राष्ट्रिय खेलकुदको इतिहासमै पहिलोपटक प्याराग्लाइडिङको प्रतिस्पर्धा हुँदै

राष्ट्रिय खेलकुदको इतिहासमै पहिलोपटक प्याराग्लाइडिङको प्रतिस्पर्धा हुँदै


आसन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ कुल ५५ जना खेलाडीको सहभागिता रहने भएको छ । आठौँ राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ खेल गण्डकी प्रदेशको राजधानी पोखरामा वैशाख ६ गते बाट शुरु हुनेछ । नेपालको राष्ट्रिय खेलकुदको इतिहासमा नै पहिलोपटक प्याराग्लाइडिङ खेल हुने भएको हो ।

कुल ६ वटा स्वर्ण पदकका लागि विभागीय टोली नेपाली सेना र प्रदेशका तर्फबाट ४६ पुरुष र ९ महिला खेलाडी भिड्ने नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) का महासचिव शैलेन्द्र राउतले बताए ।

प्याराग्लाइडिङतर्फ दुई विधा क्रसकन्ट्री र एक्युरेसी गरी प्रतियोगिता सञ्चालन हुनेछ । जसमा पुरुष खेलाडीतर्फको एक्युरेसीमा टिम एक्युरेसी र इन्डिभिजुअल एक्युरेसी र क्रसकन्ट्रीतर्फ टिम क्रसकन्ट्री र इन्डिभिजुअल क्रसकन्ट्री सञ्चालन हुने महासचिव राउतले बताए । यता महिलातर्फ भने इन्डिभिजुअल क्रसकन्ट्री र इन्डिभिजुअल एक्युरेसीमा खेलाडी भिड्नेछन् ।

प्याराग्लाइडिङमा प्रदेश १ बाट ९ जना, प्रदेश ३ बाट ११ जना, गण्डकी प्रदेशबाट १३ जना, कर्णाली प्रदेशबाट ४ जना र सुदूरपश्चिम प्रदेशबाट ४ जना रहेका छन् भने विभागीय टोली नेपाल आर्मीबाट १४ जना रहेका छन । प्रदेश २ र ५ बाट भने प्याराग्लाइडिङमा कुनै पनि खेलाडी मैदानमा छैनन् ।

यसपटक प्याराग्लाइडिङ प्रतिस्पर्धामा विभागीय टोली नेपाल आर्मीले पुरुषतर्फ १० र महिला ४ गरी १४ जनाको टिम तयार गरेको छ । नेपाल आर्मीबाट प्रतिस्पर्धामा रहेका पुरुष २ जना खेलाडी भने १८औँ एसियाडमा रजत पदक विजेता खेलाडी रहेका छन् । एसियाड रजत पदक विजेता विशाल थापा र विजय गौतम भने नेपाल आर्मीबाट प्रतिस्पर्धामा उत्रनेछन् ।

युवा खेलाडी युकेस गुरुङ र सुशील गुरुङले गण्डकी प्रदेशबाट खेल्नेछन् । १८औँ एसियाडमा सहभागी महिला खेलाडी सबिता तामाङ, प्रतिभा भुजेल र त्रिशा श्रेष्ठ बमजनले गण्डकी प्रदेशबाट नै सहभागिता जनाउनेछन् । तर, एसियाड पदक विजेता तथा टिम कप्तान विमल अधिकारीले आठौँ खेलकुदमा निर्णायकको भूमिकामा रहने महासचिव राउतले बताए । प्याराग्लाइडिङ खेल वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ ।