एसिया कप ह्विलचेयर क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ । आयोजक ह्विलचेयर क्रिकेट संघ नेपालले पत्रकार सम्मेलन गरी अप्रिल अन्तिम साता प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको हो । चार दिनसम्म सञ्चालन हुने प्रतियोगिता कीर्तिपुर टीयू क्रिकेट मैदानमा हुनेछ । ‘ग्राउन्डको समस्याले गर्दा मिति यकिन गर्न नसकिएको हो । हामीले गर्ने समयमा ग्राउन्ड बुक भइसकेको रहेछ,’ आयोजक ह्विलचेयर क्रिकेट सङ्घ नेपालका अध्यक्ष छुल्टिम ग्याल्जिन शेर्पाले भने, ‘ग्राउन्ड बुक गर्ने पक्षसँग हामीले कुरा गरिरहेका छौँ । उहाँहरूको सकारात्मक जवाफ पाएका छौँ ।’
प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान र बंगलादेश गरी चार राष्ट्रको सहभागिता रहनेछ । राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा जम्मा सात खेल हुनेछन् । त्यसमा शीर्ष दुई स्थानमा रहने टिमले फाइनल खेल्नेछन् । अध्यक्ष शेर्पाले ह्विलचेयर क्रिकेटको एसिया कप नेपालमा मात्र नभई विश्वमै पहिलोपटक हुन लागेको जानकारी गराए । संघकै आयोजनामा गत वर्ष टीयू क्रिकेट मैदानमा नेपाल, भारत र बंगलादेश सम्मिलित ह्विलचेयरकै त्रिकोणात्मक शृंखला भएको थियो । उक्त शृंखलाको उपाधि नेपालले जितेको थियो ।
पत्रकार सम्मेलनमा इन्टरनेसनल काउन्सिल फर ह्विलचेयर क्रिकेटका चेयरम्यान पाकिस्तानका मोहम्मद जिसान, उपाध्यक्ष भारतका हरुन रसिदलगायतको उपस्थिति थियो । जिसनकै अध्यक्षतामा काउन्सिलको बैठक पनि बसेको थियो । बैठकले नै एसिया कप नेपालमा गर्ने निर्णय गर्नुका साथै काउन्सिलको सचिवालय नेपालमा राख्ने निर्णयसमेत गरेको अध्यक्ष शेर्पाले बताए ।
प्रतिक्रिया