आदरणीय प्रवासी नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरु, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति तथा एनआरएनए यूके राष्ट्रिय समिति/परिषदका पदाधिकारी तथा सदस्यज्यूहरु,
एनआरएनए राष्ट्रिय समितिको निर्वाचनको सिलसिलामा विभिन्न मुलुकमा अस्वस्थ गतिविधि भईरहेको कुराहरु विभिन्न सञ्चारमाध्यमबाट जानकारीमा आईरहेका छन् । बेलायतमा पनि राष्ट्रिय समितिको निर्वाचनको सिलसिलामा अत्यन्त चर्को विवाद सिर्जना भएको छ । परिणामस्वरुप समानान्तर दुईवोटा कार्यसमिति समेत निर्विरोध निर्वाचित भइसकेको घोषणा भइसकेको छ र १५ सेप्टेम्बरको दिनमा नै दुईतिर महाधिवेशनसमेत हुन गईरहेको छ । अहिले जुन खालको विवाद र फुटको अप्रिय स्थिति देखापरेको छ यसले विश्वव्यापीरुपमा नै एनआरएन आन्दोलन प्रभावित हुन जाने कुरामा कुनै शंका छैन । समानान्तर संगठन बन्नु वा घोषितरुपमा संगठन विभाजन हुनुले एनआरएन आन्दोलनलाई फाइदा पुग्दैन भन्ने हाम्रो ठहर रहेको छ ।
अहिले निर्वाचनको सिलसिलामा जुन विसंगती तथा विवादहरु देखा परेका छन्, यो सबै रातारात विकास भएका घटनाक्रमहरु होइनन् । अन्तर्राष्ट्रिय समन्वय समिति र राष्ट्रिय समितिले लिएको असामयिक नीति तथा कार्यशैली, संगठनलाई आफ्नो स्वार्थमा उपयोग गर्ने गलत सोच, गैर समावेशी चरित्र, काम भन्दा नामको लागि पद हत्याउन जस्तोसुकै निम्नस्तरको कृयाकलाप गर्न तयार हुने प्रवृत्ति, संगठनलाई आम गैरआवासीय नेपालीको माझमा पु-याउनुको सट्टा सिमित व्यक्ति, समुदाय वा एलिट वर्गमा केन्द्रित गर्ने परिपाटी आदिजस्ता कुराले अहिलेको यो विस्फोटक स्थिति सिर्जना भएको हो भन्ने हामीले ठानेका छौँ ।
स्थापना भएको १० वर्ष पुग्दा पनि संगठन दर्ता गर्न नसक्नुलाई सामान्य असफलता मात्र भन्न सकिन्न । संस्थाले आम गैरआवासीय नेपालीहरुको लागि नेपालमा लगानीमैत्री वातावरण बनाउन नेपाल सरकारसँग नीतिगत सुधारको लागि पहल गर्नु पर्नेमा त्यसो नगरी सिङ्गो संगठनलाई परिचालन गरेर संगठनकै पहलमा कम्पनी दर्ता हुनु, रकम संकलन गर्न अभियान नै सञ्चालन गर्नु जस्ता कुराहरुलाई सिद्धान्ततः सही मान्न सकिन्न । एनआरएनए विसुद्ध गैर व्यापारिक र गैर नाफामुलक संस्था हो भन्ने कुरा यसका जिम्मेवार व्यक्तिहरुले याद गरेनन् वा याद गर्न चाहेनन् । यसरी संगठन उद्देश्य विमुख हुँदै गएकोले आफ्ना मागहरु पुरा गराउने सवालमा संस्थाको अडान तथा बार्गेनिङ क्षमतामा ह्रास आउन थाल्यो । परिणामस्वरुप संगठन दर्ताजस्तो सामान्य काममा पनि अन्तर्राष्ट्रिय समितिले सफलता पाउन सकेन भने दोहोरो नागरिकताको सवाल त धेरै परको कुरा हुन पुग्यो ।
प्रत्येक देशको सदस्य संख्याको आधारमा अन्तर्राष्ट्रिय समितिमा प्रतिनिधित्व गर्ने जुन व्यवस्था गरियो, यसले हरेक देशमा विकृति ल्याउने काम गरेको थाहा पाउँदा पाउँदै पनि यसलाई सुधार गर्न नलाग्नुलाई आईसीसीको गंभीर कमजोरीको रुपमा लिनुपर्छ । अन्तर्राष्ट्रिय समितिमा जान चाहनेले आफैले शुल्क तिरेर सदस्य बनाउने कामले आईसीसी र राष्ट्रिय समितिको कोष बलियो भयो होला तर यसले पुरै संगठनलाई कमजोर बनाई दियो । सदस्यको आधारमा नभई नेपालीहरुको बसोबास संख्याको आधारमा प्रतिनिधित्व गर्ने व्यवस्था गरेको भए, अहिले जुन अस्वीकार्य गतिविधिको कारण संगठन ठट्टाको पात्र बनेको छ, यस्तो अवस्था आउने थिएन ।
आइसीसीको निर्वाचनको सिलसिलामा गत विश्व सम्मेलनमा काठमाडौंमा जे–जस्ता गलत कृयाकलाप भए, त्यसले सबै गैरआवासीय नेपालीहरुको मानमर्दन भएको छ । संगठनभित्र प्रजातान्त्रिक परिपाटीलाई संस्थागत गर्नु पर्नेमा त्यसो नगरिएको कारण विगतको निर्वाचनमा जुन घटनाहरु भए, त्यसबाट पनि आइसीसीले शिक्षा लिइएको देखिएन । यसपटक पनि आन्तरिक प्रजातान्त्रिक अभ्यासलाई संस्थागत गर्ने कुनै प्रयास भएको देखिएको छैन ।
यस्तैगरी बेलायतस्थित एनआरएनएमा देखिएको विवाद समाधानमा आइसीसीको अहिलेसम्म सक्रिय भूमिका देखिएको छैन । जुन देशबाट आईसीसीमा उपाध्यक्ष, प्रवक्ता र युरोपको क्षेत्रीय सह–संयोजक जस्ता महत्वपूर्ण प्रतिनिधित्व छ, त्यही देशमा यो अवस्था आउनु दुर्भाग्यको कुरा हो । आवश्यकपर्दा मध्यस्थकर्ता वा निर्णयकर्ताको रुपमा कार्य गर्नु पर्ने आइसीसी प्रवक्तालाई निवार्चन समितिको संयोजक तोक्ने एनआरएनए यूके र सो कार्यको जिम्मेवारी लिन तयार आइसीसी प्रवक्ताको कार्यलाई उचित मान्न सकिन्न ।
गत निर्वाचनको समयमा नै सदस्यता वितरणको नाममा सदस्यता खरीद गर्ने काम भएको थियो । त्यतिखेर पनि यो गलत प्रवृत्ति भयो र यसलाई सच्याउनु पर्छ भन्ने कुराहरु सशक्त रुपमा उठेका थिए । तर एनआरएनए यूकेको राष्ट्रिय समितिले त्यो निर्वाचनबाट पाठ सिकेर गलत प्रवृतिलाई कसरी हटाउने भन्ने कुरामा कुनै ध्यान दिएन । बोराको सट्टामा एक जनाले १०० जना सदस्यहरुको विवरण सहितको सदस्यता फाराम झोलामा बोक्न पाउने गरियो । यो आफैमा कानून सम्मत थिएन । बोराको सट्टा झोलामा फाराम ल्याउन पाउने कुराले पनि सदस्यता खरिद गर्न पाउने कुरालाई सैद्धान्तिक रुपमा लालमोहर लगाउने काम ग-यो । यसको परिणामस्वरुप एनआरएनए यूके पैसा खर्च गरेमा पद किन्न पाइने बेलायत जस्तो मुलुकको एक्काइसौँ शताव्दीको लज्जास्पद संस्था बन्न पुग्यो ।
सही पद्धती लागु नगर्ने, लज्जाजनक विकृति फैलाउने, संस्थालाई प्राइभेट लिमिटेड कम्पनी वा क्लब जस्तो ठान्ने, एनआरएनको प्रमुख उद्देश्य परित्याग गरी व्यापार–व्यवसायको लागि भ-याङ बनाउने, एनआरएनएको पद कामको लागि भन्दा नामको लागि लिन खोज्ने, गैर आवासीय नेपालीको हितमा गर्न मिल्ने र सकिनेसम्मको अडान नराख्ने तथा बार्गेनिङ पनि नगर्ने, आम प्रवासी नेपालीलाई कसरी एनआरएन अभियानमा सक्रिय बनाउन सकिन्छ भन्ने बारेमा कुनै चासो नराख्ने लगायतका थुप्रै कुराहरुप्रति हामी समस्त एनआरएन यूके नागरिक समाजको तर्फबाट असहमति प्रकट गर्दछौँ । तर, हामी अझै एनआरएन अभियानलाई एकतावद्ध भएर अगाडि बढाउनु पर्छ भन्ने कुरामा दृढ छौ । त्यसैले एनआरएनए आइसीसी र एनआरएनए यूकेले गरिहाल्नु पर्ने केही सुझावहरु तल प्रस्तुत गरेका छौँ ।
अन्तर्राष्ट्रिय समन्वय परिषदको लागि सुझाव :
=========================
१. विधानको परिभाषा अनुसार गैरआवासीय नेपालीको सक्रिय सहभागिता बढाउनाको लागि सदस्यताको विद्यमान व्यवस्थामा आवश्यक परिवर्तन गरियोस् ।
२. गैरआवासीय नेपाली मध्ये गोर्खा सैनिकहरु भिन्न ढंगले गैरआवासीय नेपाली बनाइएका हुन् । त्यसैले उनीहरुको आइसीसीमा विशेष प्रतिनिधित्वको व्यवस्था मिलाईयोस् ।
३. सदस्य संख्याको आधारमा आइसीसीमा प्रतिनिधित्व गर्ने व्यवस्थाको कारण भित्रिएको विकृतिलाई हटाउन हरेक देशमा रहेका नेपालीहरुको अनुमानित संख्याको आधारमा प्रतिनिधि संख्या कायम गरियोस् ।
४. संस्थामा प्रजातान्त्रिक अभ्यास कसरी संस्थागत गर्न सकिन्छ, त्यसको लागि ठोस कदम अविलम्व चालियोस् ।
५. नेपाल सरकारले मागेर दोहोरो नागरिकता दिनेवाला छैन । त्यसैले यो संघर्ष गरेर लिनु पर्छ भन्ने कुरामा स्पष्ट हुनु जरुरी छ । त्यसैले संगठनलाई कुटनीतिक मात्र होइन संघर्षशील पनि बनाउने नीति तथा कार्यक्रम तय गरियोस् ।
६. संस्थाको हरहिसाब प्रत्येक वर्ष रजिस्टर्ड लेखापरिक्षकबाट लेखापरिक्षण गराइयोस् । साथै आम्दानी खर्चको वृस्तित विवरण वेभसाइट मार्फत पारदर्शी बनाइयोस् ।
७. विभिन्न मुलुकमा रहेका राष्ट्रिय समितिहरुमा आम गैर आवासीय नेपालीहरुको सहभागिता रहोस् भन्नाको लागि काउन्सिल अवधारणालाई अगाडि बढाइयोस् ।
८. संस्थाको पहलमा व्यापारिक प्रतिष्ठान बनाउने वा पूँजी संकलन गर्ने कार्यलाई दुरुत्साहित गरियोस् । लगानीमैत्री वातावरण निर्माण गर्ने कार्यमा मात्र संस्थालाई सिमित राखियोस् ।
एनआरएनए यूकेको लागि सुझाव :
===================
१. विधानको परिभाषाले समेटिने सबै बेलायतवासी नेपालीहरु स्वतः सदस्य हुने मताधिकार लगायतको अधिकार प्राप्त गर्ने व्यवस्था गरियोस् ।
२. हुलाक मतदानको व्यवस्था खारेज गरी बेलायतभरि बढी भन्दा बढी ठाउँमा मतदान केन्द्र राखी गैर आवासीय नेपालीको परिभाषाभित्र पर्ने प्रमाण तथा परिचय पत्र देखाएर प्रत्यक्ष उपस्थितिमा मतदान गर्ने व्यवस्था गरियोस् ।
३. एनआरएनए यूकेको विद्यमान सांगठानिक स्वरुपले ल्याएको विकृतिलाई रोक्न तथा संघको लक्ष्य र उद्देश्यको मूलप्रवाहलाई आत्मासात गरी यूकेमा स्थापित भई सकृयरुपमा सञ्चालन भइरहेका नेपाली संघ–संगठनहरुको साझा प्रतिनिधित्वमूलक नेतृत्यदायी छाता संगठनको रुपमा एनआरएनए यूकेलाई स्थापित गरी काउन्सिलको अवधारणालाई लागु गरियोस् ।
४. सम्पूर्ण आम्दानी तथा खर्चको वृस्तित विवरण वेबसाइटमा राखी हिसाब किताब पारदर्शी गरियोस् तथा रजिष्टर्ड लेखापरिक्षकद्वारा लेखापरिक्षण गर्ने व्यवस्था गरियोस् ।
५. केही संभ्रान्त, धनिमानी तथा एलिट समुदायले मात्र आफ्नो वर्चश्व कायम राख्ने गरी संस्था संचालन भईरहेकोले, यो गलत कार्यलाई निरुत्साहित गर्दै संस्थालाई समतामूलक, समावेशी र प्रतिनिधिमूलक बनाई आम बेलायतवासी नेपालीको सुख–दुःखको साथी बन्न सक्ने अवस्था सिर्जना गरियोस् ।
आशा छ, एनआरएन यूके नागरिक समाजको तर्फबाट हामीले राखेको यी सुझाबहरुलाई एनआरएनए आईसीसी तथा एनआएनए यूकेले गंभीरता पूर्वक लिएर संगठनलाई एकतावद्ध बनाउन समयमा नै ठोस कदम चाल्ने छ । सदासयतापूर्वक आएका हाम्रा यी सुझावहरुलाई पूर्वाग्रह राखी एनआरएन आभियान उही असफल भईसकेको नीतिगत प्रस्थापना र सांगठानिक संरचनामा अगाडि बढाउनेतर्फ वर्तमान एनआरएन नेतृत्व उद्यत रहेमा एनआरएन अभियानलाई सही दिशामा हिँडाउन असम्भव प्रायः छ । तसर्थ यस अभियानमा सहभागी सक्रिय सदस्यहरु, शुभचिन्तकहरु एवं नागरिक समाजमा वितृष्णा आउनु अगावै यसलाई गंभिरताकासाथ लिई तत्काल उपयुक्त कदम चाल्नु हुन सम्बन्धित सबैमा विनम्र अनुरोध गर्दछौँ ।
अपिलकर्ताहरु
=========
१. डा. राघव धिताल, ओबीई, लण्डन
२. खगेन्द्र नेपाली, लण्डन
३. बी के पाण्डे, पिटरबरो
४. शीवजी श्रेष्ठ, काडिर्फ
५. सिरीप्रसाद लिम्बू, आश्फोर्ड
६. चिरन्जीवी ढकाल, लण्डन
७. आङकल्जंग लामा, लण्डन
८. चण्डिराज राई, फक्स्टन
९. विश्वासदीप तिगेला, फक्स्टन
१०. सुरेशजंग शाह, लण्डन
११. उमेश मोक्तान, लण्डन
१२. नरेश काङमाङ राई, ह्यारो
१३. बिनोद मोक्तान, लण्डन
१४. शशी थापा सुब्बा, लण्डन
१५. जंग सुनुवार, फार्नबरो
१६. सुबासिं गुरुङ, लण्डन
१७. अर्क तिमिल्सिना, प्लमस्टिड
१८. शंकर दाहाल, लण्डन
१९. टीका लिम्बू, स्कटल्याण्ड
२०. प्रसाद थेवे, लण्डन
२१. नरेन्द्र इदिंगो, वेल्स
२२. बद्री योंग्या, वेल्स
२३. लेखनाथ पाण्डे, प्लमस्टिड
२४. डम्बर लिम्बू, प्लमस्टिड
२५. श्रीमती धनसरी राई, स्याण्डहस्र्ट
२६. भोला खनाल, लण्डन
२७. दीपक शेरचन, प्लमस्टिड
२८. महेश अधिकारी, पिटरबरो
२९. गोविन्द बेलबासे, पिटरबरो
३०. पवन शर्मा, पिटरबरो
३१. गजेन्द्र मादेन, मेडस्टोन
३२. वाचस्पति रेग्मी, क्याम्बर्ली
३३. होम सुनुवार, फार्नबरो
३४. किरण राई, आश्फोर्ड
३५ कमला थापा
३६. डा. चन्द्र लक्सम्बा, क्याम्बर्ली
मिति : १० सेप्टेम्बर २०१३
-Src-satyatathya masik
प्रतिक्रिया