बाबा रामदेवलाई यूकेले अध्यागमनमा रोक्यो

बाबा रामदेवलाई यूकेले अध्यागमनमा रोक्यो


ramdevलण्डन । पतांजली योग पीठ बेलायतले संचालन गर्न लागेको योग शिविरलाई सम्वोधन गर्न बेलायत आएका बाबा रामदेवलाई हिजो आठ घण्टासम्म बेलायत अध्यागमनले हिथ्रो एयरपोर्टमा रोकेर राख्यो । आज विहान लामटन पार्क हलमा भएको योग चर्चामा बोल्दै बाबा रामदेवले यो कुराको पुष्टि गरेका थिए । बाबा रामदेवले भनेका थिए — “मलाई एक पाकिस्तानी मूलकी महिला अधिकारीले …’तिमी एकछिन यता आऊ, तिम्रो नाममा रेड अलर्ट आएको छ, पूरा जांच गर्नुपर्छ’ भनिन् । पछि मेरो पूरा सामान जांच गरियो र मेरा योगसम्वन्धी लेखलाई …’हिन्दीमा रहेछन हामीले बुझ्दैनौं, उल्था गर्नु पर्छ’ भनियो, मैले जवाफ दिएँ …यो त तिम्रो जीवनभर लाग्छ उल्था गर्नलाई, मसँग त वेदका सबै लेख र उपचार विधि छन् ।… पछि एकजना एम पी आएर जिम्मा लिएपछि मात्र मलाई छोडियो । यो विदेशबाट गएर भारतमा बस्ने एक महिलाको करतुत हो तर धन्य भगवान्, बेलायती सरकार धेरैबेर त्यो भ्रममा बसेनन् । पछि मात्र मलाई थाहा भयो रेड अलर्ट त आतंकवादीलाई लाग्दो रहेछ, म धर्मवादी, योगवादी, राष्ट्रवादी र स्वास्थ्यवादी हुं, कसरी यो रेड अलर्ट लाग्यो ?” —उनको यो प्रश्न थियो । बाबा रामदेवलाई स्वागत गर्दै विभिन्न भारतीय मूलका वक्ताहरुले उक्त विषयमा चिन्ता व्यक्त गर्दै जो कोही भए पनि कानुनको दायरमा ल्याई छोड्ने प्रण गरेका थिए ।
बाबा रामदेवलाई नेपाली योग समूहवाट पनि ढाका टोपी र फूलमाला लगाई स्वागत गरिएको थियो । ८०० जना क्षमता भएको यो हलमा मानिसको भीड भएका कारण सहभागीले योग गर्न भने पाएनन्, केवल बाबा रामदेवले योगको महत्व र वैज्ञानिक प्रमाण, तथा योग विधि आफैले गरेर देखाएका थिए । उनको प्रस्तुतिमा बेलाबेला भारतीय राजनीतिको गन्ध पनि आएको थियो । भारतीय सहभागीकाबीच नगन्य भए तापनि नेपालीहरुको पनि उल्लेख्य सहभागिता थियो जसमा पताञ्जली योग पीठ नेपाली समूहका अध्यक्ष तथा योग शिक्षक आत्माराम दाहाल निकै सक्रिय थिए ।