फन टाइम

फन टाइम


funtimeसर्वोत्कृष्ट नायक–नायिका आर्यन र प्रियङ्का
वर्तमान पुस्ताकी नेपाली नायिका प्रियङ्का कार्की बितेको वर्षभरि नै विभिन्न अफवाहको सिकार भइन्, जसका कारण उनले अनेक विवादको भुमरीमा फस्नुप-यो । तर, ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७१’मा सर्वोत्कृष्ट नायिका घोषित भएर उनले आलोचकहरूको मुख थुनिदिएकी छिन् । प्रियङ्का वास्तवमै एक प्रतिभाशाली कलाकार हुन् भन्ने यसबाट पुष्टि भएको उनका प्रशंसकहरू बताउँछन् । यसैगरी, सर्वोत्कृष्ट नायक घोषित भएका आर्यन सिग्देलबारे पनि आम रूपमा सकारात्मक प्रतिक्रिया पाइएको छ । प्रियङ्का र आर्यनलाई सर्वोत्कृष्ट नायक–नायिका घोषित गरिनुलाई न्यायोचित भनी सिङ्गै चलचित्र उद्योगले स्वागत गरेको छ ।
नेपाल चलचित्र विकास कम्पनी (एनएफडीसी)को आयोजनामा भएको कार्यक्रममा सर्वोत्कृष्ट सहअभिनेताको पुरस्कार अनुपविक्रम शाही र सहअभिनेत्रीको छुल्ठिम डोल्मा गुरुङले हात पारे भने नवअभिनेताको पुरस्कार सञ्जोग कोइराला र नवअभिनेत्री पुरस्कार आश्मा डिसीले प्राप्त गरिन् । सर्वोत्कृष्ट चलचित्रको पुरस्कार भने ‘कबड्डी’ले हात पारेको छ । उक्त फिल्मका निर्देशक रामबाबु गुरुङ सर्वोत्कृष्ट निर्देशक घोषित भएका छन् । त्यस्तै, सर्वोत्कृष्ट लेखनमा छेतेन गुरुङ, छायाकारमा शैलेन्द्रध्वज कार्की, सम्पादकमा सुरेन्द्र पौडेल, द्वन्द्व निर्देशकमा राजकुमार उप्रेती, सङ्गीतकारमा ताराप्रकाश लिम्बू, पाश्र्वगायनमा युवराज चौलागाईं, नृत्य निर्देशकमा कविराज गहतराज र पाश्र्व सङ्गीतमा रामजी लामिछाने सर्वोत्कृष्ट छानिए । सर्वोत्कृष्ट ध्वनि पुनर्मुद्रणमा उत्तम न्यौपाने, सर्वोत्कृष्ट व्यावसायिक चलचित्रमा कोहिनूर, चलचित्र पत्रकारितामा विजयरत्न तुलाधरले सर्वोत्कृष्ट पुरस्कार जिते भने जुरी राष्ट्रिय चलचित्र पुरस्कारबाट सुदीपभुपाल सिंहलाई सम्मानित गरियो । प्रत्येक सर्वोत्कृष्टलाई ‘अवार्ड’सँगै जनही ५१ हजार नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।
सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजाल, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, अतिथिको रूपमा निम्त्याइएकी भारतीय गायिका सञ्जीवनीलगायतले राजधानीमा आयोजित कार्यक्रममा विजेतालाई पुरस्कार वितरण गरे । कार्यक्रममा सञ्जीवनीले नेपाली गीत गाएर स्रोता दर्शकको मन जितिन् भने विभिन्न नेपाली कलाकारले आ–आफ्ना प्रस्तुति दिएका थिए ।

भेडीखर्के साहिँला र बुद्धिकृष्णलाई नूरगङ्गा पुरस्कार
भेडीखर्के साहिँला नामले प्रसिद्ध दीर्घराज अधिकारी (लमजुङ) र विख्यात लोकगायक बुद्धिकृष्ण लामिछाने (काभ्रे)लाई एक लाख नगद राशिसहित नूरगङ्गा प्रतिभा पुरस्कार गुठीले सम्मानित गर्ने भएको छ । नूरगङ्गा प्रतिभा पुरस्कार गुठीको साधारणसभाले तय गरेअनुसार १५ हजार राशिको नूरगङ्गा लुम्बिनी अञ्चलस्तरीय लोकगायन नवप्रतिभा पुरस्कार लोकगायक प्रचण्ड जिसी (बुटवल, रूपन्देही) लाई प्रदान गरिने छ भने २५ हजार नगद राशि भएको नूरगङ्गा लुम्बिनी अञ्चलस्तरीय स्थापित साहित्य प्रतिभा पुरस्कार बालकृष्ण भट्टराई (रूपन्देही)लाई, १५ हजार राशिको नूरगङ्गा बालसाहित्य राष्ट्रिय नवप्रतिभा पुरस्कार जनार्दन बराल (सिन्धुली)लाई र सात हजार राशि रहेको पाल्पा जिल्लास्तरीय नूरगङ्गा शैक्षिक पुरस्कार पाल्पा जिल्लाका सामुदायिक विद्यालयबाट ०७१ सालको प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने दरैंठाँटी उच्च माध्यमिक विद्यालय रामपुरका प्रवेश गौतम र दमकडा उच्च माध्यमिक विद्यालय मदनपोखराकी सुश्री शलीन वेगमलाई प्रदान गरिने छ । यसैगरी, हरेक वर्ष एक वरिष्ठ साहित्यकालाई सम्मानित गर्ने गुठीको परम्पराअनुसार यस वर्ष प्रा.डा. जगमान गुरुङलाई सम्मान गरिने बताइएको छ । यी पुरस्कार तथा सम्मान आगामी असोज ८ गते काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरी प्रदान गरिने गुठीका सदस्यसचिव यज्ञप्रसाद शर्माले जानकारी दिएका छन् ।
नूरगङ्गा प्रतिभा पुरस्कार गुठी वि.सं. २०४९ सालमा लोकगायिका गङ्गादेवी राणा र उहाँका पति समाजसेवी, उद्योगपति तथा साहित्य, सङ्गीत तथा कलाका पारखी नूरप्रताप जबराको सक्रियतामा स्थापना भएको हो । साहित्य, सङ्गीत, कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने लुम्बिनी अञ्चलका प्रतिभालाई, बालसाहित्य तथा संस्कृति संरक्षणको क्षेत्रमा योगदान गर्ने राष्ट्रियस्तरको लेखकलाई तथा पाल्पा जिल्लाबाट प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रालाई प्रत्येक वर्ष पुरस्कृत गर्ने गरी सुरुमा तीन लाख एक हजार एक रुपैयाँको अक्षय कोषबाट थालनी गरिएको गुठीसँग अहिले पच्चीस लाख रुपैयाँको अक्षय कोष रहेको बताइएको छ । त्यसैको ब्याजबाट प्राप्त रकमबाट गुठीका गतिविधिहरू सञ्चालित भइरहेका छन् भने गुठीबाट प्रदान गरिने पुरस्कारको रकम क्रमशः वृद्धि हुँदै आएको छ ।

‘सेतो टोपी’मा यसरी झुल्किए डिआइजी चन्द
झन्डै साढे दुई दशकअघि प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्द सङ्गीतप्रेमी श्रोता र दर्शकका माझ प्रहरी अधिकृत मात्र नभएर गीतकारका रूपमा समेत देखापरेका छन् । राज्यले दिएको जिम्मेवारी र सङ्गठनप्रति सधैँ वफादार रहने चन्द नेपाली श्रोतामाझ गीतकारका रूपमा देखा परे पनि उनले आफ्नो पहिलो कोसेली सेतो टोपी नामक गीति क्यासेट बजारमा ल्याउँदा ट्राफिक सचेतनामूलक गीतबाट बाहिर आएका हुन् ।
हाल महानगरीय ट्राफिक महाशाखाका प्रमुख समेत रहेको डीआईजी चन्दले यतिखेर ट्राफिकले लगाउने सेतोटोपी नामक गीति एल्बमबाट श्रोतामाझ ल्याए पनि उनी यसअघि रातोटोपीमा रहेर जिम्मेवारी निर्वाह गर्दा पनि उत्तिकै जिम्मेवार र चनाखो रहेर कर्तव्यमा खटिरहने अधिकृत हुन् । रातोटोपीमा नीलो बर्दी लगाएर केही वर्षअघि काठमाडौंको सुरक्षा कमाण्ड सम्हाल्दा उनले बस्ती–बस्तीमा स्वयम् उपस्थित भएर अपराध कर्म गर्ने र अपराधी बस्ने र गर्नेबारे चेतना फैलाउँदै बस्ती भेटघाट गर्थे भने यतिखेर सेतोटोपी, सेतोपेटी र पञ्जामा रहने ट्राफिकले कसरी हाम्रो जिउज्यानको रक्षा गर्न लागिपरेका छन् भन्ने सन्देश दिन कस्सिएका छन् । गत शुक्रबार नेपाल पुलिस क्लबको हलमा एक भव्य समारोहबीच सङ्गठन प्रमुख प्रहरी निरीक्षक उपेन्द्रकान्त अर्यालको प्रमुख आतिथ्यतामा गीति क्यासेट सार्वजनिक गरेर डीआईजी चन्द एकाएक सुरक्षाकर्मी मात्र नभएर गीतकारका रूपमा पनि आफूलाई दर्ज गराउन सफल भएका छन् ।
चन्दको ‘सेतोटोपी’ सार्वजनिक भएपछि मान्छेले चाहने हो भने कर्तव्य निर्वाह सँगसँगै समाजलाई अझ बढी चेतनशील बनाउन सक्छ भन्ने ज्वलन्त प्रमाण भएको उपस्थित बुद्धिजीवीले टिप्पणी गरेका थिए । चन्दको पहिलो कृति चेतनामूलक गीति क्यासेटको विमोचन गर्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सडक दुर्घटना हुनुमा ७० प्रतिशतभन्दा बढी मानवीय त्रुटि प्रमुख कारण देखिएको बताएका थिए । यस्ता त्रुटिलाई न्यूनीकरण गर्न यस्ता म्युजिक भिडियो र गीति क्यासेटले महत्वपूर्ण भूमिका खेल्ने कुरासमेत महानिरीक्षक अर्यालले बताए । सडकको विषय ट्राफिक प्रहरी मात्र नभई सबै सरोकारवालाको विषय भएकाले सबै मिलेर सडकलाई सुरक्षित बनाउनुपर्ने अर्यालको कथन थियो । सडकलाई सुरक्षित राख्न महानगरीय ट्राफिक प्रहरीले यस्तो रचनात्मक काम गरेर एउटा इँटा थप्ने काम गरेको उल्लेख गर्दै यतिखेर त्यही महाशाखाको कमान्ड सम्हालेका चन्दले शब्द सङ्कलन गरेर थप कार्य गरेको भन्दै अर्यालले मुक्तकण्ठले प्रशंसा गरे । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले यो एल्बमबाट सडक दुर्घटना न्यूनीकरण गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्दै प्रहरी बर्दीधारी नागरिक हुन् भने नागरिक बिनाबर्दीका प्रहरी भएकाले सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्नुपर्ने कुरामा जोड दिएका थिए । नौवटा गीत रहेको क्यासेटका विषयमा समीक्षा गर्दै गीतकार डा. कृष्णहरि बरालले ट्राफिक र सडकका समस्यालाई नजिकबाट बुझेर डीआईजी चन्दले गीतमा उतार्न सफल भएको बताए । नेपालमा ट्राफिक शिक्षालाई तल्लो कक्षादेखि नै शैक्षिक क्यालेन्डरमा राख्न सकिए यति धेरै विकृति र विसङ्गति नहुने कुरामा जोड दिएका थिए ।
डीआईजी चन्दले शब्द सङ्कलन गरेका नौ गीतमध्ये सेतोटोपीमा राजेशपायल राई र अन्जु पन्तले स्वर दिएका छन् । त्यस्तै बटुवामा राजेशपायल राई, मदिरामा इन्दिरा जोशी र राजेश, लेन अनुशासनमा अन्जु पन्त, जेब्राक्रसमा मिलन अमात्य र राजेश, विद्यार्थी -यापमा सरोज ओली, श्रेयषी चेमजोङ, सवारीधनीमा इन्दिरा जोशी र कृष्ण काफ्ले, सवारीचालकमा अन्जु पन्त र रामचन्द्र काफ्ले र देउडामा रामचन्द्र काफ्ले र इन्दिरा जोशीले स्वर दिएका छन् । महानगरीय ट्राफिक महाशाखाको प्रस्तुति रहेको उक्त एल्बममा सङ्गीत वसन्त सापकोटाले भरेका छन् । अर्जुन पोख्रेलले सम्पादन गरेको उक्त गीति क्यासेटको छायाङ्कन गरेका छन् । चर्चित नायक सरोज खनालले समेत अभिनय गरेको गीति क्यासेटको पोष्ट प्रोडक्सन शुभ मिडिया होमले गरेको हो ।

स्रष्टाहरूले सम्झिए कवि कटुवाल
साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएका स्वर्गीय कवि हरिभक्त कटुवालप्रति नेपालका सरकारी र निजी क्षेत्रबाट उचित सम्मान नभएको गुनासो चल्दै गर्दा उनको ३६औँ स्मृति दिवस मनाइएको छ । ‘कवि कटुवालका श्रद्धालुहरू’द्वारा गत साता आयोजित स्मृति कार्यक्रममा वरिष्ठ सर्जकहरू माया ठकुरी, मोहन लोहनी, रोचक घिमिरे, रामकुमार पाँडे, विश्वविमोहन श्रेष्ठ र विष्णुलाल श्रेष्ठले भवानी घिमिरेको पहलमा छत्तीस सालमा भएको ‘सडक कविता क्रान्ति’मार्फत बहुदलीय व्यवस्था पुनःस्थापनामा सक्रिय र पारदर्शी कटुवालबाट धेरै युवा साहित्यकार प्रभावित भएको उल्लेख गरे । कार्यक्रममा साहित्यकार प्रमोद प्रधान र प्रकाश सायमीले ०२० सालमा नेपाल आएका कटुवालले नेपाली गीति क्षेत्रमा नयाँ शैली भित्याएको धारणा व्यक्त गरेका थिए । कार्यक्रमका संयोजक श्रीरामसिंह बस्नेतले कटुवालका अप्रकाशित कृति र स्नातकोत्तर तहका शोध सामग्री प्रकाश गर्न पहल गरिने जानकारी दिए भने शैलेन्द्र सिंखडा, बिके श्रेष्ठ, मिथिला खरेल, दामोदर न्यौपानेलगायतले कटुवालका र आ–आफ्ना रचना प्रस्तुत गरेका थिए ।

‘अल्का’का थापा सम्मानित
भूकम्पका बेला प्रभावित भएकाहरूको उद्धार तथा राहतमा उल्लेखनीय योगदान पु-याएको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले अल्का अस्पतालका अध्यक्ष कुमार थापालाई सम्मान गरेको छ । भूकम्पका कारण उत्पन्न जटिल परिस्थितिमा घाइतेहरूको उद्धार र राहतमा अल्का अस्पतालका तर्फबाट निर्वाह गरेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै जिल्ला प्रशासन कार्यालय जिल्ला दैवीप्रकोप उद्धार समितिका तर्फबाट थापालाई सम्मान गरिएको हो । ललितपुरस्थित अल्का अस्पतालले वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पमा परी घाइते भएका करिब पाँच सयजनाको निःशुल्क औषधि उपचार गरेको थियो । भूकम्पका घाइतेहरूको उपचार गरेबापत सरकारले दिएको अनुदानसमेत अल्काले लिएको थिएन । यसैगरी नेपाल प्रहरीले पनि ट्राफिक सचेतनामूलक गीतको निर्माण कार्यमा उल्लेखनीय सहयोग गरेको भन्दै थापालाई सम्मान गरेको छ । डीआईजी जयबहादुर चन्दको ‘सेतो टोपी’ नामक गीति एल्बममा अभिनयसमेत गरेका थापालाई सो एल्बम विमोचन समारोहका बीच प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सम्मान गर्नुभएको हो ।

रामा सहकारीको साधारणसभा सम्पन्न
पुरानो बानेश्वरस्थित रामा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौँ साधारणसभा हालै सम्पन्न भएको छ । कार्यालय परिसरमा नै आयोजित उक्त साधारणसभामा सहकारी संस्थाका अध्यक्ष श्रीमती गीता उपाध्यायले संस्थाको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उपस्थित सेयर सदस्यहरूले उक्त प्रतिवेदन तथा आगामी कार्ययोजनालाई पारित गरेका थिए ।
सोही अवसरमा हिन्दू नारीहरूको महत्वपूर्ण पर्व तिजको पूर्वसन्ध्यामा रामा सहकारीले तिजविशेष कार्यक्रमको पनि आयोजना गरेको थियो । उक्त कार्यक्रममा वरिष्ठ अभिनेता मदनदास श्रेष्ठ, रमेश घिमिरे, केशव उपाध्याय, जगदीप प्र. उपाध्याय, प्रदीप घिमिरे, राधादेवी घिमिरेलगायतले सहकारीको विषयमा बोल्दै तिजको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम सहकारीका अध्यक्ष गीता उपाध्यायको सभापतित्वमा सम्पन्न भएको थियो ।