मेजर जर्नेल उमेश कुमार गुरुङ (एभीएसएम,वाईएसएम)लाई सम्मान

मेजर जर्नेल उमेश कुमार गुरुङ (एभीएसएम,वाईएसएम)लाई सम्मान


umeshलण्डन – मेजर जर्नेल उमेश कुमार गुरुङ, चित्रे–३ (बगालेटोल), पर्वतमा जन्मेर भारतमा शिक्षा प्राप्त गरेका हुन् । सानैदेखि अनुशासित तथा तीक्ष्ण बुद्धिका धनी उमेशले देहरादूनबाट उच्चतहको शिक्षा हासिल गरेपश्चात भारतीय सेनामा सैनिक अफसरको हैसियतमा कमिशन प्राप्त गरेका थिए । उनले भारतको गौरव मानिने शिख रेजिमेन्टमा नियुक्ति पाएका थिए । नेपालीहरु भारतीय सेनामा अफसरको हैसियतमा कैयौ छन् तर माथिल्लो तहको कमान सम्हाल्न एकाध मात्र पुग्छन् । जर्नेल सम्मका दर्जामा नेपाली नागरिक अहिलेसम्म कोही पुगेका थिएनन् । भारतको सैनिक इतिहासमा पहिलो नेपाली नागरिकपत्र वाहक मेजर जर्नेल उमेश कुमार गुरुङ हुन् । उसरी यसभन्दा माथिका तहमा अरु नेपाली मूलका भारतीय नागरिकहरुले लेफ्टिनेनन्ट जर्नेलसम्मको दर्जा प्राप्त गरिसकेका छन् । उनका जेठो दाइ, लेफ्टिनेन्ट जर्नेल (सेवा निवृत्त) चित्र बहादुर गुरुङ नेपाली सेनाका उच्चकोटीका जर्नेलहरुमा गनिन्छ ।
यसरी एकै बुवाअमाबाट जन्मेका दुई भाइहरु नेपालमा र भारतवर्षमा जर्नेल पदसम्म पुग्ने विरलै पाइन्छ । मेजर जर्नेल उमेश कुमार गुरुङ, एभिएसएम, वाईएसएमलाई भारतीय सेनामा उनले विशिष्ट सेवा योगदान गरेवापत उनलाई पहिले वाईएसएम (युद्ध सेवा मेडल) अनि पछि (एभीएसएम) अति विशिष्ट सेवा मेडलद्वारा पुरस्कृत गरेको छ । एभिएसएम विशेष गरि वरिष्ठ सैनिक अधिकारीहरुलाई मात्र प्रदान गरिन्छ । उनको सैनिक जीवनकालमा उनले भारतको विभिन्न क्षेत्रमा (युद्ध क्षेत्र वा शान्ति क्षेत्र) मा सेवा गरेका छन् । आफ्नो सैनिक जीवनकालमा महत्वपूर्ण प्रशिक्षणहरुमा अव्वल दर्जा हासिल गरेर भारतको विशेष प्रशिक्षण केन्द्रहरु क्रमशः मऊ तथा वरिष्ठ सैनिक अधिकृतहरुका स्टाफ कलेज वेलिङ्टनमा समेत प्रशिक्षक रहिसकेका छन् । यस्ता होनहार नेपालीआमाको सपुतलाई उनको छोटो बेलायत भ्रमणको अवसर पारेर तमूधिं यूके तथा पञ्चासे समाज यूकेले आज बेलुकि मिचेटमास्थित नेपाली तमूधि यूकेका सभाहलमा विशेष समारोहको आयोजना गरेर उनलाई स्वागत तथा सम्मान गरेको थियो । अध्यक्ष कमल गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई तमूधिं यूकेका महासचिव नन्दजंग गुरुङले सञ्चालन गरेका थिए । औपचारिक कार्यक्रममा तमूधिं यूकेका अध्यक्ष तथा तमुधिं आमासमूहकी अध्यक्ष पुनम गुरुङले जर्नेल दम्पतीलाई पुष्पगुच्छा तथा खादा ओढाएर सम्मान गरेका थिए । त्यसै क्रममा पञ्चासे समाज यूकेका संस्थापक अध्यक्ष तथा समाजका सल्लाहकार ले.रि. दानबहादुर गुरुङले पुष्पगुच्छा तथा खादा ओढाएर जर्नेल दम्पतिलाई स्वागत तथा सम्मान गरेका थिए । यस कार्यक्रममा हरिकाजी गुरुङले मेजर जर्नेल उमेश कुमार गुरुङको जीवनी बारे प्रकाश पारेका थिए । मन्तव्य दिने क्रममा जर्नेल उमेश कुमार गुरुङले सन्तानलाई शिक्षाको महत्वबारे चेतना दिनुपर्छ भनेर आफ्नो विचार पोखेका थिए ।