सहिद घाइते रगतमा…– रामेश्वर राउत मातृदास
बेइमान–डाका कन्तुरे
मुलुकमारा फन्तुरे
किर्ते छन् काइते घरमारा
कुँडुले कुण्ठा मनमारा
।।१।।
काउसोको माला लाएर
छेकटो मारे आएर
होसियार लहै पलपाइला
शिर पाउ ध्वंस खाइजाला
।।२।।
सियोझैं पसी फालीमा
लुब्धको सुँडो बालीमा
अल्छीको आली धुम्मिए
हिंस्रक हुँडार झुम्मिए
।।३।।
धर्तीको घाममा छन् बेइमान
लौ आइज उठबस समाकान
सहिद घाइते रगतमा
खुब खेले होली फगतमा
।।४।।
जनता जनको पनमा
डढेलो सल्काई मनमा
कहाँ बास बस्ला कुन ठाउँमा ?
ब्याजमै रित्तो सावाँ छ कहाँ ?
।।५।।
एऽ हुतिहारा काँतर
मानवता–सिद्धिस् बाँदर !
यो जुनी तेरो परानी
के उडाइस् शिरपाउ खरानी
।।६।।
देशको खाइस् मुखमोसी
समय नठान बेहोसी
घुमाई पाता कसेर
झार्ने छ विषले डसेर
।।७।।
जिन्दगी एकबार फूल आकाश
सत्यलाई गिज्याई भो नहाँस
कालका तीखा बङ्गारा
एक झिल्को झोक्का खरमारा
।।८।।
समुद्र मन्थन नागनेती
सर्वनाश हुन्छ बेथिति
पर्खन्छन् धैर्य हिमचुली
झुल्कने घाम नभुली
।।९।।
के हेर्नु कपुत कल्मश
सिर्जना ध्वंस क्रमशः
धर्ती छन् सृष्टिसमृद्ध
युवत्व जहाँ छन् प्रसिद्ध
।।१०।।
यो हाम्रो उन्नत घरबारी
के खान्छन् चुँडी तरमारी ?
वीरले पौरख घेरेर
को बस्छ अन्याय हेरेर ?
।।११।।
गुञ्जन बाँसुरी धुनसारा
आकाश एक्लै जूनतारा
विवेक धीरको बिम्झाई
सत्यले मार्ग सम्झाउँछ
।।१२।।
लुटमारा चोइटा चमजुम्रा
हृदय लुस्छन् वनखुम्रा
निरीह नहौँ नेपाली
आफँै हौँ आफ्ना मनमाली
।।१३।।
आशीष पाऊँ शिवानी
धरतीमा ल्याउन बिहानी
के छैन महिमा गाउनलाई
पुकार गर्छौं आउनलाई
प्रतिक्रिया