हिमाल, पहाड, तराई कोही होइनौँ पराई– ई. महेन्द्र पराजुली

हिमाल, पहाड, तराई कोही होइनौँ पराई– ई. महेन्द्र पराजुली


bicharनेपालमा जन्मेका नागरिक हामी पहिला नेपाली हौँ । त्यसपछि मात्र तराई–मधेसमा जन्मने मधेसी अनि पहाडमा जन्मने पहाडे हौँ । मधेस र पहाड मूल होइन भूगोल हो । हिमाल, पहाड र तराईमा जन्मने, बसोबास गर्ने हामी एक–अर्काका कोही होइनौँ पराई । हिमाल, पहाड र तराई कुनै मूल मात्रको बिर्ता अनि आमाको दाइजो र बुबाको अंश होइन । हिमाल, पहाड र तराई नेपालको भूभाग अनि माटो हो । राज्यको सम्पत्ति हो । आधुनिक नेपालको निर्माणमा कसको योगदान छ, एकपल्ट इतिहासको पाना पल्टाउन जरुरी छ । राज्य निर्माणको क्रममा मधेसीको योगदान छ कि पहाडेको त्यस्तै गरेर जात–जातिको । नेपाललाई सिक्किम बनाउने षड्यन्त्र कुनै पनि स्वाभिमानी नेपालीलाई स्वीकार्य छैन । सी.के. राउत, राजेन्द्र महतो, अमरेशकुमार सिंह, उपेन्द्र यादवजस्ता राज्यद्रोहीहरू जो लेन्डुप दोर्जे हुन खोज्दै छन्् उनीहरूलाई नेपालको माटोमा टेक्ने अधिकार छैन ।
संविधानको मस्यौदामा प्रस्तावित सीमाङ्कनको विषयलाई लिएर थरुहट तथा मधेसमा आन्दोलन भइरहेको छ । पश्चिमबाट सुरु भएको डढेलो पूर्वमा प्रवेश ग-यो । बन्द–हडतालका कारण जनताको जीवन कष्टकर बन्दै गई जनताले चरम सास्ती व्यहोर्नुपरेको छ । २००७ सालदेखि जनताले उठाएको मुद्दा तथा मागको फैसला भइसकेपछि पनि तराईमा आगो बलिरहेको छ । तराईमा आगो लगाउने कामको सुरुवात धनगढीको टीकापुरबाट थारूहरूको काँधमा बन्दुक राखेर अत्यन्तै अराजक, उत्तेजक र भडकाउ अभिव्यक्ति दिने राजेन्द्र महतो, उपेन्द्र यादव र अमरेशकुमार सिंहले गोलीको निशाना लगाउने काम गरे भने नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य रेशम चौधरी, थारू कल्याणकारिणी सभाका अध्यक्ष धनीराम थारू, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सदस्य लक्ष्मण चौधरी, सङ्घर्ष समिति कैलाली संयोजक लालुराम चौधरीजस्ता नाइके भनाउँदाहरूले गोली दाग्ने काम गरी सामाजिक सद्भाव खलबल्याउँदै जातीय हिंसा भड्काए । हेक्का रहोस् राजेन्द्र महतो, उपेन्द्र यादव, अमरेशकुमार सिंह, महन्थ ठाकुर, हृदयेश त्रिपाठी, लक्ष्मणलाल कर्ण, महेन्द्र राय यादव, रेणु यादव, सरिता गिरी, धनीराम चौधरी, रेशम चौधरी, लक्ष्मण चौधरी, लालुराम चौधरीलगायत अन्य नेता तथा कार्यकर्तालाई तराई–मधेसको आगो निभाउन हिमाल र पहाडको पानी प्रयोग गर्नुप-यो भने त्यो तराई मूलका मानिसका लागि महँगो पर्नेछ । यसको सम्पूर्ण जिम्मेवारी र जवाफदेहिता उनैको हुनेछ ।
मधेस आन्दोलन र विभिन्न जातीय राज्य माग गर्दै गरिएको आन्दोलन राष्ट्र, राष्ट्रियता र एकता मजबुत गर्न गरिएको आन्दोलन हो कि देश टुक्र्याउन अथवा एक मात्र जातिविशेषको प्रभुत्वको तथा एकाधिकारका लागि ? अनेकतामा एकताको सूत्रमा बाँधिएका नेपाली जातजाति, भाषाभाषीहरूको कला, संस्कृति र पर्वहरू साझा बन्दै गएको अवस्थामा जातीय द्वन्द्व बढाउन, नेपाललाई असफल राष्ट्र बनाउन, आन्दोलनको नाममा हँसिया, हथौडा, भाला, खुँडा, बन्चरो, लाठी, ढुङ्गा, मुढा मात्र नभएर बन्दुकको समेत प्रयोग गरी आन्दोलनलाई हिंसात्मक, अराजक र उद्दण्ड, जबर्जस्ती बन्द गराउने, निजी तथा सरकारी सम्पत्ति तोडफोड, आगजनी गर्ने, भारतीय भूमिबाट नेपालका जनता तथा सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गर्न लगाउने, दशगजा क्षेत्रबाट नेपालविरुद्ध प्रदर्शन गर्न लगाउनेसित कुनै पनि सर्तमा सहमत हुन सकिँदैन । राजनीतिक मागलाई राजनीतिक रूपले नै समाधान गर्नुपर्छ । हिंसात्मक आन्दोलनका नाइके, घरबार वारि तन, मन र धन पारि भएका विदेशीको इसारामा चल्ने भरौटे, भक्तिभाव अन्त भएका ढाकरे, दानापानी अन्तको खाई नेपाल राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, अखण्डता, स्वाधीनतामाथि विष वमन गर्नेहरूले बुझून् उनीहरूको सपना सपना मात्र हुनेछ । तासको घरझैँ गर्लम्म ढल्नेछ । उनीहरूले सोच्न जरुरी छ नेपालमा कति जातजाति छन्् । एउटा जातजातिले अर्को जातजाति अथवा एउटा भूगोलको नेपालीले अर्को भूगोलको नेपालीको हत्या गर्दा, अर्को पनि हातमा दही जमाएर बस्दैन । अन्ततोगत्वा एक–आपसको मारकाट, हत्या, हिंसाले कसको जित हुन्छ ? कसलाई फाइदा पुग्छ ? हिमाल, पहाड र तराई सबै भूगोलका नेपालीले यसतर्फ गम्भीर भएर सोच्न जरुरी छ । राष्ट्र नै नरहे चिनारी हाम्रो कहाँ नै रहन्छ, राष्ट्रिय भावना र एकताले सगरमाथाको उचाइ छुनुपर्दछ, हृदयमा देशभक्तिको फूल फुलाउनुपर्छ ।
देश जलिरहेको छ । जनताको रगत बहिरहेको छ । जनता मरेका खबरहरू छापामा दिनहुँ आइरहेका छन्् । तराई, पहाड बन्द छ । धनगढीका थारूहरूले छुट्टै राज्यको माग गरी सुरु गरेको आन्दोलन, पूर्वका लिम्बूहरूले समेत उठाई आन्दोलित छन्् । मगर र तामाङमा पनि यो रोग सर्दै छ । थारूहरूले शान्तिपूर्ण आन्दोलन नभएर हिंसात्मक आन्दोलनको बाटो रोजे । थारूप्रति गम्भीर प्रश्न उठेको छ । थरुहट तथा तराई–मधेसको आन्दोलन शान्तिपूर्ण नभएर, अपराधीकरणमा परिणत भएको छ । आन्दोेलनको नेतृत्वकर्ताहरू आतङ्ककारीको पङ्क्तिमा उभिन पुगेका छन्् । दुईवर्षे अबोध दूधेबालकदेखि निहत्था सुरक्षाकर्मीलाई बर्बर यातना दिएर क्रूरतापूर्वक हत्या गर्ने हत्याराहरू आतङ्ककारी नभएर को हुन् त ? यी आतङ्ककारीहरूलाई पक्राउ गरेर कानुनको कठघरामा उभ्याउन सरकारलाई कुन कानुनले रोकेको छ ? देशमा विषम परिस्थितिको सिर्जना हुँदा पनि अन्धोजस्तो बनेर बाँसुरी बजाइरहेको छ सरकार ? देशमा शान्तिसुरक्षा, अमनचैन, नागरिकको जिउधनको सुरक्षा गर्ने दायित्व कसको हो ?
जनताका हकअधिकार लोकतन्त्रमा मात्र प्राप्त हुन्छन् भन्ने मान्यता रहिआएको छ । लोकतन्त्र प्राप्तिका लागि अब कहिल्यै पनि नेपालआमाका सपुतहरूले फेरि पनि सहादत दिनु नपरोस् भनेर नै ०६२÷६३ को जनआन्दोलन सफल भएको हो । ०१७ देखि ०६३ सम्मको आन्दोलनको क्रममा धेरै नेपालीले आफ्नो जीवन उत्सर्ग गरे प्रजातन्त्र तथा समग्र जनताको हकअधिकार प्राप्तिका लागि । सहिदहरूले त कालो दिन मात्र नभएर रातलाई समेत उज्यालो दिनमा परिणत गरे, तर आज दिनलाई पनि रातमा परिणत गर्न खोजिँदै छ आन्दोलनको नाममा सङ्घीयता र गणतन्त्रमाथि प्रहार गर्दै । कसको आड र भरोसामा आन्दोलन भइरहेको छ ? मधेसवादी तथा अन्य केही दलहरू धमिलोपानीमा माछा मार्न खोज्दै छन्् । नेपालआमाका सपुतहरूले आफूलाई मिटाएर राष्ट्रका लागि बलिदान गरेको इतिहास मेट्न आज मधेसका केही स्वार्थी नेता अग्रसर छन््, यिनीहरू मधेसकै कलङ्क हुन् ।
नेपाली बृहत् शब्दकोशमा सहिद शब्दको अर्थ ‘आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिको निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति’ उल्लेख छ । सहिद शब्दको अपमान भएको छ । जो सहिद साँच्चै नै राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रका लागि लडेका थिए, उनीहरू अपमानित भएका छन्् । हिँड्दाहिँड्दै मरेमा, भीरबाट लडेर मरेका, व्यक्तिगत रिसइवीका कारण मारिएका, दुर्घटनामा परी मरेका दशलाखे सबैलाई एउटै पङ्क्तिमा राखेर तुलामा जस्तो जोखिनुहुँदैन । सहिदहरूले जितेर पनि आज हारेकोजस्तो अवस्था छ । सहिदहरूले गरेको बलिदानको मर्म र पीडा कसैलाई छ भने सहिदका आश्रित परिवारलाई छ न कि नेताहरूलाई । पङ्क्तिकार स्वयम् सहिदको छोरो भएको हुँदा टुहुरो हुनुको पीडाबोध छ । मेरो बुबा सहिद श्रीप्रसाद पराजुली नेपाली काङ्ग्रेसको इतिहासमा प्रजातन्त्र प्राप्तिको लडाइँको कठोर यात्राको क्रममा उच्च ओहोदामा मारिने व्यक्ति हुनुहुन्थ्यो । ०१९ वैशाख १९ गते ताप्लेजुङ थानामा प्रहरी हिरासतमा बर्बरतापूर्ण तरिकाले क्रूर यातना दिई पञ्चायती शासनले उहाँको हत्या गरेको थियो । उहाँ नेपाली काङ्ग्रेस ताप्लेजुङको सभापति हुनुहुन्थ्यो । आज असोज १३ गते सहिद श्रीप्रसाद पराजुलीको जन्मदिन उहाँप्रति श्रद्धासुमन अर्पण गर्दछु ।
मेरोजस्तो पीडा अन्य सहिदका आश्रित परिवार पनि भोग्न बाध्य छन् । सहिद, सहिदका परिवारका दुःख, पीडा र वेदना सरकार तथा राजनीतिक दलहरूको चिन्ता र चासोको विषय बन्न सकेन । पञ्चायती कालरात्रिमा हुने कुरै भएन, लोकतन्त्रको पुनस्र्थापना र गणतन्त्रको घोषणा भएर यत्रो वर्ष बित्दासमेत सरकार तथा राजनीतिक दलहरूले सहिदहरूको उचित सम्मान तथा आश्रित परिवारजनको खोजीनिती नगरिरहेको विद्यमान अवस्था तथा माओवादीले १७ हजार नेपालआमाका सपुतहरूलाई बलिदान गराउँदा सहिद र सहिदका आश्रित परिवारको के हालत छ ? तराई आन्दोलनमा मारिनेलाई ५० लाख दिने उद्घोष गर्दै तराईका सोझा जनतालाई उस्काउँदै छन्् मघेसी नेता आफ्नो जमिन्दारी तथा सामन्ती प्रथा कायमै राख्न । सहिद तथा तिनका आश्रित परिवारको हालत अनि मर्दा को मरेका छन्् सर्वसाधारण जनता कि नेता बुझेर मात्र पैसाको लोभमा नफसी हिंसात्मक आन्दोलनमा लाग्ने तर्फ सोच्न जरुरी छ मधेसी जनताले ।
शोषण, दमन, उत्पीडन हिमाल र पहाडमा भन्दा तराई–मधेसमा बढी छ । कुरीति, कुसंस्कार, पछौटेपन, दहेजप्रथा, विसङ्गति, विकृति पनि तराई–मधेसमा नै बढी छ अन्य भूगोलको तुलनामा, त्यस्तै गरेर जातीय भेदभाव पनि । सिंह, ठाकुर, चौधरी, थारू, यादव, गुप्ता, झा, कर्ण, शुक्ला, त्रिपाठीजस्ता जातजातिकै दबदबा छ तराई–मधेसमा । राजनीतिमा उनीहरूकै प्रतिनिधित्वसहित हालिमुहाली छ, राज्यबाट प्राप्त हुने सबै किसिमका सुविधा तथा अवसर उनीहरू तथा उनीहरूकै परिवारले मात्र प्राप्त गरेका छन्् । डोम, चमार, मुसहर, झाँगर, हरिजन, तत्मा, दुसार, मेहतर, सतार, राजवंशी, धिमालजस्ता दलित अनि आदिवासी, पिछडिएका जातजातिले भोग्नु र जुध्नुपरेका समस्याको विषय किन मुद्दा बन्न सक्दैन तराई–मधेसलाई नेतृत्व गर्ने हुँ भन्ने नेताहरूका लागि ?
हिमाल साप्ताहिक खबर पत्रिकाले सर्भेक्षण गरी भर्खरै प्रकाशित गरेको राष्ट्रिय जनमत सर्वेक्षणमा सर्वेक्षणको क्रममा सोधिएको प्रश्न ‘शान्त र समृद्ध लोकतान्त्रिक नेपाल निर्माण गर्न सक्ने कुनै एउटा राजनीतिक दल छान्नुपरे कुन छान्नुहुन्छ’ भन्ने प्रश्नमा २५.४ प्रतिशतले काङ्ग्रेस रोजे, १३.५ प्रतिशतले एमाले रोजे, त्यस्तै गरेर ९.३ प्रतिशतले एनेकपा माओवादी रोजे भने तराई–मधेसकेन्द्रित दल रुचाउनेहरूको सङ्ख्या ५ प्रतिशतभन्दा कम छ । यसले तराई–मधेसमा मधेसवादी दलहरूको खस्कँदो अवस्थाको चित्रण गरेको छ । यसको जिम्मेवार को हुन् उनीहरूको चरित्र चिन्न र बुझ्न जरुरी छ मधेसका नागरिकले ।
(लेखक सहिद श्रीप्रसाद पराजुलीका पुत्र हुन्)