नाकाबन्दी फाप्यो ‘वडा नम्बर ६’लाई
संविधान निर्माणमा असन्तुष्टि प्रकट गर्दै परोक्ष रूपमा छिमेकी भारतले सीमा नाकामा अघोषित नाकाबन्दी गरेपछि नेपाल–भारत सम्बन्धमा मात्र चिसोपन आएको नभई विभिन्न क्षेत्रमा यसका असर देखिएका छन् । अन्य क्षेत्रजस्तै सिने–व्यवसायमा समेत भारतीय नाकाबन्दीको प्रत्यक्ष असर परेको छ । नेपालजस्तो सानो र सहिष्णु छिमेकीप्रति भारतीय व्यवहार असहिष्णु रहेको भन्दै हिन्दी सिनेमा मनपराउने सिनेप्रेमीहरू आक्रोशित बन्न पुगेका छन् । नाकाबन्दीबाट चिढिएका नेपाली दर्शकले हिन्दी सिनेमाप्रतिको मोह स्वाट्टै त्यागेर नेपाली सिनेमाप्रति झुकाव बढाएका छन् । अर्को शब्दमा भन्नुपर्दा राष्ट्रियता झल्काउने भाव प्रकट गर्न उनीहरूले नेपाली सिनेमाप्रति स्नेह बढाएका छन् । यसरी हिन्दी सिनेमालाई दर्शकले बहिष्कार गरिदिँदा नेपालमा हिन्दी फिल्म वितरण गरेर करोडौँ कमाउँदै आएका वितरकहरू टाउकोमा हात राखेर चिन्ता व्यक्त गर्न थालेका छन् भने यतिबेला प्रदर्शनमा आएका नेपाली सिनेमाहरू मालामाल हुने सम्भावना बढेर गएको छ । यसको ज्वलन्त उदाहरण बन्न पुगेको छ हालै प्रदर्शनमा आएको हिन्दी फिल्म ‘कट्टीबट्टी’ र नेपाली चलचित्र ‘वडा नम्बर ६’ । अहिलेकी जल्दीबल्दी वलिवुड नायिका कंगना रनावतले अभिनय गरेको कट्टीबट्टीले बलिउडमा व्यापक सफलता पाएको छ । कंगनाको अभिनय र फिल्मको सफलताको चर्चा चुलिएको सन्दर्भमा नेपालमा पनि यसले व्यापक दर्शक पाउने निश्चित नै थियो । तर, नाकाबन्दीकौ लफडाका कारण दर्शकले हिन्दी फिल्म कट्टीबट्टीलाई दिलबाट ‘कट्’ गरिदिए भने सँगैजस्तो प्रदर्शनमा आएको ‘वडा नम्बर ६’तर्फ जोडतोडले आकर्षित भए । त्यसो त दिपक गिरी, दीपाश्री निरौलालगायतका चर्चित हास्य कलाकारहरूको संयुक्त प्रयासमा निर्माण भएको ‘वडा नम्बर ६’ यसै पनि दर्शकले मन पराउने सुनिश्चित नै मानिएको थियो । तर, निकै सफल मानिएका हिन्दी फिल्मसमेत दर्शकले लत्याइदिएपछि त्यसको प्रत्यक्ष लाभ नेपाली सिनेमालाई पुग्न गएको हो । ‘वडा नम्बर ६’प्रति यतिबेला दर्शक झुम्मिनुको कारण भारतले नेपालमाथि लगाएको नाकाबन्दी पनि प्रमुख हो । चलचित्र वितरकहरूका अनुसार पछिल्ला दिनमा हिन्दी फिल्मको व्यापार नब्बे प्रतिशतभन्दा बढीले खस्किएको छ । देशका विभिन्न स्थानमा घोषित रूपमै भारतीय फिल्म र भारतीय टीभी च्यानल बहिष्कार गरिएका छन् ।
रेग्मी पुरस्कृत
सामाखुसी सााहित्य समाजले आफ्नो तेह्रौँ स्थापना दिवसको उपलक्ष्यमा हालै एक भव्य कार्यक्रम ग-यो । सामाखुसीको लिङ्कन कलेजमा भएको कवि गोष्ठीमा वरिष्ठदेखि नवोदित कवि तथा कवयित्रीहरूको व्यापक सहभागिता थियो । समाजका अध्यक्ष भाग्यशाली अधिकारीको सभापतित्वमा सम्पन्न प्रतियोगितात्मक कवि गोष्ठीमा कवि भुवनहरि सिग्देलको प्रमुख आतिथ्य रहेको थियो । अन्य अतिथिमा डा. देवीप्रसाद सुवेदी, गजलकार रामबहादुर पहाडी, वेदमणि घिमिरे, मदन थापा, डा. जीवन अधिकारी र शीतल गिरी थिए । प्रतियोगी र अप्रतियोगी गरी भन्डै ६० जना कविले कविता वाचन गरेका थिए । सो भव्य कवि गोष्ठीमा मूल्याङ्कन समितिका ज्ञाननिष्ठ ज्ञवाली, विजय न्यौपाने र हेमराज अधिकारीको संयुक्त निर्णयअनुसार रत्ननिधि रेग्मी शुक्राचार्य, प्रभा बराल, सुशीला खड्का हसिना, कल्पना काफ्ले, कमला रिसाल ज्योति, हृदयपाणि अधिकारी र बालकवि आशुतोष पराजुली पुरस्कृत भए । सो पुरस्कारको राशि अमेरिकावासी कवि गोवद्र्धन पूजाबाट उपलब्ध भएको आयोजकका तर्पmबाट कवि कृष्णदेव रिमालले बताए ।
कविता वाचन गर्ने अन्य कविहरूमा विष्मा विरही, देवेन्द्र खनियाँ, शान्ता पराजुली, लीलाराज दाहाल, अञ्जना पौडेल, शिव आचार्य, द्वारिका कुइँकेल, घिमिरे मैदेली, तारा केसी, रामचन्द्र नेउपाने वनवासी, अलन्दर अधिकारी, भगवती पौडेल, सुमन घिमिरे, उमेश पाण्डे, विजयध्वज थापा, नीरा पराजुली, नीराजन तिमिल्सिना, गीता पण्डित, जनार्दन अधिकारी, पर्शुराम पराजुली, सीता प्याकुरेल, लक्ष्मी श्रेष्ठ, रामप्रसाद पौडेल, शारदा पराजुली, रामचन्द्र ढुङ्गाना, हरि खनाल, सुनील स्पन्दन, उदास कार्की, राजन त्रिपाठी, रुद्र अधिकारी, सीता विष्ट कार्की, ईश्वरी न्यौपाने, शम्भु थपलिया, कृष्णप्रसाद खकुरेल, रामशरण श्रेष्ठ, हेमन्त दाहाल, डा. भूपहरि पौडेल, मणिराज सिंह, जगदीश्वर पोखरेल आदि प्रमुख थिए । जोर महिनाको दोस्रो शनिबार गरिने कवि गोष्ठी पहिले नवोदित कलेज र हाल लिङ्कन कलेजमा हुन थालेको आयोजकले बताए ।
प्रतिक्रिया