भारतले निर्माण गरेको ‘रेलवे यार्ड’ कमजोर र गुणस्तरहिन

भारतले निर्माण गरेको ‘रेलवे यार्ड’ कमजोर र गुणस्तरहिन


छिमेकी राष्ट्र भारतको सहयोगमा निर्माणाधिन ‘रेलवे यार्ड’ कमजोर र गुणस्तरहिन भएको खुलेको छ । विराटनगर महानगरपालिका वडा नं. १८ बुधनगरमा निर्माण भईरहेको ‘रेल्वे यार्ड’ गुणस्तरहिन भएकाले भत्कन थालेको हो ।

नेपालमा हुने विकास निर्माणमा आफ्नो संलग्नता देखाउन चाहने छिमेकी मुलुक भारतले जिम्मा लिएका विकास निर्माणको कार्य कुन हद्सम्मको कमसल हुन्छ भन्ने यही निर्माणाधिन पुर्बाधारले देखाएको छ । केही दिन अघि परेको वर्षाका कारण विराटनगर महानगरपालिका वडा नं. १८ बुधनगरमा रेल चल्ने लिकको मध्य भागमा बनाइएको नाला भत्किएको छ । यस्तै, निर्माण भएका पर्खालहरुको प्लाष्टर समेत पकपकी उप्किएको स्थानीयहरु बताउँछन् । हस्तान्तरण गर्ने प्रक्रियामा रहेको सो संरचनामध्ये १ सय ८० मिटर नाला भत्किएको छ । वर्षाका कारण नाला भत्किएको र चाडै नै बनाउने ठेकेदार कम्पनी इरकानले जानकारी दिएको छ ।


गुणस्तरहिन भएको प्रष्ट
भारत सरकारको करिब २ सय ३८ करोड भारतीय रुपैयाँमा बथनाहादेखि मोरङको कटहरीसम्म रेल्वेको संरचना बनाइएको हो । सो संरचनामध्ये केही संरचना अझै निर्माणकै चरणमा छन् । तर बुधनगरसम्म रेल्वे संचालनको प्रक्रिया थालिएको बेला नाला र पर्खालहरु नै भत्कन थालेपछि कमसल निर्माण गरिएको प्रष्ट भएको स्थानीय जनप्रतिनिधीहरु बताउँछन् । उनिहरुका अनुसार सम्झौता अनुरुप नै नेपालले जग्गा उपलब्ध गराउने र भारत सरकारले साढे १८ किलोमिटर रेलवे ट्रयाक, स्टेशन विल्डिङ, यात्रु प्रतीक्षालय र संयुक्त चेक प्वाइन्ट निर्माण गर्ने उल्लेख छ ।

नेपालस्थित रेलवे विभाग मौन
कमसल वस्तु र भौतिक पूर्वाधार निर्माण भइरहेको बारे नेपालको रेलवे विभाग भने मौन बसेको छ । आफ्नो क्षेत्रमा निर्माण भएका संरचनाको नियमित अनुगमन र मुल्याङ्कन नेपालस्थित रेलवे विभागले गर्नुपर्ने भएपनि विभाग भने कानमा तेल हालेर बसेको छ । विभागका एक अधिकारीले भने संरचना हस्तान्तरण अघि कुनै प्रतिक्रिया दिन नमिल्ने बताउँदै आएका छन् । हस्तान्तरण गर्नु अघि सबै भौतिक पूर्वाधारको गुणस्तर चेकजाँच पछि मात्र स्वामित्व लिने विभागको भनाई छ ।


अन्य पुर्बाधारको हातल पनि उस्तै
पछिल्लो समय भारतले नेपालमा सहयोगस्वरुप बनाइदिने र अन्य पुर्बाधारहरुको गुणस्तर खासै राम्रो पाँइदैन । जिम्मा लिएको दुई दशक वित्दा पनि हुलाकी सडक नबनाएर अल्मल्याएको भारतले धेरै विकास निर्माणका काममा पनि आफ्नो ‘नियत’ प्रष्ट रुपमा देखाउदै आएको छ । यसैको पछिल्लो उदाहरण बनेको छ विरानगरमा निर्माणाधीन रेल्वे यार्ड पनि । भारत सरकारले बनाइदिने संरचनाहरु कमसल हुन्छन् भन्ने पछिल्लो उदाहरणको रुपमा विराटनगरमा निर्माणाधीन रेल्वे यार्ड बनेको छ । यसबाट नेपाललाई हस्तान्तरण गरिने भौतिक संरचना कमसल, कमजोर र कम गुणस्तर हुन्छन की भन्ने आशंका गर्ने ठाउँ दिएको छ ।