बेष्ट रेमिट यूके र संसारा यूके एकआपसमा गाभिए

बेष्ट रेमिट यूके र संसारा यूके एकआपसमा गाभिए


rermitबेष्ट होल्डिङ्ग कम्पनी अन्तर्गतको बेष्ट रेमिट यूके र संसारा यूके एकआपसमा गाभिएर बेष्ट संसारा रेमिट भएको छ । बेष्ट रेमिट नेपालको कार्यालय सिभिल मल सुन्धारामा बेष्ट होल्डीङ्गका अध्यक्ष भीमकृष्ण उदास र संसारा नेपाल यूकेका अध्यक्ष राजाराम गिरीले दुई पक्षिय सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

यो सम्झौता पछि दुवै कम्पनीका सञ्जाल भएको मुलुकमा बेष्ट संसारा रेमिट हुने छ । एनआरएनहरुद्धारा संचालित बेष्ट रेमिट नेपालको छाता संस्था बेष्ट होल्डीङ्ग कम्पनीले संसारा यूकेसँग सहकार्य गरेपछि नेपालका ग्राहकहरुले अव बेष्ट रेमिटको एक हजार भन्दा बढि एजेण्ट तथा सब एजेण्ट मार्फत रेमिट्यान्स भुक्तानी तथा अन्य सुविधा प्राप्त गर्ने बेष्ट होल्डिङका अध्यक्ष उदासले जानकारी दिनु भयो ।

बेलायतमा पहिलो पटक बैकिङ्ग च्यानलको कारोवार गर्ने उद्देश्यले विगत ७ बर्षदेखि संचालित संसारा यूकेसँग बेष्ट रेमिटको सहकार्यले बैंकिङ्ग च्यानलवाट पैसा भित्राउन थप सहज हुने संसारा यूकेका अध्यक्ष गिरीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘बैंकवाटै पठाउ र बैंकवाट नै लिऔं भन्ने हाम्रो अभियान सार्थक बन्नेछ ।’

संसारा यूकेले पहिला दिदै आएको सेवा तथा सुविधालाई अझ विस्तार गर्नका लागि यो सम्झौता कोषेढुङ्गा हुने संसारा यूकेका अध्यक्ष गिरीले दावी गर्नुभयो । अहिले संसारा यूकेले बेलायतका विभिन्न शहरमा रहेका ८ वटा शाखावाट सेवा प्रदान गरिरहेको छ भने यो सम्झौतासँगै बेष्ट संसाराले चाँडै यूरोप, अमेरिका र अफ्रिकाका विभिन्न देशमा पनि सेवा विस्तार गर्ने जनाएको छ ।

बेष्ट होल्डिङ्गले यस भन्दा अगाडि बेष्ट रेमिट नेपाल, बेष्ट रेमिट हङकङ, बेष्ट रेमिट यूके, बेष्ट रेमिट यूएसए, बेष्ट रेमिट अष्ट्रेलिया तथा बेष्ट रेमिट जापानमा लगानी गरिसकेको जानकारी बेष्ट होल्डिङ्ग तथा बेष्ट रेमिटका प्रवन्ध निर्देशक श्याम तामाङले दिनुभयो ।

सो सम्झौताले हुण्डीलाई निरुत्साहित गर्ने र बैकिङ्ग च्यानलको प्रयोगमा थप हौसला पु¥याउने विश्वास लिइएको छ । अहिले बजारमा भएका रेमिट्यान्स कम्पनीहरुसँग प्रतिस्पर्धा भन्दा पनि नेपालका रेमिट कम्पनीहरुको पहुँच पुग्न नसकेको ठाउँमा यस रेमिटले सेवा विस्तार गर्ने बेष्ट होल्डिङ्गका अध्यक्ष उदासले जानकारी दिनुभयो । अव दशैं अगावै यूरोपका बेल्जियम, फ्रान्स र जर्मनीमा बेष्ट संसारा रेमिटको सेवा विस्तार गर्ने संसारा यूकेका अध्यक्ष गिरीले बताउनु भयो ।

बेष्ट रेमिटले नेपालका अधिकांश बैंक तथा वित्तिय संस्था रेमिट्यान्स सम्झौता गरी विदेशवाट पठाएका रेमिटलाई स्वदेशका विभिन्न ठाउँमा भुक्तानी दिदै आएको छ । फरक सोच र ग्लोवल रेमिट्यान्स गर्ने उद्धेश्यले स्थापनाको भएको बेष्ट रेमिट छोटो समयमा नै रेमिट्यान्सको जगतमा परिचित बनिसकेको छ ।

विदेशमा कमाएको पैसालाई छिटो, छरितो र सरल माध्यमवाट आफन्तको हातमा पु-याउनका लागि बेष्ट रेमिटले खेलेको भूमिकालाई थप सार्थक बनाउनका लागि यस्ता सम्झौता महत्वपूर्ण हुने विश्वास कम्पनीले लिएको छ ।