गणतन्त्रको रिजोलुसन– रामकुमार एलन
एक चिलिम धर्मको नसा
स्वाट्ट पारेर कुर्लियो आनन्दराम
धर्मराष्ट्र चाहियो ।
एक स्टिल गिलास
जातीय सोडा घुट्क्याउँदै
गनिरामले भन्यो– ‘हट’ भन्ने को
‘हट’ नदिने को ?
केही दिन, महिना, वर्ष हेर्दा
गणतन्त्रको सिमभन्ज्याङमा
कल्याङमल्याङ सुनिन्छ
एउटै झ्याङ, एउटै एजेन्डा
एउटै बसाइ, उही पात्र
तर,
आइतबारः अखण्ड
सोमबारः वान–लिम्बुवान, तमुवान
मंगलबारः हट–अरू हट, थरुहट
बुधबारः दशनामी, प्रणामी
बारैपिच्छे गणतन्त्रको प्रसाद बाँड्नेहरू
बैठकमा के को होम हालिरहेका छन् ?
बर्दीका राष्ट्रसेवक सडकमा जिउँदै जलाएर
बिदेसिएपछि हरहर हुन्छ राष्ट्रियताको आँत
अनि धर्मको वकिल बनेर
जातको न्यायाधीश हुँदै
फेसबुकमा फैसला सुनाउँछन्
ओ ५० लाख ठिटा हो,
देशमा गणतन्त्रको दियालो होइन
विद्वेषको मसाल बल्दै छ,
नछर्क न रेमिट्यान्सले थप पेट्रोल
जनयुद्धका अपाङ्गहरू
गणतन्त्रमा कुँजिएकाहरू
गौरकाण्डमा बलात्कृतहरू
वीर अस्पतालमा न्याय माग्दै मरेपछि
लास बनी जल्न नसकेका नन्दप्रसादहरू
भएर त हेर एकपटक, पीडा कति छ ?
लोकतन्त्रको लाइट फोकस गरेर
अखण्डको प्याकेज दिँदै
कोसीपूर्वका फम्र्याटमा
स्वायत्त मधेसको हाँडी अनि
थरुहटको कप्टेरो हल्लाउँदा
उठ्यो त गणतन्त्रको फूल ?
पड्किएका थिए त आक्रोश र विद्रोहका
सराबर आन्दोलित जुनेलो
सुन,
दुधे छोरा छाडेर फुलमती चौधरीहरू
महिनैपिच्छे लेबनान हानिइरहेका छन्
मलायामा भर्ती खुल्छ कि भनेर
गोपाल किराती असम बुलेटिन पढिरहेको छ
महाकवि देवकोटाका मुनामदनको दिलबर क्षेत्री
महासागर पौडेरै पुग्छु अमेरिका भन्दै
हिजो राति हाम्फाल्यो रे झ्वाम्म
वृद्ध, अपाङ्ग भत्ता लिन गाविसमा लागेका ताँती
अनि जन्मदर्ता हुन नसकेका बालबच्चा हेर
तिमीले देखाएको एकखाङ्रे सपनाको बगैँचामा
किन फुलेन दश वर्षसम्म गणतन्त्रको मखमली ?
देखिएन मनुवाका सिकुवामा सन्तोषको मिर्मिरे
यिनै घटना, पात्र, चरित्र फेरेर
चाउरिएका अनुहारमा हाँसोको फोहरा
निन्याउरो तनमा वासन्ती मुस्कान
अनि अबोधका निधारमा कर्णाधारको
स्वस्तिक छाप लगाउँदै
बढाउन सक्नुपर्छ गणतन्त्रको रिजोलुसन ।
प्रतिक्रिया