ब्ल्याक एन्ड ह्वाइटभन्दा माथिका कथाहरू

ब्ल्याक एन्ड ह्वाइटभन्दा माथिका कथाहरू


-दीपकमणी ‘दाजुभाइ’
पछिल्लो समय नेपालबाहिर नेपाली भाषामा केही न केही काम भइरहेको छ । विभिन्न सन्दर्भमा विदेश पुगेका नेपाली पछिल्ला दिनहरूमा भाषा-साहित्यको सेवामा लागेका छन् । विदेश पुगेको सुरुका एक-दुई वर्ष पैसा कमाउन उद्यत् हुने उनीहरू एउटा स्तर निर्माण गरिसकेपछि आफ्नो भाषाको मायामा उत्रिएको पाइन्छ । यस अर्थमा पनि विदेशी भूमिमा भइरहेको भाषा-साहित्यको कामलाई सकारात्मक रूपमा लिनुपर्छ- यी सब सतही कुरा हुन् । भन्नका लागि भनिएका कुराहरू ।
सत्य र गम्भीर कुरा त के हो भने पछिल्लो समय नेपालबाहिर पनि नेपाली भाषाका उत्कृष्ट कृति सिर्जना भएका छन् । नपत्याउँदो किसिमले विदेशमा बसेका नेपाली स्रष्टाहरूले सवल रचनाहरू सिर्जना गरेका छन् । जसका कारण नेपालबाहिरको नेपाली साहित्यले पनि साहित्य विकासमा महत्त्वपूर्ण टेवा पुर्‍याएको विश्वास गर्न सकिन्छ ।
सन्दर्भ हो सञ्जु बजगाईं र उनको कृति समुद्र र सपनाको । सञ्जु बेल्जियममा बस्छिन् । उतै काम गरि्छन् र उतै बसेर नेपाली भाषा-साहित्यलाई माया गर्दै सम्मानका साथ अध्ययन गरिरहेकी छिन् । उनले त्यहीँ बसेर लेखेका कथाहरूको संगालो समुद्र र सपना नपत्याउँदो किसिमले राम्रो बनेको छ । यहाँ बसेर दुई-चार समालोचकको गुलामी गरेर कथाकार बनेकाको भीडमा सञ्जुले सिर्जनाको शक्तिको सीमाहीनतालाई पुन: एकचोटि प्रस्ट पारेकी छिन् । उनले कथामा कुनै प्रभाव र अनुसरणभन्दा पनि आफ्नैपन विकास गरेकी छिन् । त्यही भएर पनि सञ्जुका कथा थप शक्तिशाली बनेको हुन् भन्ने हाम्रो ठम्याइ छ । कथामा उनले प्रयोग गरेको भाषाशैली मजबुत छ, प्रिय छ । र, आमपाठकका लागि पनि सहज हुने खालको छ ।
कथा साहित्य सर्वाधिक पढिने र गैरसाहित्यिकहरूलाई पनि बाँधिराख्न सक्ने शक्तिशाली विधा हो । पछिल्लो समय सामर्थ्यवान लेखकको प्रवेश भइरहेको नेपाली कथा साहित्यमा सञ्जुको जब्बर उपस्थिति उपलब्धिमूलक मान्नुपर्छ । त्यसो त कथा साहित्यमा पछिल्लो समय नयाँ लेखकको उपस्थिति नामका हिसाबले मात्र होइन नयाँ लेखन र नयाँ विषयका सन्दर्भमा पनि शक्तिशाली सावित हुँदै गएको छ । र उनीहरूले प्रयोग गन नयाँपन र नयाँ शैलीका कारण कथा साहित्य गहकिलो पनि बन्दै छ ।
यही क्रममा कथाकार सञ्जु बजगाईंको नवीनतम् कथासङ्ग्रह समुद्र र सपना बजारमा आएको छ । मानिसको जीवन, त्यस जीवनले डोहोर्‍याउने सपना र पूरा नभएका ती सपनाले मानिसमा ल्याउने विचलन र उदासीलाई कथामा सुन्दर तरिकाले बुनिएको छ । सञ्जुका कथाले मुलुकको भौतिक सिमानालाई मात्र नाघेको छैन मानिसका सपनामा आएको विविधता र मानिसका ती विविध सपनाले निम्त्याएका नयाँ दु:खहरूलाई पनि समेटेको छ । उनी मान्छेका अन्तरनिहित रंगहरूसँग परिचित छिन् । मानिस एउटै रंगमा मात्र जिउन सक्दैन या मानिसको ब्ल्याक एन्ड ह्वाइटभन्दा माथि बहुरंगी छ भन्ने सत्यसँग सञ्जु परिचित छिन् । उनका कथा मानिसको यही बहुरंगी जीवनको तस्बिर पनि हुन् ।
मानवीय संवेदना र रूपान्तरित जीवनशैलीको शक्तिशाली दस्तावेज हो- समुद्र र सपना । यसमा मानिसका सपना र जीवनयापनका क्रममा मानिसले पाउने सफलतासँगैका दु:खहरूलाई सरल रूपमा अझ भनौँ व्यवस्थित रूपमा उतारिएको छ । सञ्जुका कथाले मानिसलाई सम्बोधन गरेको छ । मानिसका पीडा, खुसी र मानिसका रहरहरूको पेरिफेरिमा सम्पूर्ण कथाहरू घुमेको छ । समुद्र र सपना पढिसकेपछि लाग्छ, सञ्जुको पुग्ने ठाउँ मानिस नै हो । मानिसभन्दा पर सञ्जुलाई पुग्नु पनि छैन ।
नेपालबाहिर रहेर नेपालभित्र र बाहिरका सन्दर्भहरूलाई जसरी कथामा उतारिएको छ, त्यसले कथामा थप सौन्दर्य प्रदान गरेको छ । मानिसमा थपिँदै गएको पीडाको एकपछिका अनुहार र ती अनुहार बोकेर मानिसले गरेको अनवरत सङ्घर्ष कथाको भावभूमि हो ।
सञ्जु आफैंमा महिला भएकोले पनि होला उनले कथामा महिलाका समस्यालाई अझ जीवन्त रूपमा उतारेकी छिन् । त्यसो त सञ्जुले आफ्ना सबै कथाहरूमा पात्र र सन्दर्भमाथि न्याय गरेकी छिन् । उनका सबै कथामा सहज र सुखद जीवनको पक्षमा वकालत गरेकी छिन् । मानिसलाई चाहिने खुसी हो मात्र खुसी हो भन्ने कुरा व्यक्त गरेकी छिन् । उनको कथाको सुन्दर पक्ष पनि यही हो । उनी कथामा बलजफ्ती ठूला सन्दर्भ र घटना जोड्दिनन् । त्यही भएर पनि कथाहरू ज्यादा पठनीय भएका छन् ।
सञ्जुको समुद्र र सपनामा जम्मा १५ कथा छन् । प्रत्येक कथामा भिन्न प्रस्तुति र पृथक शैलीको अनुशरण गरिएको छ । सञ्जुको नारी चेतना सङ्लो छ । अरूभन्दा भिन्न । नारी पीडामा आएको विविधिकरण कथाको अर्को पठनीय पक्ष हो ।
ड्यासपोरिक चेतनासँग सञ्जुका लेखनहरू अघि बढेका छन् । उनका प्रत्येक कथामा बिदेसिने नेपालीका पीडाहरू, बिदेसिएपछिका सुखद र सहज पक्षहरू र बिदेसिनुसँगै छातीमा हुर्किएको राष्ढ्रियता कथामा प्रशस्त अनुभव गर्न सकिन्छ । समुद्र र सपना, गुलाबी फ्रक, मार्गरेट र मेरी आमा, पपेट, सम्बन्धको दूरी सङ्ग्रहका अब्बल कथाहरू हुन् । त्यस्तै आत्महत्याको शृङ्खला, विद्रोह, एम्बुस, क्रसरोड र बन्द झ्यालले सङ्ग्रहमा विविधता थपेको छ। इष्र्या, ग्यासच्याम्बर छेउबाट ले नारीका भिन्न पीडालाई एक साथ उन्ने प्रयास गरिएको छ । फेरि उही सपनामा नारीहरूकै पीडा र अवस्था छ तर भिन्न स्वरूपमा ।
सञ्जुको कथाको विषय मानिस हो । अझ त्यसमा पनि महिला हो । तर, उनले पुरुषलाई खराब देखाएर नारीवादी हुने दुस्प्रयास गरेकी छैनन् । प्रत्येक पात्रप्रति सञ्जुले स्वाभाविक सम्बन्ध स्थापित गरेकी छिन् । सबैलाई उनीहरूकै व्यवहार र स्वभावका आधारमा सम्बोधन गरिएको छ ।
कथाको क्षेत्रमा नवीन विषय र सहज कथाको सुन्दर कृति आएको छ- समुद्र र सपना । नपत्याउँदो किसिमले सामान्य देखिने तर गहिराइयुक्त कथाहरूको सङ्कलन नै हो सञ्जुको- समुद्र र सपना । यस सङ्ग्रहले नेपाली कथाको क्षेत्रमा एक सम्भावनायुक्त लेखिकाको उपस्थितिलाई प्रस्ट पारेको छ । हामी सञ्जुको कथायात्रालाई सुखद सम्भावनाको रूपमा लिन सक्छौँ ।