हेटौडा–भरतपुर प्रसारण लाइन अन्योलमा

हेटौडा–भरतपुर प्रसारण लाइन अन्योलमा


हेटौडा–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण सुरु भएको १० वर्षमा बितिसक्दा पनि पूरा हुन सकेको छैन । २०६५ सालबाट निर्माण सुरु भएको ७६ किलोमिटर लामो प्रसारण लाइन २०७५ सकिँदा समेत पूरा हुन नसकेको हो ।

एक दशक लामो अवधिमा प्रसारण लाइनको ८५ प्रतिशत निर्माण पूरा भएको छ । आयोजनाका सूचना अधिकृत कृष्णप्रसाद पन्तका अनुसार आयोजनाको १५ प्रतिशत काम अझै बाँकी छ । ठेकेदारले सन्तोषजनक रुपमा काम नगरेका कारण आयोजना ढिला भएको हो । लाइन मुनी पर्ने सुकुम्बासी टोलका घरटहरा र जग्गाको क्षतिपूर्तिको बिबादले पनि निर्माणको गति बढाउन नसकिएको आयोजनाले जनाएको छ ।

समस्या नभएका स्थानमा प्रसारण लाइनको जग खन्ने, टावर खडा गर्ने, तार तान्ने, रुख काट्ने र क्षतिपूर्ति तथा मुआब्जा वितरणको काम एकसाथ भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । बिना अवरोध काम भए अबको ६ महिनामा निर्माण पूरा गरेर लाइन सञ्चालन गर्ने प्राधिकरणको दावी छ । अहिलेसम्ममा प्रसारण लाइनकोे ६.६७ किलोमिटर लाइनमा मात्रै तार तानिएको छ । १ सय टावर खडा गरिएको छ । वन क्षेत्रको रुख कटानको काम ८७ प्रतिशत पूरा भएको छ । प्रसारण लाइन रुटमा ४२ सामुदायिक वनको ५४ हजार रुखमध्ये अझै ५२ सय रुख कटान गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

स्थानीयको जग्गाको मुआब्जा र क्षतिपूर्ति दिने काम अन्तिम चरणमा पुगेको प्राधिकरणको दाबी छ । प्रसारण लाइन अन्तर्गत हेटौडा र भरतपुरमा २ वटा सवस्टेसन निर्माण भइरहेका छन् । प्रसारण लाइन भारतको आकमटेली हैदरावाद र सबस्टेसन चीनको झोङडिङ इन्टरनेशनले निर्माण गरिरहेको छ ।