राप्रपाका महामन्त्री एवं सो पार्टीका तर्फबाट निर्वाचित संघीय संसदका एक मात्र सांसद राजेन्द्र लिङ्देनलाई अमुक व्यक्ति वा समुहबाट ज्यान मार्ने धम्की दिएको घटनालाई राप्रपाले अत्यन्तै गम्भीरतापूर्वक लिएको जनाइएको छ । केही दिनयता नेता लिङ्देनको हत्या गर्न रकम बुझिसकेको भन्दै एक व्यक्तिले निरन्तर धम्क्याइरहेको सन्दर्भले यतिबेला राप्रपा एवम् राजनीतिक वृत्तमा सनसनी मच्चाएको छ ।
राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै आपराधिक कार्यमा संलग्नहरुले योजनाबद्ध ढंगबाट श्रृङखलागत रुपले सतर्कतापूर्वक धम्की दिइरहेको घटनाको सन्दर्भ पैसासँग मात्रै सम्बन्धित नरहेर राजनीतिक वा अन्य कारण पनि हुन सक्ने भएको उल्लेख गरेका छन् ।
यस घटनाको मिहीन ढंगबाट छानबिन गरी पक्राउ परेका व्यक्तिबाट सत्यको उजागर गर्न, वास्तविक दोषी पत्ता लगाउन घटनाको जरासम्मै पुगेर अनुसन्धान गर्ने कार्यलाई निरन्तरता दिन र दोषीलाई कडा भन्दा कडा कारबाही गर्न नेपाल सरकार र व्यक्तिगत रुपमा प्रधानमन्त्रीसँग राप्रपाले जोडदार माग गरेको छ ।
यसैबीच राप्रपाका सांसद राजेन्द्र लिङदेनलाई धम्काउँदै पैसा माग्ने व्यक्ति मंगलबार पक्राउ परेका प्रहरीले जनाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तिलक पराजुली नामका व्यक्तिलाई पक्राउ गरेको हो । लिङदेनसँग पैसा माग्दै धम्काउने व्यक्ति पराजुली नै रहेको प्रहरीको ठहर छ ।
प्रहरीका अनुसार मेनपावर एजेन्ट पराजुलीले अन्य दुई महिलालाई समेत धम्काएको अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया