फन टाइम

फन टाइम


funtimeज्योतिको जवानी छताछुल्ल भएपछि…
‘जामा लाउँदा छोटो भयो, सारी लाउँदा सुहाएन
उखरमाउलो बैँस छोप्ने चिजै भएन
जवानीले पा-यो नि पिरलो
चोरी खान पल्केको यो ढाडे बिरालो’
प्रकाश कटुवाल र श्रीदेवी देवकोटाले गाएको यो तिज गीतको बोल तुलनात्मक रूपमा खासै अश्लील भन्न त मिल्दैन, किनकि योभन्दा कता हो कता अश्लील लाग्ने दोहोरी गीत नेपाली लोकसङ्गीत बजारमा उहिल्यैदेखि सुनिएका हुन् । तर, आफूलाई गायिकासमेत भन्न रुचाउने ज्योति मगरले मोडलिङ गरेकै कारण ढाडे बिरालो गीतले आवश्यकताभन्दा बढ्ता चर्चा पाएको छ । अश्लीलताको पराकाष्टा भन्दै उक्त गीतमाथि प्रतिबन्ध लगाइनुपर्ने आवाज चौतर्फी उठेको छ ।
चल्तीका गायकहरू हर्ताकर्ता रहेको लोक तथा दोहोरी गीत प्रतिष्ठानले त केही साताअघि एक वक्तव्य जारी गरी अश्लील गीत तथा भिडियोहरू सार्वजनिक नगर्न ज्योति मगरलाई सचेत गराएको थियो । शब्दभन्दा पनि ढाडे बिरालोमा गरिएको अभिनयप्रति सामाजिक सञ्जालमा तीव्र असन्तुष्टि फैलिएपछि प्रतिष्ठानद्वारा विज्ञप्तिमार्फत ‘सामाजिक मर्यादामा आँच आउने शब्द भएका गीत सार्वजनिक नगर्न र लोकगीतमा अश्लीलता झल्किने अभिनय नगर्न नगराउन’ आग्रह गरिए पनि तिजजस्तो महिलाको स्वतन्त्रता र सङ्कल्पको पर्वलाई विकृत बनाउने प्रवृत्तिमा खासै कमी आएको अनुभूति गर्न सकिँदैन । अमेरिका बस्दै आएका गायक रामप्रसाद खनाललगायतले सो गीतका कारण अश्लीलता फैलिएको भन्दै आपत्ति जनाएपछि ज्योति मगर विवादमा तानिएकी थिइन् । हुँदाहुँदा टेलिफोनमार्फत सरकारसमक्ष गुनासो गर्ने मन्त्रिपरिषद् कार्यालयको ‘हेलो सरकार’ कार्यक्रममा समेत ढाडे बिरालोबारे धेरै गुनासो आएको थियो । रातारात नाम र दाम कमाउने होडबाजीमा परेका कतिपय गायक–गायिकामा यतिबेला समाजले नपचाउने शब्द राखेर गीत निकाल्ने प्रवृत्ति मौलाएको छ । पछिल्लो पुस्ताकी गायिका तथा मोडल ज्योति मगरले यो प्रवृत्तिलाई अझ नाङ्गो रूपमा उजागर तुल्याइदिएकी छिन् । यसबाट लोकगीत तथा लोकसंस्कृतिप्रति समर्पित भई कलाकर्ममा लागेका व्यक्तिहरू ओझेलमा पर्ने खतरा निम्तिएको छ ।

अस्ट्रेलियामा ‘बोक्सी’
विदेश बसे पनि नेपाली कला, संस्कृति र स्वदेशी भाषाको मोह भने प्रायः नेपालीले त्याग्न सकेका छैनन् भन्ने दृष्टान्त प्रस्तुत गर्दै सप्ताहन्तलाई रमाइलो गरी बिताउने बानी परेका अस्ट्रेलियानिवासी नेपालीले गत शनिबार फरक खालको चलचित्रको स्वाद लिए । फरक विषयवस्तुमा बनेको चलचित्र ‘बोक्सी’ सिड्नीनिवासी नेपाली समुदायबीच प्रदर्शन गरिएको हो । बालकृष्ण समको एकाङ्की नाटक बोक्सीमाथि आधारित नेपाली चलचित्र बोक्सीको निर्माण शक्तिबल्लभ घोरासैनीले गरेका हुन्, जसलाई दुई वर्षअघि गोपालचन्द्र लामिछानेले चलचित्रको स्वरूपमा ढालिदिएका थिए । रंगपत्रकार राजन घिमिरेको पहलकदमीमा सो चलचित्र सिड्नी पुगेको हो भने डाइनामिक मिडिया प्रोडक्सनले सिड्नीको सिभिक थिएटरमा बोक्सीको प्रदर्शनको व्यवस्था मिलाएको बुझिएको छ ।

गायक प्रेमध्वजसहित स्रष्टा सम्मानित
वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई ‘स्वामी नारायणाचार्य श्रुति अभिनन्दन’बाट सम्मान गरिएको छ । साथै, गायक आनन्द कार्की, देविका बन्दना र गीतकार रमण घिमिरेलाई श्रुति सङ्गीत सम्मान प्रदान गरिएको छ । नेपाली गायन तथा सङ्गीतको क्षेत्रमा योगदान पु-याएबापत वरिष्ठ एवम् लोकप्रिय गायक प्रेमध्वजलाई नगद २५ हजार पाँच सयसहित अभिनन्दन गरिएको र अन्यलाई जनही पाँच हजारसहित कदरपत्रले सम्मान गरिएको श्रुति सङ्गीत विद्यालयले जनाएको छ । वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले उल्लेखित सर्जक तथा कलाकारलाई सम्मान गर्दै गीत तथा सङ्गीतको क्षेत्रलाई विश्वमा सबैले बुझ्न सक्ने र यसको विकास गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै, सम्मानित गायक प्रधान, कार्की, बन्दना र घिमिरेले नेपाली सङ्गीतको क्षेत्रमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे ।

अमेरिकामा योञ्जनका सिर्जना
गोपाल योञ्जनका सम्पूर्ण सिर्जना अमेरिकास्थित विश्वप्रतिष्ठित कर्नेल युनिभर्सिटीको डिभिजन अफ रेयर एन्ड मनुस्क्रिप्ट कलेक्सन लाइबे्ररीमा अभिलेखन संरक्षण र सम्वद्र्धन हुने भएको छ । सम्पूर्ण अभिलेखन कार्य पूरा हुन कम्तीमा १८ महिनादेखि २ वर्ष लाग्ने अनुमान गरिएको छ र त्यसपश्चात् कलाकार योञ्जनका सम्पूर्ण सिर्जजना विश्वभरका सङ्गीतपे्रमी तथा अनुयायीहरूका लागि स्थलगत तथा भर्चुवल अवलोकन तथा अध्ययनका लागि उपलब्ध हुनेछ । योञ्जनका सम्पूर्ण सिर्जना नेपालीमा अभिलेखन गरिनुका साथै अङ्गे्रजी भाषामा पनि सङ्गीतका नोटेसनसहित उपलब्ध हुनेछ ।
गोपाल योञ्जन आरकाइभमा उहाँका सम्पूर्ण सिर्जना साथै उहाँका हस्तलिखित गीतहरू गायरी mगकष्अभ कजभभत हरू, तस्बिरहरू, उहाँका हारामोनियम र एउटा बाँसुरी, उहाँले लेख्नुभएका लेखहरू, उहाँकाबारे लेखिएका विभिन्न लेखहरू, श्रव्यदृश्यहरू, उहाँलाई प्रदान गरिएका केही पुरस्कार र सम्मानपत्रहरू सम्मिलित हुनेछन् । सम्पूर्ण अभिलेखन, संरक्षण, सम्वद्र्धन र अध्ययनका लागि उपलब्ध गराइने कामको जिम्मेवारी कर्नेल युनिभर्सिटीले लिएको छ । यस कार्यका लागि गोपाल योञ्जनसँग सम्बन्धित उहाँका सिर्जना तथा केही सामग्री युनिभर्सिटीलाई निःशुल्क प्रदान गरिएको हुनाले बौद्धिक सम्पत्तिसम्बन्धी अधिकार सम्बन्धित स्रष्टा तथा उहाँका उत्तराधिकारी व्यक्ति वा संस्थामा निहित रहनेछ ।
एक नेपाली कलाकारको सम्पूर्ण कृति तथा सिर्जना यसरी पूर्ण रूपमा अभिलेखन, संरक्षण र सम्वद्र्धन गरिने भएको कर्नेल युनिभर्सिटीकै १५० वर्ष लामो इतिहासमा पहिलो हो । यस कार्यले गोपाल योञ्जनका कालजयी सिर्जनालाई साँच्चै नै अमर बनाउनेछ र आगामी पुस्तौँपुस्ताले उहाँका गीत–सङ्गीत सुन्ने, अध्ययन गर्न पाउनेछन् ।

तिजविशेष कार्यक्रम गर्दै राष्ट्रिय सङ्गीतकर्मी सङ्घ
नेपाली महिलाको महान् पर्व हरितालिका तिजको अवसरमा राष्ट्रिय सङ्गीतकर्मी सङ्घले तिजविशेष कार्यक्रम गर्ने भएको छ । आगामी २८ गते सोमबार बालाजु बैंक्वेट पार्टी प्यालेसमा आयोजना गरिने तिज कार्यक्रममा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरूको बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक रेशम दुलालले जनाएका छन् । रेशम थापा अध्यक्ष तथा राजेन्द्रकुमार कार्की महासचिव रहेको राष्ट्रिय सङ्गीतकर्मी सङ्घ कलाकारहरूको आन्दोलनको नेतृत्व गरेको संस्था हो । कार्यक्रममा प्रकाश कटुवाल, अमृत खाती, श्रीदेवी देवकोटा, रमेश दुलाल, रेशम थापा, उमा श्रेष्ठ, नवराज घोडासैनी, मञ्जु गौतम, राजेन्द्र कार्की, विरही कार्की, सरिता कार्की, श्रीराम पौड्याल, भावना आचार्य, कामना ओली, कला बस्नेत, सिर्जु, अधिकारी आदि कलाकारहरूको प्रस्तुति रहने बताइएको छ ।

‘पोयमाण्डु’मा पुराना र नयाँ पुस्ताका सर्जक एकसाथ
बीपी कोइराला भारत–नेपाल प्रतिष्ठान र भारतीय राजदूतावासद्वारा आयोजित ‘पोयमाण्डु’को २८औँ शृङ्खला गत बिहीबार नेपाल–भारत पुस्तकालयमा सम्पन्न भयो । दिग्गज तथा उदाउँदा गरी दुवै कोटीका कविहरूको जमघट गराइएको सो कार्यक्रममा सर्जहरूले नेपाली, हिन्दी र अङ्ग्रेजीमा आ–आफ्ना रचना पाठ गरे । पोयमाण्डुको सो शृङ्खलामा रामचन्द्र दाहाल, डिल्लीप्रसाद, अविरल थापा, विवेक अधिकारी, स्मिता श्रेष्ठ, केशव सिग्देल, नवराज पराजुली, ऋचा, सजक उपाध्याय, ईश्वरी कार्की, लक्ष्मी जोशी र मोहन लोहनीले कविता पाठ गरेका थिए ।
कवितावाचन सुरु गर्नुअघि प्रतिष्ठानका सचिव अभय कुमारले कविता समाजको ऐना भएको उल्लेख गर्दै कविले आफ्ने रचनामार्फत समाजको दर्पण उजागर गरिदिएर योगदान पु-याउने धारणा व्यक्त गरे । विशेषगरी सङ्क्रमणकालीन परिवेशबाट गुज्रिरहेको समाजमा सर्जकहरूको महत्वपूर्ण भूमिका हुने अभयको धारणा थियो । कार्यक्रममा पुराना तथा नयाँ पुस्ताका कवि–कवयित्रीहरूको साथ पाएर आफूलाई निकै खुसी लागेको पनि उनले बताए । पोयमाण्डुमा कविता सुन्न खचाखच उपस्थित साहित्यप्रेमी स्रोतामाझ अभय स्वयम्ले पनि आफ्नो हालै प्रकाशित बहुचर्चित कवितासङ्ग्रह ‘जात्रा’बाट एक रचना पाठ गरेका थिए ।

देशैभर मनाइयो श्रीकृष्णको जन्मोत्सव
द्वापर युगमा दुष्टहरूको विनाश र साधुहरूको रक्षा निम्ति यस धराधाममा यादव कुलमा अवतरित हुनुभएका भगवान् श्री कृष्णको जन्मोत्सव तथा श्रीकृष्ण जन्माष्टमी पर्व देशभर धुमधामपूर्वक मनाइयो । यसै क्रममा राधा माधव समिति नेपाल श्यामाश्याम धाम ठिमीमा आयोजित कार्यक्रममा हजारौँ श्रीकृष्ण अनुरागीको समुपस्थिति थियो । सो अवसरमा भगवान् श्रीकृष्णको जन्म तथा बाललीला झल्काउने अत्यन्त सुन्दर सांस्कृतिक कार्यक्रम प्रदर्शनका साथै रूपध्यानसहितको नाम सङ्कीर्तन कार्यक्रम सञ्चालन गरिएको थियो । यसैगरी अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ बूढानीलकण्ठमा श्रीकृष्णको जन्मोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाइयो । यसैबीच श्रीमद्भागवत प्रचारप्रसार सङ्घ उपसमिति कोटेश्वरद्वारा महादेवस्थान परिसर र एकादशी सेवा समाज कोटेश्वरद्वारा स्थानीय हिरादेवीनिवास परिसरमा भगवान् श्रीकृष्णको लीलासम्बन्धी प्रवचन तथा नाम सङ्कीर्तन कार्यक्रमको आयोजना गरी जन्मोत्सव उल्लासमय वातावरणमा मनाइयो ।
देश अत्यन्त कठिन र जटिल मोडमा रहे तापनि देशका विभिन्न स्थानमा भगवान् श्रीकृष्णको जन्मोत्सव भव्यतापूर्वक मनाइयो । आजभन्दा करिब पाँच हजार वर्षअघिको भगवान् श्रीकृष्णको लीलाबाट सधैँ दुष्टहरूको पतन हुने सज्जनको रक्षा हुने, गाईपालनबाट समग्र कृषि अर्थतन्त्रको उत्थान भई सबैको आर्थिक अवस्थामा सुधार आउने, भूमि सबैको माता भएकाले भूमिको सीमामा झगडा गर्न नहुने, व्यर्थ सीमामा विवाद गरेमा यदुवंशीको नियति भोग्नुपर्ने, कर्मफलको आशा नराखी सदा कर्तव्यपथमा लाग्नुपर्ने, निस्काम भक्तिबाट मानवले जीवनकालमा यसै संसारमा असीम आनन्द र मरणोपरान्त ८४ लाख योनीमा जन्ममृत्युको चक्करबाट मुक्ति पाई गोलोक अवस्थित श्री राधाकृष्ण धाममा बास पाउने र दया, प्रेम, शान्ति, अहिंसा, करुणा, कर्म अनि भक्तिको पर्याय धर्मको रक्षा एवम् पालनाबाट समाजमा सदाचार, शान्ति र समृद्धि छाउनेलगायतका शिक्षालाई सबैले आत्मसात् गरी अघि बढेमा देशको समग्र उन्नयन हुने कुरामा सन्देह छैन ।