मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन अन्तिम चरणमा, जेठदेखि परीक्षण थाल्ने

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन अन्तिम चरणमा, जेठदेखि परीक्षण थाल्ने


अबको दुई महिनामा पेट्रोलियम पाइपलाइन बिच्छ्याएर परीक्षण शुरु गर्ने भारतीय आयल निगमको योजना छ । लामो समयसम्म रोकिएको यो परियोजना सम्पन्न भएपछि दैनिक ४ हजार किलोलिटर तेल आयात गर्न सकिने नेपाल आयल निगमको दावी छ । यसले बार्षिक रुपमा २ अर्ब रुपैयाँ बढी बचत हुनेछ ।

बहुचर्चित नेपाल–भारत पेट्रोलियम पाइपलाइन बिच्छ्याउने काम लगभग अन्तिम चरणमा छ । यो योजना काम शुरु भएको ३० महिनामा सम्पन्न हुने लक्ष्य थियो । तर काम शुरु भएको एकबर्षको अवधिमा ८० प्रतिशतभन्दा बढी प्रगति भएको छ । बिहारको मोतिहारीदेखि अमलेखगञ्जसम्मको ७० किलोमिटरको दुरीमा बिछ्याउन लागिएको पाइपलाइन पर्सा राष्ट्रिय निकुञ्जभित्र करिब साढे सात किमी मात्रै बाँकी छ । आगामी २ महिनाभित्र सम्पन्न गर्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।
आगामी जेठसम्ममा परीक्षणका रुपमा पाइपलाइनबाट तेल ल्याउने योजना आयल निगमसँग छ । पर्सा राष्ट्रिय निकुञ्जमा रुख काट्न सैद्धान्तिक सहमति भएपछि पाइपलाइन विस्तारको कामले गति पाएको हो । पाइपलाइनमार्फत आएको तेल अमलेखगञ्ज डिपोमा भण्डारणका लागि भर्टिकल ट्याङक मर्मत र डिपोको रिसिभिङ स्टेशनको काम समेत एकसाथ भइरहेको छ ।

पाइपलाइनपछिको फाइदा
–पाईपलाइनबाट प्रतिघण्टा २ सय किलोलिटर इन्धन ल्याउन सकिने
– दैनिक ४ हजार किलोलिटर तेल आयात गर्न सकिने
–बरौनीबाट एक ट्याङकर तेल अमलेखगञ्ज ल्याउँदा ५० हजार भाडा
–बरौनीबाट सीधै काठमाडौं लैजादा ८५ हजार भाडा
– चुहावट र भारतीय भुमिमा भोग्नुपर्ने समस्याको अन्त्य
– बार्षिक रुपमा २ अर्ब रुपैयाँ बढी बचत हुने

भारतले लगाएको नाकाबन्दीको असर नेपालमा परे पनि भारत र नेपालका बीच निर्माणाधिन पेट्रोलियम पाइपलाइन परियोजनामा भने यसले फाइदा पु¥याएको छ । नेपालले तीन दशकदेखि भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म पेट्रोलियम पदार्थ ल्याउने पाइपलाइन बनाउन खोजेको थियो । तर यो परियोजना भारतको स्वार्थका कारण अल्झिरहेको थियो । नाकाबन्दीका बेला नेपालले चीनसँग पारवहनका विषयमा विभिन्न सम्झौता गरेपछि भारत परियोजना अघि बढाउन सहमत भएको हो । पहिलो फेजमा पटना टर्मिनलबाट हाई लिफ्ट पम्पसेटमार्फत पम्पिङ गरेर अमलेखगञ्जमा डिजेल ल्याईनेछ ।