रङ्ग–विरङ्ग

रङ्ग–विरङ्ग


ramailo-ghamailo2दिमाग तीक्ष्ण तुल्याउने यो विधि
प्रायः मानिसहरू आफ्ना बच्चाहरूको दिमाग तेज तुल्याउन सुडोकु वा क्रसवर्डस् हल गर्ने सल्लाह दिन्छन् । दिमाग लडाएर सुझबुझ प्रयोग गर्नुपर्ने यस विधिबाट तीक्ष्ण दिमाग निर्माण गर्ने यो परम्परागत या विश्वव्यापी विधि भए पनि यो विधि सबैको हकमा सर्वथा लागू हुन्छ भन्ने कुनै निश्चितता छैन । दिमागको तेज विकासका लागि अध्ययनकर्ताहरूले सरल र नयाँ विधि अघिसारेका छन् । बाल्यकालमा रूख चढ्ने, नाङ्गो खुट्टाले दौडने र नाटकीय ढङ्गले चिच्याउने गरेमा दिमाग तेज हुने उनीहरूको दाबी छ । शोधबाट सिद्ध भएअनुसार उल्लेखित क्रियाकलापबाट मानिसको वर्किङ मेमोरीमा पचास प्रतिशतसम्म वृद्धि हुन्छ । डेली मेलमा प्रकाशित एक रिपोर्टअनुसार फुटबल, स्क्वेस, टेनिस खेल्ने गर्दा पनि दिमागी क्षमताको तीव्र विकासमा मद्दत पुग्छ । युनिभर्सिटी अफ फ्लोरिडाका शोधकर्ताहरूले गरेको रिसर्चबाट बाल्यकालमा रूख चढ्ने आदत परेका १८ देखि ५९ वर्ष उमेरका महिला तथा पुरुषको मेमोरी तेज रहेको नतिजा सामुन्ने आयो ।

संसारकै अग्ला दम्पती
विश्वकै बढी जनसङ्ख्या भएको मुलुक चीनको एक जोडीले संसारकै अग्लो दम्पतीको रेकर्ड आफ्नो नाममा कायम गराएको छ । बेजिङनिवासी ३३ वर्षीय सन मिङमिङ र उनकी पत्नी २९ वर्षीया यानले गिनिज बुकमा विश्वकै सबभन्दा अग्लो जोडीको रेकर्ड (१३ फिट ११ इञ्च) दर्ज गरेका हुन् । यसअघि अग्लो दम्पतीमा दरिएको जोडीभन्दा ४.३७ सेमी बढी लम्बाइका कारण सन् र यानको जोडी विश्वकै अग्लो दम्पती बन्न पुगेको हो । बास्केटबल खेलाडी सन् ७ फिट ८.९ इञ्च अग्ला छन् भने ह्यान्डबल खेलाडी यानको उचाइ ६ फिट १.७ इञ्च छ । सन् २०१३ को नेसनल गेम्स कम्पिटिसनको अवसरमा भेट भएपछि उनीहरू तत्काल विवाहबन्धनमा बाँधिएका थिए । आफूभन्दा अग्लो श्रीमान् पाउने कल्पना नगरेकी यान सन्सँग बिहे गर्न पाउँदा खुसी छिन्, तर कारदेखि प्लेनसम्मको यात्रामा कष्ट व्यहोर्नुपर्ने र सामान्य दैनन्दिनीमा पनि अप्ठ्यारै परिरहने हुनाले उनीहरू दुःख मनाउ गर्छन् ।

चालकबिना बसको सवारी
विकासको चरम दिशातिर उन्मुख चीनले चालकरहित बस सञ्चालनमा ल्याउने तयारी पूरा गरेर आफूलाई प्रविधिको विकासमा एक कदम अघिसारेको छ । करिब तीन वर्षको प्रयासपछि चीनको हेनान प्रान्तमा चालकरहित बस सञ्चालनमा आउने भएको छ । स्थानीय युताङ बस कम्पनीले साढे दश मिटर लम्बाइयुक्त हाइब्रिड बसको गत साता सफलतापूर्वक ट्रायल पूरा ग-यो भने अब छिट्टै चालकरहित बसले यात्रुसेवा सुरु गर्नेछ । झेङ्झु र केफेङ सहर जोड्ने सहरको भित्री सडकमा करिब ३३ किलोमिटर बिनाचालक दौडिएर उक्त बसले आफूलाई सेवाका लागि योग्य सावित गरिसकेको छ । दुई क्यामेरा, चारवटा लेजर राडार, वेब राडार तथा नेभिगेसन प्रणालीजडित सो बसले ट्रायलको क्रममा सडकमा रहेका २६ सिग्नल लाइटको पालना, आवश्यकताअनुसार स्वतः लेन बदल्दै अगाडिको सवारीसाधनलाई ओभरटेक गर्नेलगायत सबै जाँच प्रक्रिया सावधानीपूर्वक पास गरेको थियो । उक्त बसलाई चालकरहित सिस्टमबाट म्यानुअल मोडमा बदल्न पनि सकिने कम्पनीका इन्जिनियर ताङ वाङले जानकारी दिएका छन् ।

लगातार काम गर्दा केको खतरा ?
एकै स्थानमा बसी लगातार काम गर्नु स्वास्थ्यको लागि अत्यन्त हानिकारक हुने दाबी गरिएको छ । एकै ठाउँ बसेर लगातार ९–१० घन्टा बिताउने व्यक्तिलाई हृदयाघातको सम्भावना बढ्ने अनुसन्धानकर्ताहरूको भनाइ छ । लासेन्ट मेडिकल जर्नलमा प्रकाशित रिपोर्टका अनुसार कामको घन्टा जति बढी हुन्छ, स्वास्थ्य बिग्रने खतरा पनि त्यति नै अधिक रहन्छ । पाँच लाखभन्दा बढी मानिसमाथि गरिएको अध्ययनले दिउँसो ९ देखि ५ बजेको बीच हर्टएट्याकका घटना ज्यादा घट्ने गरेको पाइयो । शारीरिक हलचल नहुने काम घन्टौँ गर्दा रक्तचाप बढ्ने भएकाले रक्तचापप्रति विशेष ध्यान पु-याउन र कार्यालयमा लगातार बसेर काम गर्ने हरेकले बीच–बीचमा शारीरिक हलचलको चेष्टा गर्न पनि विशेषज्ञले सुझाव दिएका छन् ।