सरकारले प्रतिबन्ध लगाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीप्रति रुष्ट बनेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी वैशाख ५ गते नेपाल बन्दको आह्वान गरेको छ । आफ्ना नेता एवम् कार्यकर्ताप्रति धरपकड अभियान चलाएको भन्दै सो पार्टीले प्रधानमन्त्री ओलीलाई लक्षित गरेर थप कार्यक्रम तय गरिएको पनि जनाएको छ ।
सोमबार एक प्रेस विज्ञप्ति जारी गरेर नेकपाका महासचिव विप्लवले ‘सामाजिक दलालहरूलाई प्रतिबन्धित गर्ने’ भन्दै ०७६ वैशाख ६ गतेबाट प्रधानमन्त्री खड्गप्रसाद ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रमहरूमा बन्दको आयोजना गरिने जनाएका छन् ।
यस्तै, चैत २६ देखि २९ गतेसम्म पार्टीमाथिको प्रतिबन्धविरुद्ध पर्चा वितरण र भण्डाफोरको कार्यक्रम सञ्चालन गरिने र आगामी वैशाख २ गते कोणसभा, ३ गते अन्तरक्रिया, ४ गते मशाल जुलुस र वैशाख ५ गते नेपाल बन्द गरिने विप्लवले घोषणा गरेका छन् ।
विप्लवद्वारा जारी विज्ञप्तिमा थप भनिएको छ– ‘नेपाली जनक्रान्ति र राष्ट्रिय राजनीतिमा एउटा ‘मजाक’को प्रतिनिधि केपी ओली र पिके दाहालले नेतृत्व गरेको कथित नेकपा (नेकपा)को ओली सरकारले नेपाली स्वाभिमानी एवम् श्रमजीवी जनताको प्रतिनिधि हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी र यसका राजनैतिक एवम् जनसेवाका कार्यक्रममाथि गत फाल्गुण २८ गते राती अङ्कुश लगाउने निर्णय गऱ्यो । त्यसपछि लगत्तै ओली सरकारले फरमान जारी गऱ्यो कि ३५ दिनको हदम्यादभित्र आत्मसमर्पण गर, नत्र ७७ वटै जिल्लामा चारवटै सुरक्षा निकायको परिचालनमा अप्रेशन चलाएर नियन्त्रण गरिने छ । त्यसका निम्ति सुरक्षा निकायलाई नेपाल कम्युनिष्ट पार्टीका नेता र कार्यकतालाई गोली हान्ने आदेश समेत दिइसकिएको छ ।’
‘गाउँमा सुरक्षा निकायको अप्रेशनको आतङ्क छ । ओली सरकार र रामबहादुर थापा गृहप्रशासनको हाम्रो पार्टी र नेपाली जनताको क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापविरुद्धको फासीवादी फौजी दमन र अफवाहपूर्ण प्रचारबाजीको हाम्रो पार्टी घोर निन्दा एवं भत्सर्ना गर्दछ ।’
प्रतिक्रिया