'रावाखोला सेरोफेरोबासीहरुको वार्षिक भेला'

'रावाखोला सेरोफेरोबासीहरुको वार्षिक भेला'


लण्डन । रावाखोला वरपरबाट वेलायतमा आई बसोबास गरिरहेका, दाजुभाइ तथा दिदीबहिनीहरुको वार्षिक भेट्घाट् कार्यक्रम, गत अप्रिल ३० तारिख शनिवार मेड्स्टोनको एलिस्फोर्ड भिलेज कम्युनिटि सेन्टरमा सम्पन्न भयो । प्रवासमा रहेर पनि आफ्नो भाषा, संस्कृति, र रहनसहनको जगेर्ना गर्ने साथै एकआपसमा भेट्घाट् र परिचय गर्ने उद्देश्यका साथ, यो कार्यक्रम प्रत्येक वर्ष आयोजना गरिँदै आएको छ ।

रावाखोला सेरोफेरोको अध्यक्ष शिव प्रसाद राईले उपस्थित सबैलाई स्वागत गर्दै, सहभागितको लागि धन्यवाद ज्ञापन गरेका थिए । सम्बोधनको क्रममा राईले, कसरी रावाखोलाको माछाले बाक्सिलाको कोदो सक्यो, यो चर्चित सन्दर्भलाई जोड्दै रावाखोलाको स्वादिलो माछाको तारिफ गरेका थिए ।

कार्यक्रममा किरात राई यायोक्खाको अध्यक्ष रामधन राईलगायत करीब तीनसयको हाराहारीमा रावाखोलाबासीहरु उपस्थित थिए । अध्यक्ष शिवप्रसाद राईको सम्बोधनपश्चात कोषाध्यक्ष धर्मराज राईले, संस्थाको हालसम्मको आर्थिक प्रतिवेदन र रावाखोला सेरोफेरो वेभसाइटको प्रगतिबारे अवगत गराएका थिए ।

प्रेमध्वोज गुरुङको संयोजनमा सम्पन्न उक्त भेट्घाट कार्यक्रममा, सबैले यस्तो आयोजनाले एकअर्कामा चिनजानको सुअवसर प्रदान गरेको बताए । यो वर्षको भेलामा समयको पावन्दीले सांस्कृतिक कार्यक्रमको आयोजन गर्न नसकिए पनि आउँदा वर्षहरुमा आफ्नो पहिचान र संस्कृति झल्काउने खालको नाचगानको आयोजना गरिने अध्यक्ष राईले बताए ।

साथै, उक्त दिनको कार्यक्रममा शहीद अनिता गुरुङ्गको लागि स्थापना गरिएको, शहीद अनिता गुरुङ्ग मेमोरियल फाउण्डेशनको सदस्यहरुलाई कर्ज बहादुर गुरुङ र तुलसा गुरुङले प्रमाणपत्र र खादा ओढाई सम्मान गरेका थिए ।

स्मरण रहोस्, रावाखोला सगरमाथा अंचल, खोटाङ्ग जिल्लाको उत्तरी भेगमा बग्ने एउटा प्रसिद्ध खोलाको नाम हो । जुन खोला स्वादिष्ट माछाको लागि ज्यादै लोकप्रिय मानिन्छ ।

-योगराज र्राई, मेस