श्रीविक्रम भण्डारी
०७३ मंसिर १४ गते विवादास्पद रूपमा सम्पन्न अखिल नेपाल टेबुलटेनिस संघको निर्वाचनलाई उच्च अदालत पाटनले अवैधानिक भएको फैसला सुनाएको छ । उच्च अदालत पाटनले मन्त्रीस्तरीय निर्णयअनुसार ०७३ मंसिर १४ गते भएको टेटेको निर्वाचनलाई अवैधानिक भएको निर्णय गरेको हो । उक्त निर्णय माननीय न्यायाधीश रेशमबहादुर थापा र अग्निप्रसाद थपलियाको संयुक्त इजलासले गरेको हो । उच्च अदालतले उक्त फैसला ०७४ फागुन ८ गते गरेको हो ।
वृजेन्द्र हमाल अध्यक्ष रहेको टेबुलटेनिस संघले चतुरानन्द अध्यक्ष बनेको टेबुलटेनिस संघको निर्वाचन अवैधानिक भएको भन्दै ०७४ साल जेठ ७ गते युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदमा निवेदन दर्ता गरेको थियो । निवेदनमा हमाल अध्यक्ष रहेको संघले वैधानिक रूपमा निर्वाचित अखिल नेपाल टेटे संघ हुँदाहुँदै अवैधानिक रूपमा दोहोरो निर्वाचन भएको भन्दै चतुरानन्दको संघलाई खारेज गर्न मन्त्रालय र राखेपमा निवेदन दर्ता गराएको थियो ।
सो निवेदनपश्चात् ०७४ असोज ९ गते मन्त्रीस्तरीय निर्णयअनुसार छानबिन समिति गठन भएको थियो । त्यसपछि उक्त छानबिन समितिको ०७४ पुस १४ को प्रतिवेदनअनुसार कानुनसम्मत गर्नू–गराउनू भनी मन्त्रीस्तरीय निर्णयअनुसार ०७४ माघ १२ गते राखेपलाई निर्देशन दिएको थियो ।
मन्त्रीस्तरीय निर्णयअनुसार त्यसपछि बसेको राखेपको ९०औँ बोर्ड बैठकको निर्णयअनुसार बहुमत प्रतिनिधि सदस्यको लिखित प्रस्तावबाट मात्र राष्ट्रिय संघको निर्वाचन तथा साधारणसभा स्थगित हुनेछ भन्ने निर्णय भएकोमा निर्वाचन समितिमा उक्त निर्वाचनको स्थगित गर्नुपूर्व सो किसिमको कुनै प्रस्ताव संघबाट लिखित रूपमा आएको थिएन ।
त्यस्तै दोस्रो बुँदामा टेटे संघको विधान ०६४ को परिच्छेद (संघको स्थापना र उद्देश्य) ९ मा क्षेत्रीयस्तर तथा जिल्लास्तरमा संघको स्थापना गर्दा कार्यसमितिको स्वीकृतिमा मात्र गठन गरिने प्रस्ट रूपमा उल्लेख छ । तर, थप गठन भएका १४ जिल्लाको हकमा संघको उक्त विधानअनुरूप गठन भएको देखिँदैन । त्यसैले ०७३ मंसिर १४ गते गरिएको संघको निर्वाचनमा उक्त १४ जिल्ला समावेश भएको व्यहोरा मन्त्रालयले जानकारी गराउँदै ०७४ माघ १४ गते कानुनसम्मत गर्न–गराउन भनी राखेपलाई निर्देशन दिएको थियो ।
स्मरणीय छ, मन्त्रालयको निर्देशन राखेपले कार्यान्वयन नगरेपछि हमाल अध्यक्ष रहेको अखिल नेपाल टेबुलटेनिस संघले उच्च अदालत पाटनमा मन्त्रीस्तरीय निर्णय कार्यान्वयन गर्न–गराउनका लागि निवेदन दिएको थियो । सो निवेदनको आधारमा उच्च अदालत पाटनले ०७३ मंसिर १४ गते गरिएको टेबुलटेनिसको निर्वाचन अवैध भएको निर्णय गरेको छ । साथै यो निर्णयअनुसार राखेपद्वारा गरिएको निर्वाचनबाट निर्वाचित अध्यक्ष चतुरानन्द वैद्य अध्यक्ष रहेको टेटे संघलाई कानुनसम्मत संघको कुनै पनि कार्य गर्न नपाउने र गरेको खण्डमा अदालतको मानहानि हुने देखिन्छ ।
प्रतिक्रिया