"स्रष्टा शृङ्खलामा कवि विजय हितानमगर सम्मानित"

"स्रष्टा शृङ्खलामा कवि विजय हितानमगर सम्मानित"


लण्डन । बीएफ्बीएस् गोर्खा रेडियो यूकेले स्रष्टाहरुको सम्मानका लागि सचालन गरिरहेको स्रष्टा शृङ्खला कार्यक्रमको पहिलो सहभागि स्रष्टा विजय हितान मगरलाई, गत फेब्रुअरी चार तारिख शुक्रवार आपनै कार्यालयमा सम्मान गरेको छ । बीएफ्बीएस् गोर्खा रेडियो यूकेको महा-प्रबन्धक खेम गुरुङले, कवि विजय हितान मगरलाई सहयोगको कदर गर्दै खादा ओढाएर सम्मान गरेका हुन् ।

स्रष्टा शृङ्खला कार्यक्रममा सहभागिता जनाएर यसरी सम्मानित भएकोमा खुशी ब्यक्त गर्दै, कवि विजय हितानमगरले बीएफ्बीएस्कै प्रोत्साहनबाट आफू, यहाँसम्म आइपुगेको जानकारी गराए । साथै, भविष्यमा पनि यसरी नै निरन्तर साहित्यमा लागिरहने आफ्नो सोंच भएको बताए । स्रष्टा शृङ्खला कार्यक्रम बीएफ्बीएसले गत जनवरी महिनाको १४ तारिखबाट प्रसारण गर्दै आएको छ ।

यो कार्यक्रम प्रत्येक शुक्रबार दिउँसो २ बजेर ३० मिनेट र आइतवार बेलुकि ६ बजेर ३ मिनेट जाँदा प्रसारण गरिँदै आएको छ । स्मरण रहोस्, स्रष्टा शृङ्खला कार्यक्रम केही समयको लागि मात्र प्रसारण गरिने छ । कार्यक्रममा सहभागिता जनाउने प्रत्येक स्रष्टालाई सम्मान-पत्र र बीएफ्बीएस् चिन्ह अंकित उपहार पनि प्रदान गरिने छ ।

यो विशेष शृङ्खलामा बेलायतलगायत विश्वभरकै स्रष्टाहरुलाई समेटने बीएफ्बीएस्को प्रयास रहेको छ । यदि यहाँहरुले पनि कार्यक्रममा सहभागिता जनाउन चाहनेले बीएफ्बीएस्को कार्यालयमा सम्पर्क गर्न रेडियोले आग्रह गरेको छ । -योगराज राई, मेस