राष्ट्रपतिको भ्रमणपछि अझ बलियो बन्दै केपी !

राष्ट्रपतिको भ्रमणपछि अझ बलियो बन्दै केपी !


केपी ओली नेतृत्वको सरकारबाट कुनै ठोस काम हुन नसकेको भन्ने आरोप लागिरहेका बेला नयाँ वर्षको प्रारम्भसँगै ‘चामत्कारिक कार्य’ गरेर देखाउने योजनामा प्रधानमन्त्री ओली रहेको जानकारी प्राप्त हुन आएको छ । नयाँ वर्षमा चीनका राष्ट्रपति सी जिन पिङको नेपाल आगमन हुने र त्यसक्रममा नेपालमा चिनियाँ लगानीको ‘भण्डार खोलिएको घोषणा हुने’ बताइएको छ ।

आगामी वैशाखको दोस्रो साता राष्ट्रपति विद्यादेवी भण्डारी चीनको साताव्यापी भ्रमणमा जानुहुने भएको छ । वैशाख १२ देखि १५ गतेसम्म बेइजिङमा हुने बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिब्स) को दोस्रो सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी चीन जान लाग्नुभएको हो । चीनले आफ्नो व्यापार प्रवर्द्धनको लागि सारिएको ‘वन बेल्ट वन रोड’ अवधारणालाई परिमार्जन गरी चीनले विश्व समुदायसँग विकासमा साझेदारी गर्ने सोच बनाएको छ । सोही अवधारणाअनुरूप चीन र नेपालबीच पनि समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।

चीनले पहिलो (बीरआरआई) सम्मेलनलाई भन्दा यसपटकको सम्मेलनलाई थप प्रभावकारी र उपयोगी बनाउने रणनीतिक योजना बनाएको सम्बद्ध सूत्रहरूले जनाएका छन् । सम्मेलनमा विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकारप्रमुखहरूको सहभागिता हुने भएको छ । चीनले सहभागी सबै प्रतिनिधिलाई उच्च तहको आतिथ्य प्रदान गर्ने भए पनि राष्ट्रपति विद्या भण्डारीलाई विशेष महत्व दिने तयारी गरेको बताइन्छ ।

यसअघि ०७३ मा केपी प्रधानमन्त्री रहँदा पनि राष्ट्रपति सी नेपाल भ्रमणमा आउने निश्चित भएको थियो । तर, प्रधानमन्त्री पदबाट केपी हटेपछि भ्रमणको कुरा त्यसै सेलाएको थियो । यसपटक भने नेपाल भ्रमण गर्न सीले ढिलाइ नगर्ने भएका छन् ।

राष्ट्रपति भण्डारीको चिनियाँ राष्ट्रपतिसँग विशेष वार्तालाप हुने र त्यसक्रममा भण्डारीले राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुहुने कार्यक्रम रहेको छ । चिनियाँ राष्ट्रपतिले निमन्त्रणा स्वीकार गर्ने र जतिसक्दो चाँडो नेपाल भ्रमण गर्नुहुने बुझिएको छ । यसअघि ०७३ मा केपी प्रधानमन्त्री रहँदा पनि राष्ट्रपति सी नेपाल भ्रमणमा आउने निश्चित भएको थियो । तर, प्रधानमन्त्री पदबाट केपी हटेपछि भ्रमणको कुरा त्यसै सेलाएको थियो । यसपटक भने नेपाल भ्रमण गर्न सीले ढिलाइ नगर्ने भएका छन् ।

चिनियाँ राष्ट्रपतिले नेपाल आएर ‘महालगानीको घोषणा’ गर्ने बताइएको छ । सीको नेपाल भ्रमणसँगै केपी शर्मा ओलीको सरकार थप ‘बलवान’ हुने ठानिएको छ । यतिबेला केपीमाथि खतरा छ भने आफ्नै दलभित्रबाट ज्यादा खतरा देखिएको छ र कुराको तुलनामा काम गर्न नसकेको भन्ने आरोप पनि सरकारमाथि लागेको छ । चिनियाँ राष्ट्रपतिको भ्रमण र त्यसक्रममा हुने सम्झौताले सरकारको गरिमा, औचित्य र ओझ बढाउने विश्वास सत्तापक्षले गरेको छ ।

इन्डो–प्यासिफिक कमाण्डसँग नेपालले सहकार्य गर्ने या नगर्ने भन्ने विषयले प्रवेश पाएपछि चिनियाँ दृष्टिमा नेपालको महत्व थप बढ्न पुगेको छ । इन्डो–प्यासिफिक कमाण्डसँगको सहकार्यमा नेपाललाई जान नदिन चीनले सम्भव भएसम्मका कुनै पनि उपाय अवलम्बन गर्ने निश्चित छ । नेपाललाई विश्वासमा लिनका लागि पनि चीनले विशेष सहयोग गर्ने र त्यसले देशलाई पुऱ्याउने लाभको मात्रा स्पष्ट नभए पनि केपी ओली नेतृत्वको सरकारलाई ठूलो लाभ पुग्नेचाहिँ निश्चित मानिएको छ ।

चिनियाँसँगको सम्झौता र सहयोगपछि नेपालको स्थितिमा सकारात्मक परिवर्तन आउने विश्वासमा प्रधानमन्त्री ओली रहेका छन् । नेपालले कुनै पनि अवस्थामा इन्डो–प्यासिफिक कमाण्डसँग सहकार्य नगर्ने विश्वास ओलीले चीनलाई दिलाएका छन् । नेपालका अन्य नेता र दलप्रति विश्वास गर्न झनै नसकिने अवस्था भएकोले पनि चीन र ओलीबीचको सम्बन्ध कसिलो बन्दै जाने सम्भावना देखिएको छ । त्यसैले राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण अनेकौँ दृष्टिले उच्च महत्वको र अर्थपूर्ण हुने विश्वास गरिएको छ ।