१० अंक घट्यो नेप्से

१० अंक घट्यो नेप्से


लगातार उकालो लागेको शेयर बजारमा मंगलबार भने शेयरको मूल्य दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८२ बिन्दुले घटेर एक हजार १८०.८६ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.१९ बिन्दुले घटेर २५२.८१ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । कुल १७१ कम्पनीको २७ लाख ३९ हजार ६८९ कित्ता शेयर रु. ७१ करोड ७१ लाख ४७ हजार २७४ मूल्यमा खरिद–बिक्री भए । कारोबार भएका दशवटै उपसमूहको सेयर घटेको छ । बैंकिङ ९.६, होटेल ०.९१, विकास बैंक ५.४८, जलविद्युत् ७.९, वित्त ०.५८, निर्जीवन बिमा ९३.६१, उत्पादन ३६.३२, अन्य २.७५, लघुवित्त १४.५८ र जीवन बिमा ८३.०२ बिन्दुले घटेको छ ।

कारोबारका आधारमा मंगलबार कुमारी बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु. पाँच करोड ७७ लाख ७९ हजार १६५, नेको इन्स्योरेन्स रु. पाँच करोड ७५ लाख ४९ हजार ५०६, एनआईसी एसिया रु. चार करोड ९९ लाख १९ हजार ३६१, गरिमा विकास बैंक लिमिटेडको संस्थापक शेयर रु. तीन करोड ८४ लाख ६७ हजार १५५, नेपाल बैंक लिमिटेड रु. तीन करोड ७२ लाख ३५ हजार ४२, एनएमबी बैंक रु. तीन करोड ३८ लाख २६ हजार ७६५ र नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक रु. दुई करोड ५६ लाख १३ हजार २१५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले ९.५२ प्रतिशतले कमाएका छन् । उन्नति माइक्रोफाइनान्स ५.८८, सिन्धु विकास बैंक ५.४७, आँखु खोला जलविद्युत् कम्पनी ३.८५, रिलायन्स फाइनान्सका शेयरधनीले २.५६ प्रतिशत कमाए । यस्तै जोशी हाइड्रोपावर ८.१२, घलेम्दी ८.१०, एनएमबी माइक्रोफाइनान्स ७.०४, पञ्चकन्या माई हाइड्रोपार ६.०३ र शिवम् सिमेन्टका शेयरधनीले ५.७७ प्रतिशतले गुमाए ।