गत वैशाखमा गएको महाभूकम्पबाट लत्ताकपडाको अभाव देखिएको राजधानीमा तराईमा जारी बन्द–हड्तालले दैनिक उपभोग्य वस्तुको पनि अभाव गराएको छ । राजधानीमा अझै लत्ताकपडाको अभाव कायम छ । प्राप्त लत्ताकपडाको मूल्य पनि आकासिएको छ । उपत्यकावासीलाई दैनिक उपभोग्य वस्तुको अभाव र त्यसको मूल्यवृद्धिले झन् ठूलो समस्या थोपरिदिएको छ ।
राजधानीमा उपभोग्य वस्तु उपलब्ध गराउँदै आएका व्यापारीहरूका अनुसार गोदाममा स्टक गरेर राखिएको सामान सकिन लागिसकेको छ । तराईको आन्दोलन अझै केही दिन लम्बिने हो भने राजधानीम निकट भविष्यमै खाद्यान्न सङ्कट हुने देखिन्छ । भएका सामग्रीको पनि थामिनसक्नु गरी मूल्य बढ्नेछ । तराईमा हिंसात्मक आन्दोलन गरिरहेको मधेसकेन्द्रित दलहरूले पनि राजधानीमा खाद्यान्नलगायतका वस्तुमा नाकाबन्दी लगाउने तयारी गरी रहेका छन् । राजधानीमा अधिकांश खाद्य सामग्री अहिले आन्दोलन भइरहेको विभिन्न जिल्लामा पर्ने राजमार्गबाट आउँछन् । राजधानीमा खाद्यान्न सामग्री तराईबाट र लत्ताकपडा चीनको खासाबाट सबैभन्दा धेरै भित्रिने गर्छ । नियमित दैनिक उपभोग्य वस्तु राजधानी भित्याउन नसकेपछि व्यापारीले भएका सीमित सामग्रीको पनि मूल्य बढाएका हुन् । व्यापारीहरूले एक हप्तायता सबैजसो उपभोग्य वस्तुको भाउ बढाएका छन् । दैनिक उपभोग्य वस्तुको मूल्य एकाएक बढ्दा पनि सरकारी संयन्त्र भने मौन रहेको देखिन्छ ।
नेपाली बजारमा स्थिर देखिएको उपभोग्य वस्तुको मूल्यमा एकाएक वृद्धि आउनुमा व्यापारीहरूले सामग्री लुकाएको आशङ्का उपभोक्ताले गरेका छन् । तर, व्यापारीले भने सामान नै नरहेको बताउँदै आएका छन् । उनीहरू भएको सामान पनि लामो समय लगाएर भारतबाट ल्याउनुपरेको र सामान ल्याउँदाको ढुवानी जोड्दा केही महँगो पर्न गएको बताउँछन् । उनीहरू मधेसमा भएको बन्द र हडतालका कारण भारतबाट आउने चामल र दालको अभाव हुँदा मूल्य बढेको तर्क गर्छन् ।
नेपाली बजारमा दैनिक उपभोग्य वस्तुको भाउमा एक हप्तायता मात्र दुई रुपैयाँदेखि झन्डै दुई सयसम्म बढेको छ । बढेको मूल्यमा पनि उपभोक्ताले सजिलै ती सामग्री पाउन सकेका छैनन् । वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापाले भने राजधानीमा उपभोग्य वस्तुको अभाव नभएको र भाउमा केही तलमाथि भएको सुनिएको बताए । उनले सरकारले असहज परिस्थितिका बाबजुद उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धन भित्याइएको पनि जानकारी दिए । मन्त्री थापाले भने, ‘तराईमा जारी आन्दोलनका कारण सामान भित्याउन केही कठिन भएको छ, तैपनि सुरक्षाकर्मीको स्कर्टिङमा सामानहरू ल्याउने काम भइरहेको छ । सरकारले केही दिनअघि मात्र सुरक्षाकर्मीको स्कर्टिङमा राजधानीमा इन्धन ल्याएको थियो ।
यता वाणिज्य विभागले पनि बजारमा उपभोग्य वस्तुको भाउ एकाएक बढ्दै गएको बताएको छ । विभागका निर्देशक हरिनारायण बेल्वासेले भने, ‘बजारमा उपभोग्य वस्तुको भाउ बढेको देखिन्छ, यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनको कार्यलाई तीव्रता दिएको छ ।’ उनले खाद्यान्नमा भएको मूल्यवृद्धिमा आधारित रही बजारमा सधैँ अनुगमन भइरहेको पनि बताए । तर, खाद्यसामग्रीको मूल्य व्यापारीले नै निर्धारण गरी उनीहरूकै मूल्यमा उपभोक्ताले खरिद गर्नुपर्दा पनि विभागले केही गर्न सकेको देखिँदैन । निर्देशक बेल्वासेका अनुसार आयातमा निर्भर हुनुपर्ने सामग्रीमा वैदेशिक बजारकै मूल्यमा आधारित भएर यता भाउ तोकिने भएकोले नेपालमा मूल्य नियन्त्रण गर्न अप्ठ्यारो परेको छ । त्यसैले व्यापारीले आफूखुसी मूल्य निर्धारण गर्छन् । बेल्वासेले भने, ‘पछिल्लो समयमा डलरमा भएको मूल्यवृद्धिले भारतबाट आउने सामग्रीमा मूल्य बढेको देखिन्छ ।’
इन्धनको मूल्यमा भने केही कम आएको छ । राजधानीमा तराईकै विभिन्न नाकाबाट इन्धन ल्याइन्छ । तराईमा हिंसात्मक आन्दोलन भएपछि इन्धन ढुवानी तथा ट्याङ्कर व्यवसायीले आवश्यक मात्रामा इन्धन ल्याउन सकेका छैनन् । इन्धन नहुँदा राजधानीका साझा र नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीले सञ्चालन गरेको पेट्रोल पम्पहरूमा इन्धन भर्नेहरूको लाम लाग्ने गरेको छ । सरकारले यी सबैको एक मात्र कारण तराईमा जारी आन्दोलन भएको र आन्दोलनकै कारण आवश्यक मात्रमा उपभोग्य वस्तु भित्याउन नसकेको बताउँदै आएको छ ।
नेपाल खुद्रा व्यापार सङ्घले उपलब्ध गराएको तथ्याङ्कअनुसार नेपाली बजारमा सबैजसो चामलको मूल्यमा प्रतिकिलो दुईदेखि पाँच रुपैयाँसम्मले वृद्धि भएको छ । त्यस्तै, दालमा प्रतिकेजी साठी रुपैयाँसम्म बढेको छ । अघिल्लो वर्ष प्रतिकिलो एक सय ४० मा पाइने मासको दालको मूल्य अहिले दुई सय रुपैयाँ पुगेको छ । मसुरोको दालको एक सय ३० बाट एक सय ७५ पुगेको छ । व्यापारीहरूका अनुसार गत वर्षको भदौमा प्रतिकिलोको १ सय ६० सम्म बिक्री भएको मुगको खोस्टा दाल अहिले २ सय रुपैयाँभन्दा कममा पाइँदैन भने रहर दालको एक सय २५ बाट दुई सय रुपैयाँमा पुगेको छ । साथै सय रुपैयाँ पाइने चनाको मूल्य अहिले एक सय ५० रुपैयाँ पुग्न थालेको छ ।
नेपाली बजारमा सबैभन्दा बढी मूल्य घ्यूमा बढेको छ । गत वर्षको भदौमा प्रतिकिलो पाँच सय ६० रुपैयाँ रहेको घ्यूको मूल्य अहिले सात सय रुपैयाँ पुगेको छ । खुद्रा व्यापार सङ्घका अनुसार मसलामा पनि सोही अनुपातमा मूल्य वृद्धि भएको छ । तीन सय २० रुपैयाँमा पाइने एक किलो जिरा धुलो अहिले चार सय ५० रुपैयाँ पुगेको छ । दशैँसम्ममा यसको भाउ अझै बढ्न सक्ने देखिन्छ । त्यसैगरी बेसार धुलो किलोको एक सय ५० बाट दुई सय ५०, मेथी एक सय १५ बाट एक सय ८० रुपैयाँ पुगेको छ । यसको मूल्य पनि बढ्दै छ । कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार तरकारीको मूल्य पनि आकासिँदै छ । किसानबाटै महँगो मूल्यमा सामान खरिद गर्नुपरेपछि बजारमूल्य पनि बढेको समितिको भनाइ छ ।
ग्यास तथा पेट्रोलियम पदार्थको मूल्यमा निगरानी राख्ने सरकारले त्यत्तिकै महत्वपूर्ण मानिने खाद्यान्न, फलफूल, तरकारी, लत्ताकपडालगायतका सामग्रीमा आधारित भएर कुनै विशेष अनुगमन संयन्त्र तयार गरेको छैन । भएको संयन्त्रले पनि राम्रो काम गरेको देखिँदैन । तर, वाणिज्यमन्त्री थापाले भने बजारको अनुगमन भइरहेको बताए । उनले भने, ‘अनुगमन भएको छ, दोषी भेटिएमा कानुनअनुसार कारबाही हुनेछ ।’
प्रतिक्रिया