हावाहुरीका कारण भारतबाट आयात गरिएको ७० मेगावाट विद्युत अबरुद्ध

हावाहुरीका कारण भारतबाट आयात गरिएको ७० मेगावाट विद्युत अबरुद्ध


बारा र पर्सा क्षेत्रमा आइतबार आएको आँधीले मानविय क्षति सँगै थुप्रै भौतिक संरचनामा क्षति पु¥यायो । विद्युतीय प्रसारण लाइन नै तहसनहस हुने गरी आएको आँधीका कारण करोडौं मूल्यबराबरका विद्युतीय संरचना भत्काइदियो । आइतबार साँझ आएको आँधीका कारण यस क्षेत्रको विद्युतीय संरचनामा ठूलो क्षति पुग्यो । आँधीका कारण प्रसारण तथा वितरण प्रणालीमा १० देखि १२ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

प्रसारण तथा वितरण लाइन, ट्रान्सफर्मर र सबस्टेसनमा क्षति पुग्दा बारा–पर्सा क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुन पुगेको छ । ११ केभीदेखि १३२ केभी प्रसारणलाइनका टावर तथा पोल भाँचिनुका साथै सयौंको संख्यामा ट्रान्सफर्मरहरु बिग्रिन पुगेका छन् । जसका कारण क्षतिको तथ्यांक बढ्ने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताउँछन् ।

कहाँ कस्तो अवस्था छ ?
–परावनीपुर–वीरगञ्ज ६६ केभी डवल सर्किट लाइनमा क्षति
–वीरगञ्ज–कलैया ३३ केभी लाइन क्षतिग्रस्त
–भारतबाट विद्युत आयत हुने १३२ केभी रक्सौल–परवानीपुर र ३३ केभी रक्सौल–वीरगञ्ज प्रसारण लाइनमा क्षति
–परवानीपुर १३२ केभी प्रसारण लाइनको ६० नं टावर पल्टियो
–कलैया वितरण केन्द्र अन्तर्गत एकहजार २ हजार विद्युतीय पोलमा क्षति
–विद्युतीय तार र कन्डक्टर चुँडिए, एकसय बढि ट्रान्सफर्मरमा क्षति
–भारतबाट आयात गरिएको ७० मेगावाट विद्युत आपूर्ति बन्द

हावाहुरीका कारण भारतबाट विद्युत आयात हुने १३२ केभी रक्सौल–परवानीपुर प्रसारण लााइन क्षतिग्रस्त छ । अहिले यो विन्दुबाट विद्युत आयात बन्द भएको छ । परवानीपुर–विरगञ्ज ६६ केभी डबल सर्किट, ३३ केभी विरगन्ज–कलैया र रक्सौल–विरगन्ज लाइनमा पनि हावा हुरीले क्षति पु¥याएको छ । जसका कारण यो क्षेत्र हुँदै भारतबाट आयात हुने ७० मेगावाट विद्युत अबरुद्ध छ । ध्वस्त संरचनाका बिच पनि विद्युत प्राधिकरणले बारा र पर्साका विभिन्न क्षेत्रमा बैकल्पिक बाटोबाट विद्युतीय सेवा सुचारु गरेको छ । प्राधिकरणले ध्वस्त संरचना उठाउन ३ महिनाको समय लाग्ने जनाएको छ । प्राधिकरणले कलैया सबस्टेसन रौतहटको चन्द्रिनगाहपुर सबस्टेसनबाट सञ्चालन गरेर बजार क्षेत्रमा विद्युत आपूर्ति सुचारु गराएको छ । ग्रामीण क्षेत्रमा पनि विद्यु्त आपूर्ति सुचारु गर्ने तयारीमा प्राधिकरण छ ।