देउवा भन्छन्- विशेष अधिवेशनको सामना गर्न तयार छु

देउवा भन्छन्- विशेष अधिवेशनको सामना गर्न तयार छु


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका जिल्ला सभापतिले विशेष अधिवेशन बोलाएमा आफूले ‘फेस’ गर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले सानो संख्यामा जम्मा भएका २० देखि २५ जना सभापतिले बोलाउने विशेष अधिवेशनको सामना गर्ने स्पष्ट पारे । सभापति देउवाले स्व. गिरिजाप्रसाद कोइराला भएको भए यस्तो अवस्थामा उनीहरूलाई पार्टीबाट निष्कासन गर्नुहुन्थ्यो भन्दै, तर आफूले केही नगर्ने र अनुशासन समितिले यससम्बन्धी हेर्ने बताए ।

उनले न्यायपरिषद्ले योग्यता पुगेकालाई नै सर्वोच्च र उच्च अदालतको न्यायाधीश नियुक्त गरेको हुनाले टीका–टिप्पणी नगर्ने प्रस्ट पारे । देउवाले न्यायपरिषद्ले न्यायाधीश नियुक्त गर्दा राजनीतिभन्दा बाहिर हुनुपर्छ भन्दै नियुक्तका सम्बन्धमा कहीँ कतै कुनै विरोध नभएको उल्लेख गरे ।

संवैधानिक परिषद्ले नियुक्त गर्दा प्रतिपक्ष दलको हैसियतले आफ्नो पनि सहमति लिनुपर्ने बताउँदै प्रतिपक्षबिनाको एक्लै नियुक्त गर्न नपाइने देउवाको भनाइ थियो । उनले संवैधानिक परिषद्को बैठकमा आफूले चिठी लेखी आउन नसक्ने भएको हुँदा केही समय पछि गर्नु भनेकोमा एकपक्षीय ढंगबाट गरिएको नियुक्तिको विरोध गरेको बताए ।

सभापति देउवाले वर्तमान सरकारले दुईतिहाइको दम्भमा एकलौटी कार्य गरेको आरोप लगाउँदै यसको विरोधमा विपक्षी पार्टीको हैसियतले सदन र सडकमा विरोध गर्ने उल्लेख गरे । वर्तमान समयमा नेका एकजुट रहेको बताउँदै उनले आगामी महाधिवेशनबाट पार्टी थप सुदृढ हुने विश्वास व्यक्त गरे ।
rss