राप्रपाको ऱ्यालीमा गरिएको सरकारी दमनको कांग्रेसद्वारा भत्सर्ना

राप्रपाको ऱ्यालीमा गरिएको सरकारी दमनको कांग्रेसद्वारा भत्सर्ना


राष्ट्रिय प्रजातन्त्र पार्टीको सोमबार भएको शान्तिपूर्ण ऱ्यालीमा प्रहरीले हस्तक्षेप गरेको भन्दै त्यसप्रति पार्टीको ध्यानाकर्षण भएको नेपाली काङ्ग्रेसले जनाएको छ । ऱ्यालीका सहभागीलाई मात्र नभएर सडकमा आवतजावत गर्ने सर्वसाधारणलाई समेत प्रहरीले लाठीचार्ज गरेको भन्दै काङ्ग्रेसले आपत्ति प्रकट गरेको हो ।

काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति जारी गर्दै सरकारले स्वतन्त्र र शान्तिपूर्ण ढङ्गले आफ्नो माग राख्न पाउने नागरिकको संविधानप्रदत्त हक अधिकारलाई खोस्ने कार्य गरेको आरोप लगाउँदै भत्सर्ना गरेका छन् ।

‘कुनै पार्टीसँग हाम्रो विचारमा असहमत हुन सक्छ, तर कसैको स्वतन्त्रता माथि अंकुश लगाउने कार्यप्रति काङ्ग्रेस सदैव विरोध गर्दछ । प्रदर्शनको क्रममा प्रहरीको दमनबाट घाइते भएका व्यक्तिहरुको काङ्ग्रेस संसदीय दल शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ’ नेता खाणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

ज्ञातव्य छ, राप्रपाले सोमबार हिन्दुराष्ट्रको पुनर्स्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, चर्को मूल्यवृद्धि नियन्त्रणलगायतका माग राखी राजधानीमा शान्तिपूर्ण धर्ना कार्यक्रम गर्दा लाठीचार्जसहितको व्यापक दमन गरिएको थियो ।