पछिल्लो जनगणनाअनुसार करिब दुई लाख जनसङ्ख्या रहेको अर्घाखाँचीमा १० हजारभन्दा बढी कुमाल जनसङ्ख्या रहेको तथ्याङ्क पाइन्छ । सुरुको सदरमुकाम जिल्लाको नरपानीबाट ०३२ सालमा सन्धिखर्कमा आउँदै गर्दा कुमालको अधिक बाहुल्य रहेको थियो । सन्धिखर्कमा सदरमुकाम आएपश्चात् तत्कालीन चलाख तथा पढेलेखेका व्यक्तिले सोझा कुमाललाई फकाएर, धम्क्याएर वा मानापाथी तथा धेरथोर पैसा दिएर गतिला जमिनबाट सन्धिखर्कको छेउँटुप्पा तथा गाउँतर्फ धपाएका थिए । प्रायः खोलाको छेउछाउमा बस्दै आइरहेका कुमालपुर्खाहरूले माछा मार्नेका लागि जाली बुन्ने र माछा मार्ने, माटाका भाँडा बनाउने, जाँतो–सिलौटो बनाउने, खोलो तारिदिने, कसैको विवाहमा दुलही बोक्ने, भरिया तथा ज्यालादारी काम गर्ने, खेतीपातीमा सघाउने अत्यन्तै सोझा र थोरै पैसामा धेरै काम गर्ने जातिका रूपमा परिचित रहेको पाउन सकिन्छ । सहरतिर पक्की घर बनाउने क्रमले निरन्तरता लिएसँगै कुमाल जातिले गिट्टी फोर्ने, बालुवा चाल्ने र घर बनाउने काममा पनि आफूलाई संलग्न तुल्याउँदै आएका पाइन्छन् ।
आफ्नो करोडौँ मूल्यका सम्पत्ति गुमाएर कमसल या दुखिया कार्यबाट जीविकोपार्जन गरेका कुमाल पुर्खाका आधुनिक सन्तानहरूले आफूहरूलाई सुमाल वा मुखिया थरबाट चिनाउने गरेकोमा व्यक्तिगत रूपमा पटक्कै मन नपरेको सन्धिखर्क पाणिनीचोकनिवासी सुमित्रा कुमालको गुनासो छ । अखिल नेपाल महिला सङ्घ क्षेत्रीय समितिको अध्यक्षसमेत रहेकी सुमित्रा एक समाजसेवीका रूपमा पनि अर्घाखाँचीमा परिचित छिन् । जिल्लाको जलुगे, सिद्धारा, ठाडा, सिमलपानी, खिदिम, पाली, चिदिका, बल्कोट, ठूलापोखरा, बांग्ला, डिभर्ना, खाँचीकोट, अडगुडी, असुरकोट र सन्धिखर्क गरी १५ गाविसमा बाक्लै रूपमा कुमालहरूलाई पाउन सकिन्छ । नगरपालिका हुनुपूर्वको सन्धिखर्क गाविसका वाड नं. ३, ६ र ७ मा गरी करिब १७१ घरधुरीमा ११ सय कुमाल जनसङ्ख्या रहेको छ । सदरमुकाम सन्धिखर्कमा रहेका कुमाल समुदायहरूमध्ये २० घर अत्यन्तै हुनेखाने रहेका र करिब १० वटा पक्की घर कुमाल जातिहरूले निर्माण गरिसकेका छन् । बाँकी परिवारका सामान्य घर रहेका भए पनि त्यसमा अन्जादी १५ घरधुरीको अवस्था दयनीय रहेको बुझिन्छ । धेरैजसो कुमाल जातिहरूलाई ६ महिना मात्रै खान पुग्ने कारण प्रायले घर बनाउने, पेन्टिङ गर्ने, गाडी चलाउने, व्यवसाय गर्ने र ज्यालादारी कार्यमा हौसिएको पाइएको छ ।
कुमाल समुदायको शैक्षिक अवस्थालाई हेर्दा २० जनाले एसएलसी तथा सातजनाले प्लस टु पास गरेका र बाँकी नयाँँ पुस्ता विद्यालय शिक्षा आर्जनमा लागिरहेको जानकारी मिल्यो । आजसम्मका कुमालहरूको विवाह गर्ने उमेर १८ वर्षदेखि सुरु हुने र पहिलो सन्तान २१ वर्षमा जन्माउने गरेकाको बहुमत ज्यादा देखिएको छ । विशेषगरी छोराको महत्व राख्ने उनीहरूले चारवटासम्म सन्तान जन्माउने गरेको जानकारी मिलेको छ । पहिलो सन्तानबीचको जन्मान्तर तीन वर्षको हुने कुमाल जाति ५० प्रतिशत कृषि पेसामा, ४० प्रतिशत घरेलु काममा, आठ प्रतिशत जागिरमा र दुई प्रतिशत वैदेशिक रोजगारमा लागेका छन् । प्रविधिको विकाससँगै ५० प्रतिशतसँग रेडियो, १५ प्रतिशतसँग टेलिभिजन र शतप्रतिशतसँग मोबाइल फोन रहेका छन् । परिवारनियोजनबारे जानकार कुमाल जाति सुरक्षित गर्भपतन र गर्भवती अवस्थामा स्वास्थ्य अवस्था बारेमा भने ५० प्रतिशत मात्रै जानकार रहेको पाइन्छ । उल्लिखत विवरण नेपाल कुमाल समाज सुधार जिल्ला कार्यसमिति अर्घाखाँचीका अध्यक्ष लालबहादुर कुमालबाट जानकारी लिँदै गर्दा तपाईंहरूका लागि राज्यले थप के गर्नुपर्ला भनि सोधियो । जवाफमा उनले राजनीतिक दलहरूले उपेक्षा गरेको अवस्था रहेको उल्लेख गर्दै शिक्षा, सीपमूलक तालिम, आयआर्जन आदिमा कुनै संस्थाको तर्फबाट भन्दा पनि राज्यका निकायहरूले प्रत्यक्ष लाभान्वित हुने गरी ध्यान पु-याउनुपर्ने सुझाव दिए ।
प्रतिक्रिया