निराकार आकाश -रामेश्वर राउत मातृदास

निराकार आकाश -रामेश्वर राउत मातृदास


हीनताबोधको भारी बोकेर
महानताको यात्रा कहिल्यै हुँदैन
हुन्डरी/हुँडुलो जस्तोसुकै आओस्
आकाश कहिल्यै आत्तिएर रुँदैन

ए ˜ द्रष्टेश्वर !
चाहेर पनि केही नहुँदोरहेछ,
र, नचाहँदा नचाहँदै पनि
हुँदोनहुँदो सबै सबै हुँदो रहेछ ।

यो लीला/यो अपरम्परा आश्चर्य
लाटोकोसेराले उज्यालो नचाहँदैमा
घाम कहिल्यै अन्धकार नहुने दिव्य विधि छ
आकाशले सधैं धरतीलाई प्रेमिल नयनले हेर्छ
र, कहिल्यै इष्र्या र लोभले छुँदैन,
हो तिमी यही निराकार आकाश हौ

सायद यही केही भइरहेको छ यहाँ युगौंदेखि
र, गड्याङ्गुडुङ गर्छ बिजुली चम्किन्छ
चल्लाको टाउकामा आकाश खस्यो रे भनेर
हल्लैहल्लामा दौडिरहन्छन् होसहीन च्याखुराहरू
घाम त्यही गीत गाइरहेछन्
जुनको नाच उस्तै मनमोहक छ
ए˜ औतारेवर !
तिमी हरपल मुस्कुराइरहेका छौ जहाँको त्यहीँ सबैको हाँसो बटुलेर

तिम्रो यही अविचलित
अनन्त स्वरूप देखेर
मन यसैत्यसै हर्षविभोर समुद्र उरालिन्छ
र, छातीभरि अदम्य हिमालय हरपल अग्लिरहन्छ मेरो,
लालीगुराँस ढकमक्क फक्रिन्छन् पहाडभरि षोडसी चुल्ठो सजाएर
त्यो अरू कोही नभएर तिमी नै हौ जीवनको सर्वस्व,
मेरो जीवन मेरो अजम्बरी बैंसको अगम्य समुद्र !

ए˜ सर्वेश्वर ! सौन्दर्यपूर्ण देख्ने यी नयन तिमी नै हौ
म त झुलुक्क एक झुल्को घाम हुँ,
तिमी सीमाहीन आकाश फैलिएनौ भने
बादलको मुहार पनि आफैं डुब्ने झरी पर्नेछ
र, जुनका आँखा
कठै ! तिम्रो ओठ रुने छन्
आफ्नै जीवनको बिहान सम्झेर ।
रारामा, वशिष्टधाम, निर्झर दिलचेत, सिन्धुबस्ती

एउटा अचम्मको देशबाट-आजाद अजनवी
हो हराएको छु आजभोलि
तर नखोज्नु कसैले
आजाद अजनवी हरायो भनेर

खुँडा-खुकुरी, गोली बमले भरिएका
ती लामा-लामा गोरेटाहरू पार गरेर
अत्यन्तै कष्टसाथ
टेक्दै-टेक्दै यी स्वप्नील आँखाहरूले
एउटा नवीन सपनाको बाटो
हालसालै
म आइपुगेको छु एउटा नौलो देश ।

यो नौलो देश साँच्चै नौलो रहेछ
जहाँ बिहानै उठेर प्रचण्ड
गाईलाई खोले खुवाउँदै छन्
सोत्तर सोहर्न बूढा सुशील कोइराला
बेसी झरेका छन् खोङ्र्गो बोकेर
र झलनाथ खनाल
भकाभक खनिरहेछन् ठूला खेतका गह्राहरू

जहाँ हिसिला, सुजाता र विद्या
लस्करै
एक-अर्काको टाउकोमा कपाल केलाउँदै
जुम्राहरू सिनित्तै निखारेर
डोको बोकेर सुख-दु:खका सुस्केराहरू गाउँदै
झरिरहेछन् तल-तल डोकोभरि घाँस काट्न

जहाँ केपी ओली
साना-साना बालबालिकाहरूलाई
सुनाइरहेछन् चेतनाका उखान-टुक्काहरू
र महेश बस्नेत
ढुङ्गा फुटाउँदै छन् स्कुल बनाउन
जहाँ चक्रे मिलन
प्रहरीको अधिकृत भएको छ
हिजै मात्र ठोकेछन् राजीनामा
त्यी रमेश खरेलले
अपराधीहरू एक प्रतिशत पनि छैनन् भनेर

जहाँ बाबुराम भट्टराई
कोर्दै छन् नक्सा विशाल एक घरको
जहाँ अटाउनेछन् तीन करोड नेपाली
जहाँ शेरबहादुर देउवा
बनाउँदै छन् एउटा विशाल विश्वविद्यालय
जहाँ फुल्नेछन् शिक्षाका फूलहरू
जहाँ माधव नेपाल
एउटै बनाउँदै छन् टुक्रा-टुक्रा खेतहरू
जहाँ फल्नेछ सबैलाई पुग्ने अन्न
हो, त्यस्तो देशबाट हराएर
म यस्तो देशमा आइपुगेछु
बाँकी छ देख्न अझै-अझै
लेख्दै गरौँला ………..
तर नखोज्नु कसैले
आजाद अजनवी हरायो भनेर ।