लण्डन / गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्षका प्रत्यासीद्वय वर्तमान उपाध्यक्ष महेन्द्र कँडेल र सूर्य नेम्बाङले एनआरएन यूकेको चुनावी समिति भङ्ग गर्न माग गरेका छन् । चुनावी समितिमा विभिन्न संघसंस् थाका प्रतिनिधि थप्न गरिएको माग पूर्णतः लत्याइएको, कार्यसमितिले पास गरेका २ जना सदस्यहरु पनि नथपिएको र समिति मनोमानी ढंगले चलेको आरोप लगाउँदै उनीहरुले समिति भङ्ग गर्न माग गरेका हुन् । आइतबार अल्डरसोटमा पत्रकार सम्मेलन आयोजना गरी अध्यक्षका प्रत्यासी कँडेलले बृहत् एकताका लागि सबै पक्षलाई समेट्दै चुनावी समिति बनाउन माग गरे ।
“निर्वाचन समितिका प्रमुख नभएको अवस्थामा निर्वाचन समितिका केही सदस्य र कार्यसमतिका सदस् यहरुले मनोमानी गरे”, कँडेलले भने, “यस्तो एक पक्षलाई मात्र समेटर कसरी स्वच्छ निर्वाचन सम्भव हुन्छ ?” उनले अहिलेको निर्वाचन समितिलाई भङ्ग गराई नयाँ निर्वाचन समिति बनाउन पनि माग गरेका छन् । बेलायतमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई सम्मिलित गरे मात्र चुनावको विश्वसनीयता रहने जिकिरसमेत उनले गरे । “निर्वाचन समितिमा दुई जना सदस्य थप्न पटक–पटक गरिएको आग्रहलाई लत्याएको परिणामस्वरुप अहिलेको वातावरण सिर्जना भएको हो”, कँडेलले भने, “बाहिर हल्ला भएजस्तो दुई वटा एनआरएन बनाउने पक्षमा म छैन ।” हल्लामा कुनै सत्यता नभएकोले त्यसको पछि नलाग्न पनि उनले सबै मित्रहरुलाई आग्रह गरे ।
कँडेलले पत्रकारको जिज्ञासामा आवश्यक परे उपाध्यक्ष पदबाट राजीनामा दिन तयार रहेको समेत बताए । आफ्ना मागलाई वैधानिक हिसाबबाटै सम्बोधन हुनुपर्ने कुरामा जोड दिँदै उनले तत्काल कार्यसमितिको बैठक बोलाएर छलफल गर्न आग्रह समेत गरे । “म आजै अध्यक्षलाई बैठक बोलाउन आग्रह गर्छु”, कँडेलले भने, “अध्यक्षले बैठक बोलाएर समस्याको सुल्झाउन पहल नगरे आफैं कार्यसमितिको बैठक बोलाउन पहल गर्छु ।”
पत्रकार सम्मेलनमा नागरिक मोर्चाका प्रमुख डा. चन्द्र लक्सम्वाले समाज टुक्रिनबाट बचाउन सबै पक्ष लाग्नु पर्ने विचार व्यक्त गरे । समाजमा विकृति बढेको छ, दक्ष मान्छेले भन्दा पैसावालाको हालीमुहाली बढ्नु एनआरएनका लागि दुर्भाग्य भएको उनले बताए । बेलायतबासी नेपाली समुदायलाई सदस्यताबाट वञ्चित गरेर एनआरएन यूकेको साधारणसभा हुनै नसक्ने उनले दाबी गरे ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदका सदस्य राजन कँडेलले निर्वाचन समितिका केही सदस्य र कार्यसमितिका केही सदस्यका कारण सदस्यता फारम बुझाउने वातावरण नभएको बताए । निर्वाचन समिति पुनर्गठन भए निर्वाचनमा प्रक्रियामा भाग लिन सकिने धारणा उनको थियो ।
-नेपाली पत्र सम्वाददाता
त्यस्तै, शिवजी श्रेष्ठले गैरआवासीय नेपाली संघ बेलायतले सबै पक्षको आवाजलाई सुन्नु पर्ने बताए । सम्मेलनमा नरेश काङमाङ राईले एनआरएनलाई काउन्सिलको अवधारणामा लानुपर्ने बताएका थिए । उनले यसरी सदस्यता बनाउँदा संस्था कमजोर हुने र नेपालीहरुको प्रतिनिधित्व सुनिश्चित नहुने हुनाले काउन्सिलकै स्वरुप निर्माण गर्नुपर्नेमा जोड दिए । एनआरएनए युकेका सल्लाहकार ज्ञान शेरचन निर्वाचनसम्बन्धी बनेको नियमावली अस्पष्ट भएको दलिल पेश गरेका थिए ।
एनआरएनए यूके उपाध्यक्षका प्रत्यासी हिराधन राईले चुनावी समितिका केही साथीहरु राम्रो नभएकाले यो अवस्था सिर्जना भएको बताए । “संघसंस्थाका प्रतिनिधिहरु चुनावी समितिमा राखिनुपर्ने मागमा सम्बोधन नभएकोले हामी बाहिरिएका हौं”, अध्यक्षका प्रत्यासी सूर्य नेम्वाङ नजिक रहेका उनले भने, “चुनावी समिति साथीहरुको व्यवहार देखेर हामीलाई शङ्का लाग्यो । आफ्ना माग पनि सुनुवाई नभएको, अध्यक्षका उम्मेदवार रामशरण सिंखडा आफैंले सदस्यता फर्म छानविन गरिरहेको अवस्थामा कसरी चुनाव निष्पक्ष हुन्छ ?” सदस्यता सुरक्षित नहुने देखेर हामी बाहिरिएका हौं राईले भने, “पोष्टलमा गएका हाम्रा सदस्यको विवरण समितिले देखाउनुपर्छ ।”
प्रतिक्रिया