
१७ अगस्त २०१३, शनिवारको दिनमा बडो उल्लासमय वातावरण र सफा गृष्माकालीन् मौसमको अवसरलाई छोप्दै वेलिङ्, केन्ट स्थित सेन्ट माईकल कम्युनिटी सेन्टर हलमा पञ्चासे समाज यूकेको यस वर्षको वार्षिक भेला सम्पन्न भएको थियो । अध्यक्ष श्री सुमल कुमार गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि समाजकी बयोबृद्धा सदस्य श्रीमति बत्ती कुमारी गुरुङले अतिथ्यको आसन ग्रहण गरेकी थिईन् । समाजको महासचिव जया गुरुङले प्रथम चरणको औपचारिक कार्यक्रमलाई कार्यक्रमको परिचय, सुरक्षा र स्वास्थ्य सम्बन्धि जानकारी गराउँदै बडो सटिक ढंगले परिचालन गरेका थिए । समाजको पदाधिकारीहरु, सल्लाहकारहरु, सदस्यहरु तथा अतिथिहरुको आसन ग्रहण पश्चात कार्यक्रम शुरु भएको थियो । यस भव्य कार्यक्रमलाई २५० जनाको हाराहारीमा रहेका सदस्यहरु, समाजका चेलीबेटीहरु तथा जँुवाईहरुले समेत निम्तो स्वीकारेर सहभागिता जनाएका थिए । पञ्चासे समाज यूके, पञ्चासेको उत्तरी मोहोडाको सेरोफेरोमा बसेका गाउँहरु क्रमशः चित्रे, राम्जा, राँपु, गोतामेथर, ठाँटी, तिऊसिनाथर तथा त्यस वरिपरिका यूकेमा बसोबास गर्दै कर्मथलो बनाएका व्यक्तिहरुको संगठित समाज हो । समाजको यो भेला पाँचौ भेला थियो ।
यस कार्यक्रमलाई प्रमुख अतिथि तथा अध्यक्षको बाहुलीबाट बत्ती प्रज्वलन गरेर सम्पन्न गरेको थियो । कार्यक्रमको शुरुमा दुबै राष्ट्रहरुको सम्मानार्थ नेपाल र बेलायतका राष्ट्रिय गान बजाएर सहभागी सबैले खडा भएर सम्मान जनाएका थिए । कार्यक्रमको स्वागत मन्तव्य समाजका वरिष्ठ उपाध्यक्ष सन्त बहादुर गुरुङले दिएका थिए । त्यसपछि समाजका सदस्य श्री खुशीमान गुरुङको दिवङ्गत पिता, समाजसेवी, स्वर्गिय श्री प्रेमबहादुर गुरुङको सम्झनामा तथा वर्षभरि दिवङ्गत भएका व्यक्तिहरुको सम्झनामा उनिहरुको आत्माको चीरशान्तिका लागि एक मिनटको मौन धारण गरि श्रद्धाञ्जली अर्पण गरिएको थियो । मौन धारण पछि शुभकामना मन्तव्य दिने क्रममा समाजका भूतपूर्व अध्यक्ष तथा सल्लाहकार ले.रि. दान बहादुर गुरुङ, सल्लाहकार क्या.रि. भोग बहादुर गुरुङ तथा चेलीबटीहरुको तर्फबाट श्रीमति ईच्छा कुमारी गुरुङले आ–आप्mनो शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको थप रौनक समाजका नयाँ सदस्यहरु तथा शैक्षिक क्षेत्रमा विशेष उपलब्धि गरेका सदस्यहरुलाई खादा ओढाएर सम्मान गर्नु रहेको थियो । नयाँ सदस्यहरुलाई तथा अतिथिहरुलाई खादा ओढाएर उनिहरुको परिचय दिंदै सम्मान गरेको थियो । शैक्षिक क्षेत्रमा विशेष उपलब्धि हासिल गरेका समाजका सदस्यहरुलाई सदा झै सदाबहार हरि (काजी) गुरुङले बडो सटिक ढंगले स्वागत गर्दै अध्यक्ष तथा प्रमुख अतिथिको बाहुलीबाट खादा ओढाएर सम्मान गराएका थिए । सम्मान कार्यक्रम पछि त्यस कार्यक्रमको थप रौनकता समाजका विशेष व्यक्तिहरुबाट समाजको हितका लागि योगदान पुर्याएका व्यक्तित्वहरुलाई कदरपत्र प्रदान गरि कदर गर्दा अझ बढेको थियो । हल तालीको गडगडाहटले उल्लासमय बनेको थियो तथा त्यहाँ खुशीको माहौल व्यप्त थियो । यसरि दिन रोमञ्चित बन्दै कार्यक्रमलाई पूर्ण यौवन दिनेक्रम बढ्दै थियो । प्रथम चरणको कार्यक्रम अध्यक्ष सुमल कुमार गुरुङको धन्यवाद ज्ञापन पश्चात समाप्त भएको थियो । तर, दोश्रो चरणले उन्माद र खुशीको माहौल बोकेर आएको थियो । दोश्रो चरणको कार्यक्रमलाई समाजको कर्मठ सदस्य द्वय प्रदिप गुरुङ र सृष्टि गुरुङले परिचालन गरेका थिए । नृत्यकला, गायन र सङ्गीतका धनी पञ्चासे समाजका कलाकारहरुले स्टेजमा कौशलपूर्ण कला प्रस्तुत गरेर सहभागी सबैलाई भरपूर मनोरञ्जन दिएका थिए । त्यसपछि अन्तिम चरणमा खेलकुद र चिट्ठा खेललाई समाजका सदस्य श्रीमति सारादेवी गुरुङ र समाजका कोषाध्यक्ष टेक प्रसाद गुरुङले परिचालन गरेका थिए । यसरि यो अन्तिम चरणको कार्यक्रम समापन भएको थियो । साँझ ६ बजेपछि आधुनिक गीतहरु र लोकगीतहरुको सङ्गीतमा कार्यक्रमका सहभागीहरु सबैजना उल्लासित हुँदै अबेर रातसम्म नाच्दै झुमेका थिए ।
[youtube]http://www.youtube.com/watch?v=F3HF_hctMh8[/youtube]
प्रतिक्रिया