माडी नगरपालिकाका किसानलाई अनुदानैअनुदान

माडी नगरपालिकाका किसानलाई अनुदानैअनुदान


दूधमा प्रतिलिटर तीन रुपैयाँ अनुदान
माडी नगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर रु. तीन अनुदान दिन शुरु गरेको छ । चालू आर्थिक वर्षको साउनयता दुग्ध सहकारीमा बिक्री गरेको दूधको चौमासिक रूपमा कृषकलाई अनुदान दिन शुरु गरिएको हो ।


नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार पहिलो चौमासिकको रु. १८ लाख ६६ हजार अनुदान किसानलाई वितरण गरी सकिएको छ । दोस्रो चौमासिकको तथ्यांक संकलन भइरहेको उनले बताउनुभयो । हरेक दिन ६ हजार लिटर हाराहारी दूध संकलन हुने गर्दछ । ढकालले कृषकलाई उत्प्रेरित गर्दै दैनिक १० हजार लिटर दूध पु¥याउने लक्ष्य रहेको बताए ।

माडीमा साना ठूला गरी १७२ कृषि फार्म दर्ता भएका छन् । घरमा गाई भैँसी पालेर सहकारीलाई दूध बिक्री गर्ने कृषकको संख्या एक हजारभन्दा बढी रहेको उनले बताए ।

उन्नत जातका गाईभैँसी पाल्नेलाई चार प्रतिशतमा ब्याज

माडी नगरपालिकाले उन्नत जातका गाईभैँसी पाल्ने कृषकलाई चार प्रतिशतमा ऋण प्रवाह शुरु गरेको छ । स्थानीय चार सहकारीसँग सम्झौता गरी अपुग रकम नगरपालिकाले भुक्तानी गर्ने भएको छ । ढकालका अनुसार सहकारीले नौ प्रतिशतमा कृषकलाई ऋण प्रवाह गर्दछ । कृषकले चार प्रतिशत र नगरपालिकाले पाँच प्रतिशत सहकारीलाई भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । शुरुमा एकजना कृषकलाई रु. पाँच लाखसम्म यस्तो ऋण सहज रूपमा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । उन्नत जातका गाई, बाख्रा पाल्न चाहने कृषकलाई ऋण थप्न सकिने ढकालले बताए ।


ठूला कृषकका लागि ब्याज छुटमा ऋण प्रवाह गर्न स्थानीय कृषि विकास बैंकसँग समन्वयकारी भूमिका नगरपालिकाले गरेको उनले बताए । कृषि ऋणमा बैंकले छुट दिने भए पनि साना किसानले पहुँच पु¥याउन कठिन हुने भएकाले नगरपालिकाले सहकारीसँग समन्वय गरेको हो ।

कृषि बिमामा २० प्रतिशत योगदान

सो नगरपालिकाले कृषि बिमा गर्दा कृषकलाई २० प्रतिशत अनुदान दिन शुरु गरेको छ । कृषि बिमामा ७५ प्रतिशत सरकारले अनुदान दिँदै आएको छ । बाँकी २५ प्रतिशतमा २० प्रतिशत नगरपालिका र पाँच प्रतिशत कृषकले व्यहोर्ने व्यवस्था मिलाइएको नगर प्रमुख ढकालले बताए । यसबाट कृषि क्षेत्रमा हुन सक्ने जोखिमबाट कृषक पूर्ण रूपमा सुरक्षित हुने उनको भनाए छ ।

माछापोखरीमा अनुदान

उक्त नगरपालिकाले माछा पोखरी खन्न प्रतिकट्ठा रु. १० हजार अनुदान दिन शुरु गरेको छ । माडी माछाको पकेट क्षेत्र हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत माडीलाई मत्स्य जोन बनाउने उद्देश्यका साथ पोखरी खन्ने कृषकलाई उत्प्रेरित गर्न अनुदान दिन शुरु गरिएको नगर प्रमुख ढकालले बताए ।


माडीमा कृषकको अन्न बाली वन्यजन्तुले नोक्सान गर्दै आएको छ । माछामा त्यस्तो प्रभाव नहुने हुँदा नगरपालिकाले कृषकलाई माछापालनतर्फ केन्द्रित गर्ने योजना बनाएको छ । ढकालले माडीलाई मत्स्य जोन बनाउने, उन्नत जातका पशुपालन गर्ने र तरकारी उत्पादनमा जोड दिइने बताए । निकुञ्जपारिको बस्तीका रूपमा परिचित माडीमा ४३ हजार जनसंख्या छ ।
नारायण अधिकारी (रासस)