीको ज्यान गएको र करिव चार सयभन्दा बढी घाइते भएको घटनाले राजपालाई दुःखी र स्तब्ध तुल्याएको सो पार्टीले जनाएको छ ।
पार्टीका संयोजक शरतसिंह भण्डारीले एक प्रेस विज्ञप्ति जारी गर्दै मृतक आत्माको चिर शान्तिको कामनाका साथै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन् ।
सिङ्गो पार्टीपङ्क्तिलाई राहत र उद्धार कार्यमा लाग्न आग्रह गर्दै विज्ञप्तिमार्फत् उनले प्रदेश नं. २ को सरकारले प्राकृतिक विपत्तिको यस दुःखद घटनामा देखाएको तत्परताको प्रशंसा गरेका छन् । संघीय सरकारलाई समेत राहत र उद्धार कार्यमा यथासिघ्र लाग्न राजपाले आग्रह गरेको छ ।
उक्त पार्टीले राहत कार्यको लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ भने पार्टीका नेता कार्यकर्ताहरूले राहत सहयोग संकलन गरी पीडित परिवारहरूलाई सहयोग गर्न आमनागरिक, व्यवसायी, उद्योगी, संघ–संस्था तथा देश–विदेशमा रहेका सबैलाई यस्तो दुःखद घडीमा आर्थिक सहयोग गर्न गरेको छ ।
प्रतिक्रिया