शेयर परिसूचक बढेसँगै बजार पूँजीकरण पनि २५ अर्बले बढ्यो

शेयर परिसूचक बढेसँगै बजार पूँजीकरण पनि २५ अर्बले बढ्यो


चैत मसान्तको अन्त्य र तेस्रो त्रैमासमा बैंक तथा वित्तीय संस्थाको नाफा बढ्ने आँकलनसहित लगानीकर्ताले शेयर कारोबार बढाएका छन् । जसले गर्दा यो साता परिसूचक नेप्से सँगै बजार पूँजीकरणमा समेत वृद्धि भएको छ ।

शेयर बजारमा यो साता परिसूचक नेप्से सामान्य बढेको छ । साताको सुरुवातमा बैंक तथा वित्तीय संस्थामा ब्याजदर घटन सक्ने आकलन लगानीकर्ताले गर्दा शेयरको माग बढ्न गई नेप्से बढेको थियो । जसले गर्दा यो साता नेप्से २० दशमलव ६७ अंकले बढेर १ हजार १ सय ४४ दशमलव ५३ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि ५ दशमलव ०८ अंकले बढेको छ ।

शेयरको माग बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । साताभर २ अर्ब ८ करोड ३१ लाख १४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । चैतको अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म बजार बढ्ने मानसिकताले गर्दा पनि यो साता लगानीकर्ताले शेयरको माग बढाएको देखिन्छ ।

जसले गर्दा यो साता मात्रै बजार पूँजीकरण २५ अर्ब ३० कारोड रुपैयाँले बढेको छ । लगानीकर्ताको आकर्षण केही ठुला वाणिज्य बैंकहरुमा देखिएको छ । जसले गर्दा शेयरको माग बढ्न गई परिसूचक सकारात्मक बनेको हो ।