धर्मको नाममा व्यापार हुँदा दुःख लाग्यो : टोर्बन

धर्मको नाममा व्यापार हुँदा दुःख लाग्यो : टोर्बन


interviewडेनिस चर्चमा उच्च पादरी रहिसकेका टोर्बन क्लामिन्सनले नेपाललाई हिन्दूराष्ट्र नबनाइएकोमा आश्चर्य प्रकट गरेका छन् । अध्ययनको लागि करिब दुई वर्षअघि यहाँ आएका सत्तरी वर्षीय टोर्बनले धर्मनिरपेक्ष स्वीडेनमा त्यहाँका मौलिक धर्म, संस्कृति, परम्परा र ऐतिहासिक चर्चहरूको समेत रक्षा हुन नसकेको, तर आफ्नो मुलुक डेनमार्क घोषित रूपमै क्रिश्चियन राष्ट्र भएकोले त्यहाँ धर्म, संस्कृति र मानवता जोगिएको बताएका छन् । उनको भनाइ छ, ‘नेपालले विश्वको एउटै मात्र हिन्दूराष्ट्रको पहिचान कायम गर्न सकेको भए त्यसबाट सबभन्दा लाभान्वित पनि नेपाल नै हुने थियो ।’ हिन्दूराष्ट्र बनाएपछि त राजा पनि फर्कने थिए नि होइन र ? भन्ने हाम्रो प्रश्नको जवाफ दिँदै टोर्बनले भने, ‘नेपालको राष्ट्रियता सबल बनाउन राजसंस्थाले रामै्र भूमिका निर्वाह गर्दै आएजस्तो लाग्छ मलाई । राजसंस्था फर्किँदा पनि नेपालीलाई नै राम्रो हुने त हो । मैले तीन प्रमुख दलका एक मुख्य नेतासँग केही महिनाअघि सेरमनिएल राजसंस्था नेपालको लागि आवश्यक देखिन्छ भन्दा उनले मुस्ताङ्गी राजालाई सेरमनिएल बनाएर पुनस्र्थापित गर्न सकिन्छ भनेका थिए । बाइसे–चौबीसे राज्यहरूलाई एकीकृत गरेर पृथ्वीनारायण शाहले नेपाल बनाएका हुन्, हिमाल, पहाड र तराई नै नेपाल हो र विविधतालाई जोडेर यो देश बनाइएको हो, तर अहिले छुट्याइँदै छ । म विदेशी नागरिक भएकोले धेरै बोल्नु उचित होइन, तर हिन्दूराष्ट्र बनाइएको भए रामै्र हुने थियो भन्नेचाहिँ लाग्छ ।’
० के राम्रो हुन्थ्यो ?
– मलाई लाग्छ अब हिन्दू मूल्य, मान्यता र संस्कृति सङ्कटमा पर्छ । स्वीडेनले जस्तै नियति भोग्नुपर्छ कि जस्तो लाग्दै छ । हामीले हाम्रो धर्म, संस्कृति र परम्पराको रक्षा गरेका छौँ, स्वीडेनले सकेन । धर्मनिरपेक्षताले भौतिक सुखसुविधालाई प्राथमिकता दिन्छ । बङ्गला, गाडी आदिलाई नै ईश्वर–भगवान् मान्ने स्थितिमा मानिसलाई पु-याइदिन्छ । नेपाल आफ्नो मौलिक धर्ममा अड्न सक्दा धेरै राम्रो हुन्थ्यो भन्ने मेरो विचार हो । विश्वमा बेग्लै पहिचानसहित नेपाल बाँचेको हुन्थ्यो ।
० युरोपियन युनियन र कैयन इसाई मुलुकले नेपाललाई धर्मनिरपेक्ष बनाउन यथेष्ट सहयोग गरेका हुन्, तर तपाईं इसाई धर्मको उच्च पादरी रहिसकेको व्यक्तिचाहिँ नेपालले हिन्दूराष्ट्रको पहिचान गुमाएकोमा चिन्ता व्यक्त गर्दै हुनुहुन्छ, किन ?
– म नेपाललाई माया गर्छु । यहाँको धर्म, संस्कृति, परम्परालाई सम्मान र माया गर्छु । विश्वको नक्सामा नेपालको मानचित्र सधैँ बेग्लै पहिचानका साथ रहिरहोस् भन्ने चाहन्छु । धर्म भनेको धर्म नै हो, कुनै पनि धर्मले मानिसलाई गलत काम गर्न निषेध गर्दछ । हिन्दूधर्म अत्यन्त समृद्ध धर्म भएको मलाई थाहा छ, त्यसैले मैले हिन्दूराष्ट्रको पक्षमा मत जाहेर गरेको हुँ । म पक्का क्रिश्चियन धर्मावलम्बी हुँ र आफ्नो धर्मलाई म माया गर्छु, आस्था र विश्वास राख्छु । म धार्मिक व्यक्ति भएकैले अर्को धर्मलाई पनि उत्तिकै सम्मान गर्छु । यहाँ धर्मको नाममा व्यापार भइरहेको देख्दा असाध्यै दुःख लाग्छ । कुन देश या समुदायले के गरिरहेका छन् भन्ने नेपाली जनताले पनि बुझ्नुपर्छ र बुझेका पनि छन् जस्तो लाग्छ । जसले नेपालको मौलिक धर्म र परम्परालाई कमजोर बनाउन चाहेका छन् तिनलाई म ठीक भन्न चाहन्न ।
० त्यसो भए अहिले नेपालमा जस्तो प्रकारको संविधान ल्याइयो यो ठीक भएन भन्ने तपाईंको विचार हो ?
– म को हुँ र ठीक भयो या भएन भन्ने ? राजनीतिक दलका नेताहरूले जनता बलियो बनाइयो भनेका छन्, साँचो प्रजातन्त्र ल्याइयो भनेका छन्, तर जनताको मत (जनमत) नलिईकन जनताको संविधान बनाइयो, त्यसनिम्ति म प्रचण्डलाई धन्यवाद भन्न चाहन्छु । डा. शेखर कोइराला र खुमबहादुर खड्काहरूले हिन्दूराष्ट्र बनाउन कोसिस गरेका हुन्, तर के कारणले हो, उहाँहरू सफल हुनुभएन ।
० अब नेपालको भविष्य कस्तो देख्नुहुन्छ तपाईं ?
– नेपालीको एकताले मात्र नेपाल समृद्ध हुने हो, एकता हुने हो कि होइन आफैँ बुझ्नुहोस् । यहाँ राजनीतिकर्मीहरूको सङ्ख्या अलिक बढी भएको हो कि जस्तो मलाई लाग्दै छ । यहाँ सबै कुरा जनताको नाममा हुने गरेको छ, तर जनता सबभन्दा दुःखी र पीडित देख्छु म । राजा या राष्ट्रपति जे भए पनि जनताकै विश्वासको आधारमा हुने हुन् । सुशील कोइराला, केपी ओली, प्रचण्ड या राजाले ‘राष्ट्रपिता’को भूमिका निर्वाह गर्न सक्दा देशलाई रामै्र हुने देख्छु म । नेपालको भविष्य ईश्वरको हातमा छ, अब कुनै ठूलो भूकम्प नआओस् भन्ने चाहन्छु । कुनै पनि ठूला निर्णय जनमतसङ्ग्रहमार्फत लिनु वेश हुन्थ्यो, किन सीमित नेताहरूले हतार–हतारमा ठूलठूला निर्णय लिने गरेका हुन् मैले बुझ्न सकिरहेको छैन । जनताको विश्वास लिएर संविधान ल्याइएको भए देशको भविष्य सुन्दर हुनसक्थ्यो ।
० त्यसो भए यो संविधानले जनताको भावना प्रतिनिधित्व गरेको छैन हो ?
– म त्यसरी भन्न असमर्थ छु । तर, नेपाल फर्कने क्रममा मैले कतारको विमानस्थलमा केही नेपाली युवाहरूलाई भेटेको थिएँ । उनीहरूचाहिँ संविधानबाट खुसी भएको मैले पाइनँ । जनताले स्वामित्व लिने प्रकारको संविधान आएको भए राम्रो हुने हो ।