त्रिवेणी स्पेनिङ्ग मिल्समा आगलागी, १६ करोडको क्षति

त्रिवेणी स्पेनिङ्ग मिल्समा आगलागी, १६ करोडको क्षति


बारास्थित त्रिवेणी स्पेनिङ्ग मिल्स प्रालिमा आगलागी हुँदा १६ करोडको क्षति भएको छ ।
जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका छातापिपरास्थित सो उद्योगमा आईतवार राती आगलागी भएको हो । उद्योगमा रहेको मोटरमा विद्युत सर्ट हुँदा आगलागी भएको बुझिएको छ । आगलागीलाई करिब साँढे चार घण्टाको प्रयासपछि नियन्त्रणमा लिईएको हो ।

वारुणयन्त्रको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र उद्योगमा कार्यरत मजदुरले को आगो नियन्त्रणमा लिएका थिए । जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, नेपाल आयल निगम आमलेखगंज, चन्द्र नगरपालिका रौतहट, सिम्रौनगढ नगरपालिका, पोखरिया नगरपालिका र बिरगंज महानगरपालिकाको तीन वटा गरी ९ वटा वारुणयन्त्रले आगो निभाइएको हो । आगलागीका कारण उद्योगको भौतिक संरचना, मिक्सिङ्ग मेशिन, ब्लेन्डिङ्ग मेशिन, एमबिओ मेशिन, एमओ मेशिन र कच्चा पदार्थहरु पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।

आगलागीबाट १४ करोड रुपैयाँ मूल्य बराबरको मेशिनरी, भौतिक संरचना र करोडौं रुपैयाँ बराबरको कपास लगायतका कच्चापदार्थहरु जलेर नष्ट भएको त्रिवेणी स्पेनिङ्ग मिल्स प्रालिका प्रशासकिय अधिकृत प्रेमकुमार सिंहले बताए ।

यसैबिच उद्योगमा कार्यरत निरजकुमार सिंह सख्त घाईते भएका छन् । आगो निभाउने क्रममा करिब ४० फिट माथिबाट तल झर्दा उनको दाहिने हाँत भाच्चिएको छ भने कम्मरमा गम्भिर चोट लागेको छ । उनको बिरगञ्जस्थित गण्डक हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।