‘पार्टीमा अझै पनि युवा पुस्ताको नेतृत्व आउन सकेन’

‘पार्टीमा अझै पनि युवा पुस्ताको नेतृत्व आउन सकेन’


नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता योगेश भट्टराईले वर्तमान परिप्रेक्ष्यमा राजनीतिमा युवाको प्रभाव पर्ने क्रम बढ्दो क्रममा रहेको बताएका छन् । उनले लोकतान्त्रिक विधिबाट राजनीतिमा युवाको नेतृत्व हुन सकस भएपनि पछिल्लो समय त्यो प्रभाव बढेको उल्लेख गरे ।

देउमाई नगरपालिकास्थित ‘देउमाई साहित्य तथा पर्यटन महोत्सव’मा राजनीतिमा युवा पुस्ताबारे बहस गर्दै नेता भट्टराईले आफू उमेरका हिसाबले नभइ पुस्ताका हिसाबले युवा रहेको बताए । उनले पार्टीमा अहिले २००७ सालको पुस्ताको सहभागिता तथा नेतृत्व नगन्य रूपमा रहेको तर २०४६ सालको आन्दोलनबाट जन्मिएका नेताको सहभागिता बढी रहेको बताए ।

नेपाली काङ्ग्रेसका नेता प्रदीप पौडेलले पार्टीमा अझै पनि युवा पुस्ताको नेतृत्व आउन नसकेकामा दुःख व्यक्त गरे । ‘पार्टीमा अझै पनि हामीलाई केटाकेटी भनिन्छ’, उनले थपे, ‘युवाले पनि नेतृत्व गर्न सक्छन् भन्ने धारणा विकाश हुनुपर्छ ।’ पौडेलले युवा नेतृत्वमा आउनका लागि प्रतिष्पर्धामा आउन सक्नुपर्ने बताए ।