असोज तीन गतेपछि देशमा नयाँ संविधान, केपी ओलीको महान् विजय

असोज तीन गतेपछि देशमा नयाँ संविधान, केपी ओलीको महान् विजय


oliकेपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न सरकारी पक्षबाट जालका रूपमा फालिएको ‘पहिले संविधान’ भन्ने नारालाई अन्ततः ओली आफैँले वास्तविकतामा रूपान्तरण गरिदिएका छन् । ओलीको दृढतापूर्ण अडानका कारण देशले ‘जस्तो भए पनि’ एउटा संविधान पाउने स्थिति बनेको आमदेशवासीको ठहर छ । गत जेठमा केपी ओलीले सरकारबाट फिर्ता आउने र नयाँ गठबन्धनको सक्षम सरकार निर्माण गर्ने तयारी भित्रभित्रै गरेपछि प्रधानमन्त्री सुशील कोइराला, वामदेव गौतम, नरहरि आचार्य, महेश आचार्य र माधवकुमार नेपालसमेतले ओलीलाई रोक्न ‘पहिले संविधान निर्माण, त्यसपछि नयाँ सरकार’ भन्ने जाल प्रस्तावका रूपमा छोडेका थिए । यसलाई जालसाजीका रूपमा बुझ्दाबुझ्दै पनि केपी ओलीले तत्कालै स्वीकार गरी संविधान निर्माणको निम्ति एकोहोरो ढिपी गरिरहे । काङ्गे्रस महामन्त्रीसमेत रहेका कृष्ण सिटौलालाई उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनाइने आश्वासन मिलेपछि उनी संविधान निर्माण गर्न कस्सिए । राष्ट्रपति बनाइने र संविधान बनेको जस (यस) लिन पाइने कुराबाट सुशील कोइराला पनि हौसिए । तत्कालै संविधान नबने राजसंस्थासहित हिन्दूराष्ट्र फर्कन्छ भनिएपछि प्रचण्ड पनि त्राहीमाम हुँदै जतिसक्दो चाँडो संविधान बनाउने पक्षमा उभिन पुगे । प्रचण्ड त यति आत्तिए कि संविधान तुरुन्तै बनेन भने उनले राजनीतिक र भौतिक रूपमा समेत आफू सकिने ठान्न थालेका थिए ।
नेताहरूमध्ये संविधान निर्माण प्रकरणमा काङ्गे्रसका वरिष्ठ नेता शेरबहादुर देउवा ज्यादा निस्वार्थ देखिएका छन् । किनभने संविधान बन्नेबित्तिकै कुनै उच्च पद प्राप्त गर्न सक्ने अवस्थामा देउवा छैनन् र उनले त्यस्तो आकाङ्क्षा राखेको पनि बुझिँदैन । देशमा स्थायित्वको लागि संविधान आवश्यक छ भन्ने कुराबाट प्रेरित भएर मात्र देउवा संविधान निर्माणमा सक्रिय रूपले सहभागी भएको पाइएको छ । प्रमुख दलका मुख्य नेताहरू भने मुलुकको स्थायित्वबाहेक अन्य कुराहरूबाट समेत प्रेरित भएको अर्थ लागेको छ । यसरी निस्वार्थ ढङ्गले संविधान निर्माण गर्न काङ्गे्रस नेता देउवा लागिपरेको भए पनि काङ्गे्रसकै महामन्त्री रहेका कृष्ण सिटौला भने निजी स्वार्थबाट सर्वाधिक प्रेरित व्यक्तिको कोटिमा परेका छन् । संविधान निर्माण गरेर केपी ओलीलाई प्रधानमन्त्री बनाउने र ओली प्रधानमन्त्री भएमा आफूले उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्न पाउने कुराबाट सिटौला प्रेरित रहेको ठानिएको छ ।
तीन प्रमुख दलका मुख्य नेताहरू बेग्लाबेग्लै कारणले भए पनि संविधान निर्माण गर्न राजी भएपछि देशको राजनीतिको एउटा अध्याय समाप्त भएको छ । संविधान जारी भइसकेपछि राजनीतिको अर्को अध्याय सुरु हुने विश्वास गरिएको छ । जुन अध्याय दीर्घकालिक रूपले नेपालको स्थायित्वका निम्ति घातक हुने विश्लेषकहरूको ठहर छ । संविधान जारी हुनेबित्तिकै प्रतिक्रिया हुने र देशव्यापी रूपमा थेग्नै नसकिने प्रकारको आन्दोलन उठ्ने सम्भावना कम भए पनि असन्तुष्ट समुदाय ठूलो भएकोले कुनै पनि समय असन्तुष्टि उग्र रूपमा प्रकट हुने सम्भावना देखिन्छ । त्यसैले मुलुकको स्थायित्व धरापमा पर्नेचाहिँ अब निश्चित भएको छ ।
संविधान जारी भएपछि देशको राजनीति सत्ता परिवर्तनमा केन्द्रित हुनेछ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभाध्यक्ष र उपाध्यक्ष बदलिने क्रममा प्रमुख तीन दलबीच नै तनाव र विवाद हुने सम्भावना छ । जेठ २५ गते सोह्र बुँदे सम्झौता हुँदा चार पक्षबीच भद्र सहमति भएको थियो । जसअनुसार सुशील कोइराला राष्ट्रपति बन्ने, केपी ओली प्रधानमन्त्री हुने, एमाओवादीले सभाध्यक्ष पाउने र मधेसी मोर्चाले उपराष्ट्रपति लिने भन्ने भएको बताइन्छ । केपी ओली प्रधानमन्त्री बनेमा उनले सुशील कोइरालालाई राष्ट्रपति बन्न सघाउने स्थिति भए पनि ओलीलाई प्रधानमन्त्री बनाउने पक्षमा काङ्गे्रस पार्टी तयार भइनसकेको अवस्था छ । सुशीलको एकल निर्णयबाट ओलीलाई प्रधानमन्त्री बनाउने प्रक्रिया सुरु भयो भने ओली प्रधानमन्त्री बन्न सक्ने सम्भावना छ, तर यससम्बन्धी निर्णय काङ्गे्रसको केन्द्रीय समितिबाट गरिने भएमा परिस्थिति भिन्न हुनसक्ने देखिएको छ । संविधान बनेको ६ महिनाभित्र स्थानीय निर्वाचन गराउने सहमति दलहरूबीच भएकोले एमाले नेतृत्वको सरकारले चुनाव गराउने अवस्थामा काङ्गे्रसका लागि स्थिति प्रतिकूल हुनसक्ने काङ्गे्रस नेताहरूको ठम्याइ छ । त्यसैले एमालेलाई सरकारको नेतृत्व दिने मुड काङ्गे्रस नेताहरूमा देखिँदैन । सरकारको नेतृत्व एमालेले नपाएमा उसले राष्ट्रपतिमा सुशीललाई समर्थन गर्ने सम्भावना रहनेछैन । त्यस्तो अवस्थामा एमाओवादी अध्यक्ष प्रचण्डलाई राष्ट्रपति बनाएर एमालेले सरकारको नेतृत्व आफैँ लिने खेल सुरु हुन सम्भव छ । राष्ट्रपति र प्रधानमन्त्री चयनमा मधेसी मोर्चाको पनि महत्वपूर्ण भूमिका हुनसक्ने ठानिएको छ । मधेसकेन्द्रित नेताहरू केपी ओलीप्रति अप्रसन्न भएकोले उनीहरूले एमालेबाहेकलाई राष्ट्रपति र प्रधानमन्त्रीमा समर्थन गर्नसक्ने सम्भावना बढी छ । त्यसो भएमा एमाओवादी निर्णायक भूमिकामा देखापर्नेछ र उनीहरूको बार्गेनिङपावर ह्वात्तै बढ्ने देखिन्छ । एमाओवादीभित्र पनि केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिनेहरूको जमात ठूलो भएकोले प्रचण्डले मात्र चाहेर एमालेसँग गठबन्धन बन्ने विश्वास गर्न सकिँदैन । एमालेले प्रचण्डलाई राष्ट्रपति बन्न सघाएमा भने एमाओवादीको अध्यक्ष पद रिक्त हुने र रिक्त पदमा डा. बाबुराम भट्टराईलाई चयन गरिने सहमति बनेमा मात्र एमाले–एमाओवादी गठबन्धनको सम्भावना देखिएको छ ।
यसरी सत्ताको खेल सुरु भएपछि तीन प्रमुख दलहरू एक ठाउँमा उभिइरहन मुस्किल हुने र त्यसले मुलुकको राजनीतिमा नयाँ तरङ्ग पैदा गर्ने अवस्था देखापरेको छ । तर, सुशील कोइराला राष्ट्रपति बनेको अवस्थामा भने सजिलै केपी ओली प्रधानमन्त्री बन्ने विश्वास गर्न सकिन्छ । अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरू नेपालमा वामपन्थीहरू हावी हुँदै गएकोप्रति भित्रभित्रै चिन्तित हुन थालेका छन् । नयाँ संविधान वाममैत्री भएको, सत्ताको केन्द्रबिन्दुमा पनि वामपन्थी नै रहने र राष्ट्रपतिसमेत वामपन्थी (प्रचण्ड) नै हुने स्थितिलाई प्रजातान्त्रिक विश्वले सहजै ग्रहण गर्नेमा शङ्का छ । त्यसैले वामप्रकोपबाट नेपाललाई जोगाउन अन्तर्राष्ट्रिय समुदायको सक्रियता थप बढ्न सक्ने सम्भावना छ । तर, संविधान निर्माणमा झैँ सत्ता र सरकार निर्माणमा पनि तीन दलबीचको समझदारी यथावत् रहेमा मात्र देशको सत्ता–राजनीति ‘स्मुथ्ली’ अघि बढ्नेछ, होइन भने नेपाली राजनीतिले नयाँ मोड लिने र त्यसले संविधान कार्यान्वयनमा समेत प्रतिकूल प्रभाव पार्ने देखिएको छ ।