प्रजातन्त्रको विरुद्ध माओवादी बोक्ने र लोकतन्त्रको विरुद्ध पपुलिस्ट बोक्ने इण्डो-पश्चिमा शक्तिको नियत डिजिटल पुस्ताले बुझ्न नसक्नु मुलुकको दुर्भाग्य बनिसकेको छ । दिवङ्गत राजा महेन्द्र र जङ्गबहादुर जस्तो नेता खोजेको पुस्तालाई इण्डो-पश्चिमा शक्तिले जिलेन्स्की र लेण्डुप भिडाउने तयारी तीव्र गतिमा चलाउँदै आएको छ ।
✍ दीपेन्द्र पाण्डे
भौतिक, सांस्कृतिक र सामाजिक रूपमा संसार निरन्तर परिवर्तन हुँदैछ । स्थायित्व भनेको अनिश्चित कालसम्म उस्तै रहने अवस्था हो । अर्कोतर्फ, परिवर्तन भनेको त्यस्तो चीज हो जसको रूपान्तरण र विकास सत्ताको इच्छामा निर्भर हुँदैन । परिवर्तनलाई सामान्यतया ‘प्राकृतिक’ रूपमा स्वीकार गरिन्छ । विश्वास, अभ्यास वा परम्परा जस्ता पक्षहरू मौलिकरूपमा ‘सत्य’ हुन्छन् ।
सनातन सभ्यताको जगमा भन्नुपर्दा, संस्कृतिको गतिशील र जैविक प्रकृतिमा चिन्तन गर्न जरुरी छ । संस्कृति बाह्य र आन्तरिक कारणले परिवर्तन वा विकास हुँदै आएको छ । समय विश्वव्यापी छ, समाजलाई कुनैपनि अर्थपूर्ण भूमिकाबाट वञ्चित गर्न सकिँदैन । प्रविधि र परिवर्तनलाई स्वीकार गर्ने मानव-जीवनको स्थायी विशेषता हो । युवाहरूले बाह्य शक्ति वा दबाब बिना विश्वव्यापी संस्कृतिहरू अपनाइरहेका छन् । डिजिटल पुस्ताले रूप र सार, शाब्दिकता र व्याख्याबीच भिन्नता ल्याउन बहुमूल्य योगदान गर्दै छ । सार परिवर्तन नगरी,समयसँग रूपहरू समायोजन गर्न सक्रिय छ ।
मुलुक असफल राजनीतिक खेलाडीहरूले भरिएको छ । सेप्टेम्बर विद्रोह पश्चात् एल्गोरिदमले राजनीतिक हेरफेर गर्न सफल भएको छ । हाइब्रिड शासन् अस्तित्व रक्षाको लडाई लडिरहेको छ । राजनीतिको एकमात्र उद्देश्य सत्तामा पुग्नु र रहनु हो भन्ने पुष्टि गर्ने अभियान चलाइएको छ । डिजिटल आक्रोशले राजनीति कति खोक्रो भएको छ भन्ने पपुलिजमको उदयले पुष्टि गरेको छ । पपुलिजमको जगमा पश्चिमी कथाको पुनरुत्पादन जारी छ । सत्य यो हो कि लोकतान्त्रिक राजनीतिको लागि लगभग सबैठाउँ मेटाइएको छ । विद्यार्थी राजनीति प्रायः समाप्त पारिएको छ । इण्डो पश्चिमा शक्तिको नाङ्गो नाचले उचाइ लिएको अवस्थामा औपचारिक राजनीतिक संस्थाहरू थप ओइलाउँदै छ । मतपत्र मार्फत आवश्यकता अनुरूप नेतृत्व जन्माइएको छ ।
वामपन्थीलाई राजनीतिक रूपमा घिसारेर महाकाली सन्धि र एमसिसी सम्झौता संसद्बाट अनुमोदन गराउन सफल तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको रणनीतिक कार्यक्रम एसपिपीलाई औपचारिक रूपमा पास नगर्ने निर्णयपश्चात् नेपालमा ’प्रोक्सी पपुलिजम’ औपचारिक रूपमा मुलुक प्रवेश गरेको पाइन्छ । अझ रोचक कुरा, आफ्नै लगानीमा हुर्काइएका पात्रहरूले बिआरआई सम्झौता गरेको इण्डो/पश्चिमा शक्तिले रुचाउन सकेन । भारत/अमेरिकाको टाउकोदुखाइ बनेको चिनिया ’जिएसआई’मा सही गर्दा प्रधानमन्त्री ओली भाग्ने वातावरण सिर्जना गरियो भने कांग्रेस सभापति देउवाले पिटाइ खानुपऱ्यो । दुर्भाग्यवश यस्तो घटनामा ’अमेरिकी यूथ काउन्सिल र डिपस्टेट’द्वारा पालितपोषित पात्रहरूको प्रत्यक्ष सहभागिता रहेको कटु इतिहास राष्ट्रिय मानव अधिकार आयोगले घुमाएर स्वीकार गरेको छ ।
विश्व राजनीतिमा, पपुलिजम बेलायती प्रजातन्त्र र अमेरिकी लोकतन्त्रको विरोध गर्दै जन्मिएको हो । लोकतन्त्रको नाममा भएको ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार र एलिट वर्गको एकछत्र कुशासनको विरुद्ध आएको नयाँ विचार र विद्रोह हो । नढाँटीकन भन्ने हो भने नेपालमा पपुलिजम समेत अमेरिकी ’लोकतन्त्र र डिपस्टेट’द्वारा रणनीतिक रूपमा भित्र्याइएको कथित हतियार हो । विश्वबाट हराउँदै गएको वाम राजनीतिलाई औपचारिक रूपमा समाप्त गर्न खुद अमेरिकी लोकतन्त्रले पपुलिजमको साथ लिएको छ । अमेरिकी यूथ काउन्सिलको लगानी र सुरक्षा निकायको ब्याकफोर्समा एल्गोरिदमद्वारा जन्माइएका/हुर्काइएका पपुलिस्टहरू मुलुक बरबाद बनाउन मोहराको रूपमा प्रयोग भएका छन् । लोकतन्त्रको नाममा भित्र्याइएका जातीयता, सङ्घीयता, धर्मनिरपेक्षता जस्ता पश्चिमी हतियारले सम्पन्न गर्न नसकेका काम पुरागर्न आफ्नो प्रयोग गरिएको पपुलिस्टहरू बुझ्न सक्दैनन् ।
दक्षिण एसियामा श्रीलङ्का, बङ्गलादेश हुँदै नेपाल प्रवेश गराइएको पपुलिजम भारत पुऱ्याउने तयारी तीव्र गतिमा भइरहेको छ । पपुलिस्टहरूको आगमनको बाबजुद जनता ‘ब्रेकिङ प्वाइन्ट’मा छन्, यद्यपि वर्तमान समयमा उनीहरूलाई प्रतिनिधित्व गर्ने कुनै राजनीतिक साधन छैन ।
आर्थिक स्थिरता वा विश्वव्यापीकरण जस्ता विषयलाई बेवास्ता गर्दै पपुलिजमले सर्वसाधारण नागरिकसम्म पुग्न हौसिन्छ । दुर्भाग्यवश नेपालमा विकृत पपुलिजम भित्रिएको छ । पपुलिजम स्वतःस्फूर्त भएको खण्डमा सामान्य परिवर्तन सम्भव छ तर षडयन्त्रमूलक ढङ्गले ल्याइएको प्रायोजित पपुलिजमले मुलुकलाई अन्धकार र रणनीतिक अराजकतातर्फ धकेल्ने निश्चित छ । माओवादी ध्वंसको भाग दुईको रूपमा पश्चिमाशक्तिले जन्माएका पपुलिस्टहरू को हुन् भन्ने राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले खुलासा गरिसकेको छ ।
पपुलिजमले इतिहासलाई सम्मान गर्दैन । परम्परालाई स्वीकार गर्दैन । निश्चित रूपमा भन्न सकिन्छ कि वर्तमान व्यवस्था सधैँभरि रहने छैन । बेलायत र अमेरिकाले लोकतन्त्रलाई एक विशिष्ट राजनीतिक दृष्टिकोण भन्दै विश्वलाई बेवकुफ बनाउँदै आएको छ । लोकतन्त्रमा व्यक्ति गौण हुन्छ । संविधान, आवधिक निर्वाचन, संस्थागत निर्णय र नागरिक अधिकारलाई विशेष महत्त्व दिइन्छ । वैश्य युगमा बेलायती प्रजातन्त्र दुब्लाउँदै गएको छ ।
न्यायपालिका र स्वतन्त्र प्रेसलाई जनता विरोधी देखाउन पपुलिजम नाङ्गो बनेर आएको छ । नागरिकबीच शान्तिपूर्ण सहअस्तित्व बन्न नदिन डिजिटल आक्रमणको प्रयोग गर्दैछ । लोकतन्त्रभित्र लोकतन्त्र अवस्थित हुन्छ र हुनुपर्छ भन्नेहरूको आवाज मलिनो बनेको अवस्थामा पपुलिजम जुरमुराएर आएको छ । संस्थागत शक्तिको विभाजन र नागरिक स्वतन्त्रताको संवैधानिक सुरक्षा हुनुपर्छ भन्ने मान्यतालाई खिल्ली उडाउँदै पपुलिजम मुलुक प्रवेश गरेको छ । सोसल मिडिया मार्फत समाजलाई ’जनता’ र ’भ्रष्ट अभिजात वर्ग’को रूपमा विभाजित गर्दै मुलुक प्रवेश गरेको पपुलिजमले डिजिटल पुस्तालाई कच्चा पदार्थको रुपमा प्रयोग गरिरहेको छ ।
दक्षिण एसियामा श्रीलङ्का, बङ्गलादेश हुँदै नेपाल प्रवेश गराइएको पपुलिजम भारत पुऱ्याउने तयारी तीव्र गतिमा भइरहेको छ । पपुलिस्टहरूको आगमनको बाबजुद जनता ‘ब्रेकिङ प्वाइन्ट’मा छन्, यद्यपि वर्तमान समयमा उनीहरूलाई प्रतिनिधित्व गर्ने कुनै राजनीतिक साधन छैन । भूराजनीति र हवाई राजनीतिको चर्को द्वन्द्वलाई सूक्ष्म रूपमा हेर्ने हो भने वर्तमान अवस्था स्थिरताको क्षण होइन । मुलुकको भूअवस्थिति र जटिल भूराजनीतिको कारणले पपुलिस्टहरूप्रति आलोचनात्मक चेत राख्न जरुरी छ । ट्रम्प प्रशासनको अतिरिक्त सक्रियता र अमेरिकी यूथ काउन्सिलको लगानी उठाउने खेलमा पपुलिस्टहरूको अज्ञानता डरलाग्दो बन्ने सङ्केत प्राप्त भएको छ । पपुलिस्टहरूलाई नागरिकले सदैव प्रश्न गर्नुपर्छ । उनीहरूको हरेक क्रियाकलापलाई चनाखो भएर हेर्नुपर्छ । दुर्भाग्यवश अन्धभक्तहरूले पपुलिस्टलाई, पपुलिस्टहरूले मुलुकलाई डुबाउने खतरा उच्च देखिएको छ ।
कांग्रेस-कम्युनिस्टबाट थप काम गराउन नसक्ने निष्कर्षपश्चात् इण्डो-पश्चिमा शक्तिले कथित पपुलिस्टहरूलाई मुक्तिदाता बनाएर पस्किएको अवस्था छ । दुर्भाग्यवश डिजिटल पुस्ता पपुलिस्टहरूलाई मुलुक सुम्पेर इण्डो/पश्चिमा रणनीतिलाई अनजानमा साथ दिँदैछन् ।
सहकारीको ठगीमा रवि लामिछानेलाई नख्खु जेलमा राखेर ढुक्क भएका ओली/देउवाले नागरिकको भावना बुझ्दै कार्यशैली बदल्न चाहेनन् । पपुलिजमको आवरणमा डिजिटल पुस्ताको ब्रेनवास गरिरहेका पात्रसँग पौँठेजोरी खोज्दै प्रधानमन्त्री ओलीले वातावरण उत्तेजित बनाउन अहम् भूमिका निभाए । कांग्रेस/कम्युनिस्टले नागरिकलाई झुक्क्याएकै शैलीमा पपुलिस्टहरूले डिजिटल पुस्तालाई झुक्क्याएको नेता ओलीले रुचाएनन् । पपुलिजमको नैतिक मूल्य, मान्यता, आदर्श, सिद्धान्त र कार्यक्रमको ठिक उल्टो पश्चिमा शक्तिद्वारा परिचालित, डिपस्टेटबाट संरक्षित शक्तिले मुलुकको पक्षमा कामगर्न नपाउने निश्चित छ । भूराजनीतिको उन्नति र प्रगति रोक्न ल्याइएका पपुलिस्टहरूलाई सुरक्षा निकायले रोक्न नसके मुलुकले ठुलो नोक्सानी भोग्ने निश्चित छ ।
पपुलिजमको चक्रव्यूहमा मुलुक र डिजिटल पुस्ता नराम्रोसँग रन्थनिएको छ । प्रजातन्त्रको विरुद्ध माओवादी बोक्ने र लोकतन्त्रको विरुद्ध पपुलिस्ट बोक्ने इण्डो-पश्चिमा शक्तिको नियत डिजिटल पुस्ताले बुझ्न नसक्नु मुलुकको दुर्भाग्य बनिसकेको छ । दिवङ्गत राजा महेन्द्र र जङ्गबहादुर जस्तो नेता खोजेको पुस्तालाई इण्डो-पश्चिमा शक्तिले जिलेन्स्की र लेण्डुप भिडाउने तयारी तीव्र गतिमा चलाउँदै आएको छ । सत्य, न्याय, परिवर्तन, सुशासन् र विकास खोज्दै मुलुक पोल्न तयार हुने डिजिटल पुस्तालाई गहिरो अध्ययन गरेको शक्तिले ’फ्रड र स्क्याम’लाई नेता र परिवर्तन बनाएर पस्केको छ ।
हरेक स्क्याम फ्रड हो भन्ने नबुझ्ने डिजिटल पुस्ता ’पपुलिस्ट नामका फ्रड’लाई मुक्तिदाता मान्दैछ । जसलाई ’बौद्धिक दास’हरूले समर्थन गर्नु थप डरलाग्दो बन्दैछ । आफ्नो उन्नति र प्रगतिको सट्टा अरूको उन्नतिमा चिन्तित र आक्रोशित डिजिटल पुस्ताले फ्रड, झुट, हिंसा र ध्वंसलाई सदैव समर्थन गर्दै आएको छ । रोचक कुरा विश्व पुँजीवादले अनुभवहीन पपुलिस्टहरूलाई आर्थिक र राजनीतिक लालच दिएर मुलुक बरबाद बनाउन प्रयोग गरिरहेको छ । सुशासन् र विकासको सपना पाल्ने मतदाताको मानसिक शोषण गर्दै पलान्टेड पात्रलाई जलाइएको सिंहदरबार जिम्मा लगाइएको छ ।
वास्तवमा पपुलिजम र पपुलिस्टहरू लोकतन्त्रका सहयोगी हुन सक्दैनन् । लोकतन्त्रले व्यक्तिको सट्टा प्रणालीलाई बोक्न हौसिन्छ तर पपुलिजमले प्रणालीलाई दोष दिँदै व्यक्तिलाई भगवान् बनाएर पस्किन्छ । कांग्रेस-कम्युनिस्टबाट थप काम गराउन नसक्ने निष्कर्षपश्चात् इण्डो-पश्चिमा शक्तिले कथित पपुलिस्टहरूलाई मुक्तिदाता बनाएर पस्किएको अवस्था छ । दुर्भाग्यवश डिजिटल पुस्ता पपुलिस्टहरूलाई मुलुक सुम्पेर इण्डो/पश्चिमा रणनीतिलाई अनजानमा साथ दिँदैछन् । अनपढ, अशिक्षित देशभक्तहरूको रगत र पसिनाले निर्मित मुलुक एआई र इन्जिनियरिङ्गको युगमा आइपुग्दा लाखौँ शिक्षित युवा र राजनीतिक चेतनास्तर उच्च भएको मुलुक कसरी ननपोलिटिक्स र पपुलिजम जस्तो कुरामा फस्यो ? १२बुँदे र कांग्रेस-कम्युनिष्टको कारणले पपुलिजम हाबी भएको हो भन्ने पश्चिमी प्रोपोगाण्डालाई देशभक्त र सुरक्षा निकायले बुझ्न ढिला गरे पश्चिमाशक्तिको लक्ष्य छिट्टै पुरा हुनेछ ।
प्रतिक्रिया