एनआरएन आईसीसीका उपाध्यक्ष गुरुङ युरोप दौडाहामा

एनआरएन आईसीसीका उपाध्यक्ष गुरुङ युरोप दौडाहामा


hitmanलण्डन । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएन आईसीसी) को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका वर्तमान उपाध्यक्ष क्या.रि. हितमान गुरुङ (एमबीई) युरोपमा चुनावी माहौल बनाउन व्यस्त छन् ।
एनआरएनए यूकेमा छलफल चलाइसकेपछि उनी युरोप लागेका हुन् । गुरुङले गत आइतबार एनआरएनए बेल्जियमका पदाधिकारीहरुसँग आफ्नो अभियानका बारेमा परामर्श गरेका थिए । बेल्जियम रहँदा विवादित दुवै पक्षहरुसँग भेटघाट गरी एनआरएन अभियानमा मिलेर जान सुझावसमेत दिए । एनआरएए बेल्जियमका नवनिर्वाचित अध्यक्ष प्रेम गुरुङ, निवर्तमान अध्यक्षा जानकी गुरुङ तथा असन्तुष्ट समूहका पीजी शेर्पासँगको भेटमा समस्या समाधान गर्न र आपसमा मिलेर जानुपर्नेमा गुरुङले जोड दिएका थिए । बेल्जियममा उनले आईसीसी सदस्य अर्जुन श्रेष्ठ, रबिन्द्र श्रेष्ठ लगायतसँग पनि छलफल गरेका थिए । त्यस्तै एनआरएनए बेल्जियमले आयोजना गरेको रात्रिभोजमा गुरुङ र नेपाली सेनाका उपरथी बालानन्द शर्मा पनि सहभागि थिए ।
त्यस्तै गुरुङले एनआरएनए नेदरल्याण्डका अध्यक्ष कृष्ण अधिकारीलगायत पदाधिकारीहरुसँग पनि भेट गर्न भ्याए । भेटमा आफूले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएकोबारे जानकारी गराउँदै गुरुङले समस्त युरोप एक भएर नेतृत्व चयन गर्न लाग्नुपर्नेमा जोड दिएका थिए । सो भेटमा अधिकारीले युरोपको एकै आवाज बनाउन आफूले सक्दो भूमिका निर्वाह गर्ने जानकारी दिएका थिए ।
बुधबार साँझ जर्मनको फ्रयाङ्फर्ट पुगेका गुरुङले युरोप क्षेत्रीय संयोजक कुमार पन्त, एनआरएनए जर्मनका पदाधिकारी तथा संरक्षक रामप्रताप थापासँग भेटघाट गरेका थिए । भेटमा गुरुङले आगामी निर्वाचनमा आफूलाई सघाउन आग्रह गरिएको बुझिएको छ । सो अवसरमा उनीहरुबीच एनआरएनका विविध पक्षहरुबारेपनि छलफल भएको थियो । -धर्मराज अधिकारी