नेपाली काङ्ग्रेसले बनाएको नयाँ विधानप्रति उक्त पार्टीका जिल्ला कोषाध्यक्षहरूको गम्भीर असहमति रहेको छ । खासगरी निर्वाचनद्वारा कोषाध्यक्षहरूको चयन हुने प्रावधान बदलेर मनोनयनद्वारा पदपूर्ति गर्ने व्यवस्था गरेकोप्रति उनीहरूको असहमति रहेको हो ।
चैत २८ र २९ गते पोखरामा हुने जिल्ला कोषाध्यक्षहरूको तेस्रो राष्ट्रिय सम्मेलनले मनोनयनको उक्त प्रावधान खारेज गर्न पार्टी नेतृत्वलाई औपचारिक तवरमा आग्रह गर्ने भएको छ । सभापति शेरबहादुर देउवाबाट उद्घाटन हुने कोषाध्यक्ष सम्मेलनमा नेपाली काङ्ग्रेसको सतहत्तरमध्ये पचहत्तर जिल्ला समितिका कोषाध्यक्षहरूको सहभागिता रहनेछ । सम्मेलनले पार्टीमा गुट–उपगुटको स्थिति अन्त्य गराई एकताको वातावरण बनाउन दबाब दिने, भ्रातृ तथा शुभेच्छु संस्थाहरूको महाधिवेशनमार्फत सक्रिय परिचालन गराउन दबाब दिने, विदेशमा पलायन भएका युवालाई स्वदेशमै रोजगारी सिर्जना गराउन पार्टीमार्फत सरकारलाई दबाब दिने र कास्कीमा हुने संसदीय उपनिर्वाचनमा काङ्ग्रेसलाई विजयी बनाउन आवश्यक वातावरण बनाउनेलगायतका विषयमा छलफल गरी निर्णय लिने बुझिएको छ ।
जिल्ला सभापतिहरूको अनौपचारिक भेला भएको हप्तादिनपछि नै कोषाध्यक्षहरूको सम्मेलन आयोजना गरिएको भए पनि यी दुईको तुलना गर्न नमिल्ने बताइएको छ । सभापतिहरू अनौपचारिक तवरमा भेला भएका थिए र उनीहरूको उद्देश्य शेरबहादुर देउवाविरुद्ध पार्टीमा वातावरण बनाउनु थियो भने कोषाध्यक्षहरूले पार्टीमा एकताको वातावरण बनाउन सहयोग पुऱ्याउने दाबी गरिएको छ ।
सम्मेलनको पूर्वसन्ध्यामा कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमितिका उपाध्यक्ष बाबुकृष्ण सापकोटासँग सम्मेलनको औचित्यबारे प्रश्न गर्दा उनले भने, ‘हामी कोषाध्यक्षहरू आफैँ प्रशिक्षित हुन आवश्यक ठान्दछौँ । पार्टीको हरेक स्तरका कमिटीहरूलाई सामूहिक जिम्मेवारीका साथ परिचालन गराउनुपर्छ भन्ने हाम्रो मान्यता छ । पार्टीमा सभापति मात्र सर्वेसर्वा भइरहने स्थितिले विश्राम लिनुपर्छ र टिम स्पिरिटका साथ पार्टी कामलाई अगाडि बढाइनुपर्छ भन्ने सोचका साथ हामी सम्मेलनमा प्रस्तुत हुँदैछौँ ।’
सापकोटाले अगाडि भने, ‘सभापतिबाहेकका पदहरू ‘रिकग्नाइज्ड’ नभएको र कतिपय कोषाध्यक्षहरूले राम्रोसँग आफ्नो जिम्मेवारी निर्वाह गर्न नपाएको या नसकेकोजस्ता विषयमा समेत हाम्रो चासो छ । समग्रमा हामी आफैँभित्र समस्याको समाधान खोज्न यस किसिमको सम्मेलनमा जुटेका छौँ ।’
महासमितिको बैठकलाई आफूहरूले १६बुँदे सुझाव दिएको स्मरण गर्दै बाबुकृष्णले भनेका छन्, ‘कोषाध्यक्षहरूलाई खजाञ्चीको रूपमा प्रयोग÷उपयोग÷दुरुपयोग गर्ने वैधानिक व्यवस्थाप्रति हाम्रो विरोध छ, कोषाध्यक्षलाई मनोनयनद्वारा पदपूर्ति गर्ने वैधानिक व्यवस्थाप्रति हाम्रो पूर्ण असहमति छ, कोषाध्यक्षलाई मनोनयनद्वारा पदपूर्ति गर्ने कुरामा कदापि सहमत हुन सकिँदैन ।’ उनको थप भनाइ छ, ‘पार्टी एकतालाई सबल र कार्य परिणाममुखी बनाउने दायित्वबाट हामी कहिल्यै स्खलित हुनेछैनौँ ।’
प्रतिक्रिया