यस्तो पनि पेसा
कसैलाई अँगालो हालेर सुतिदिएकै भरमा आरामले जिन्दगी गुजार्न पुग्ने कमाइ हुन्छ भने यस्तो विधि को नअपनाउला ? हो, यस्तै एक नयाँ बिजनेस सुरु भएको छ न्युयोर्कमा । तर, यस बिजनेसको लाभ भने महिलाले मात्रै पाउनेछन्, किनकि अपरिचित पुरुषलाई निश्चित समय तोकेर स्नगलिङ (अँगालोमा बेरेर सुत्ने काम) गर्दै डलर असुल्ने अवसर महिलालाई मात्र उपलब्ध छ । यस्तो काममा संलग्न महिलालाई ‘कडलर’ (अँगालो मार्नेवाली) भनेर पुकारिन्छ भने अपरिचित पुरुषलाई अँगालोमा बेरेर बसिदिएबापत कडलरलाई घन्टाको झन्डै पचास डलर हात पर्छ । प्रायः पत्नीको मृत्यु भइसकेका पुरुष, सेवाबाट अवकाश पाएर पेन्सन खाँदै आएका व्यक्ति, पहिलोपटक महिलासँग अँगालिएर अनुभव बटुल्न खोज्ने युवक, सैनिक सेवामा रहेकाहरू र विभिन्न घरेलु समस्याबाट घेरिएका पुरुषले कडलरको सेवा लिन चाहन्छन् । यदाकदाचाहिँ कुनै महिलाले पनि कडलरको सेवा लिन चाहने गरेको पाइएको छ । स्नगलिङको दौरानमा कुनै अश्लील व्यवहार गर्न र अन्डरगार्मेन्टस्ले ढाकिएको शरीरका भाग (गोप्य अङ्गहरू)मा छुन मनाही गरिएको हुन्छ ।
भीआईपी बोकोको भाउ
एउटा बोकोको अधिकतम् मूल्य कतिसम्म होला ? बीस–तीस–पचास हजार या लाखसम्मको अनुमान लगाउन सकिन्छ । तर राजस्थान (भारत)का एक कृषकले आफ्नो एक बोकोलाई ग्राहकले ४८ लाख भारु दिँदा पनि मूल्य कम भयो भनी बेच्न मानेनन् । उक्त बोको खरिद गर्न खोज्नेहरू त प्रशस्तै थिए तर बोकोमालिकको भयङ्कर डिमाण्डले उनीहरूलाई तर्साउँथ्यो । उनी ६१ लाख भारुभन्दा कममा बोको बेच्न तयार थिएनन् । जम्मा अठार महिनाको उक्त बोकोमा त्यस्तो के विशेषता होला, जसलाई सौखिन व्यक्ति लाखौँ तिर्न तयार छन् भन्ने जिज्ञासा स्वतः जाग्न सक्छ । उक्त बोकोमा अन्य त्यस्तो विशेष कुनै गुण रहेको नभई उसका दुवै कानमा आश्चर्यजनक तवरले स्वस्तिक चिह्न बनेको छ । यत्तिकै भरमा त्यसलाई भीआईपी ट्रिटमेन्टका साथ पालिएको छ भने एसी रुममा बस्न रुचाउने स्वभाव भएको उक्त बोकोलाई खाना पनि ड्राइफुड मात्र खुवाइन्छ ।
वीर्यको बदलामा आइफोन
आइफोन भनेपछि हुरुक्कै हुने चिनियाँ नागरिकका लागि चीनको एक स्पर्म बैंक (वीर्य बैंक)ले गजबको अफर दिएको छ । सङ्घाईस्थित रेनजी अस्पतालले स्पर्मको बदलामा आइफोन–६ प्रदान गर्ने योजना अघिसारेको हो । उक्त अस्पतालले आफ्नो वेबसाइटमा पोस्ट गरेको छ कि कुनै पनि चिनियाँले अब आइफोन प्राप्तिकै लागि आफ्नो किड्नी बेच्नु पर्दैन, आफ्नो हेल्थ चेकअप पास गरेर वीर्य दान गरी सजिलै आइफोन हासिल गर्न सकिनेछ । आमचिनियाँमा रहेको आइफोनप्रतिको बढ्दो क्रेजलाई मध्यनजर गरी अघिसारिएको उक्त योजनामा वीर्यदान गर्ने प्रत्येकलाई आइफोन–६ खरिद गर्न आवश्यक ६ हजार युआन अर्थात् नौ सय ४० डलर प्रदान गरिनेछ । सन् २०१२ मा बेइजिङमा आइफोनको नयाँ मोडल लन्च गर्दा त्यो खरिद गर्न उर्लिएको भीड नियन्त्रण गर्न नसकी सुरक्षालाई नै कारण देखाएर आइफोनको बिक्री रोक्नुपरेको थियो ।
चालीस वर्षपछि पुग्यो पार्सल
हामीकहाँ हुलाकले देखाउने ढिलासुस्ती सामान्य कुरा मानिए पनि विकसित मुलुकमा हरेक निकायले ठीक समयमा काम गर्नुपर्ने व्यवस्था रहेको पाइन्छ । तर, आजको फास्ट–फरवार्ड युगमा पनि अस्ट्रेलियाजस्तो देशमा कुनै पार्सल गन्तव्यमा पुग्न ४० वर्ष लागेको घटना सार्वजनिक भएको छ । सिन्ह्वाले प्रकाशित गरेको एक समाचारअनुसार १९७० को मध्यदशकतिर मेलवर्नको एक टेनिस क्लबले एक सामान अर्डर गरेको थियो । तर, उक्त सामानको पार्सल कुरियर कम्पनीले हालै मात्र सम्बन्धित क्लबलाई डेलिभरी गरेको छ । भएछ के भने पठाउनुपर्ने सामानको बक्सा तत्कालिक कर्मचारीको लापरबाहीको कारण पार्सल कम्पनीकै एक कुनामा अलपत्र परेछ । त्यसयता उक्त सामानमाथि कसैको दृष्टि नै पुगेनछ । हालै कम्पनी नै स्थानान्तर हुने क्रममा मात्र उक्त सामान एक कुनामा अलपत्र भेटियो । त्यसमा अङ्कित गरिएको गन्तव्यको ठेगाना भने अहिलेसम्म पनि मेटिएको रहेनछ र उक्त सामान सम्बन्धित क्लबसम्म पुग्न पायो । अस्ट्रेलियन हुलाककर्मीप्रति व्यङ्ग्य गर्दै सम्बन्धित क्लबका अधिकारीले सामान बुझेका छन् ।
मातेपछि सडकमै यौन–तमासा
जतिसुकै खुला र स्वतन्त्र देश मानिए पनि अमेरिकामा सार्वजनिक स्थलमा यौैन गतिविधि गर्न कानुनले निषेध गरेको छ । तर, कानुनलाई धज्जी उडाउँदै एक महिलाले मानिसको भीडभाड रहने स्थानमा बीचसडकमै आफ्नो प्रेमीलाई आफूसँग यौनसम्पर्क गर्न बाध्य पारेर दुनियाँलाई तीनछक तुल्याएकी छिन् । घटना अमेरिकाको भर्जिनियास्थित नोर्फोल्कको हो । मदिराले लठ्ठ परेकी किम्बर्ले ज्याक्सन नामक ३६ वर्षीया महिलाले कार पार्किङमा उभिरहेका आफ्ना प्रेमी अर्ल पाल्मरलाई जबर्जस्ती आफूसँग यौनसम्पर्क गर्न लगाइन् । पैदलयात्रुहरू उनीहरूको क्रियाकलाप देखेर जिल्ल परे । तीमध्येका एकले प्रहरीलाई खबर गरेपछि बल्ल पुलिस आएर दुवैलाई अलग्यायो । पब्लिक प्लेसमा मदिरा पिएर सेक्स गरेको अभियोगमा पक्राउ गरिए पनि पछि सामान्य चेतावनी दिएर उनीहरूलाई छोडिएको थियो ।
प्रतिक्रिया