- रामभरत साह, जनकपुरधाम
नेपाली काङ्ग्रेस धनुषाले जिल्ला अधिवेशन भएको झन्डै डेढ वर्षपछि केही सदस्य मनोनीत गरेको छ । ०७६ साल वैशाख ६ गते धनुषा काङ्ग्रेसले मनोनीत गर्नुपर्ने १४ सदस्यमध्ये नौजना मात्र मनोनीत गरेको छ भने पाँचजना मनोनीत गर्न नसकेर जिल्ला कार्यसमितिलाई अधुरो राखी पूर्णता प्रदान गर्न सकेको छैन ।
पार्टीभित्रका सर्वपक्षीय सहमतिमा गठन भएको सहमतीय सभापति महेशशङ्कर गिरीले गत शुक्रबार नेपाली काङ्ग्रेसको विधान २०१७ को धारा १० को उपधारा २(क) को खण्ड ७ (ख) एवम् नियमावली २०६८ को नियम ४९ बमोजिम नेपाली काङ्ग्रेस पार्टीको १३औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमितिको विस्तारसम्बन्धी जानकारी केन्द्रीय र जिल्लास्तरीय नेता तथा कार्यकर्ताको उपस्थितिमा गराएका थिए ।
सभापति गिरीले जिल्ला कार्यसमिति विस्तारको क्रममा सदस्य, स्थायी आमन्त्रित सदस्य र आमन्त्रित सदस्यलाई गत शुक्रबार (६ वैशाख) मनोनीत गरेका छन् । यसरी मनोनीत हुने सदस्यमा किशोरी साह, प्रफुल्लकुमार घिमिरे, राजकिशोर सिंह, उमेशकुमार साह, देवेन्द्रकुमार भरखरे, प्रवेशकुमार चौधरी, जोगेन्द्र साह, रामपुकार साफी र श्यामसुन्दर चौधरी रहेका छन् । श्यामसुन्दर चौधरी नवप्रवेशी काङ्ग्रेसी हुन् भने किशोरी साह, राजकिशोर सिंह र उमेशकुमार साह पटकपटक दोहोरिने नाम हुन् ।
त्यस्तै विधि जिल्ला कार्यसमितिका निम्ति केही महिनाका लागि भए पनि सभापति गिरीले स्थायी आमन्त्रित सदस्यहरूमा उही पगरीधारीहरूलाई जो अन्य पदमा समेत आसीन भएकाहरूलाई सम्मानस्वरूप राखेका छन् । जसमा नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य आनन्द ढुङ्गाना, रामकृष्ण यादव, महेन्द्र यादव परेका छन् भने वर्तमान सङ्घीय सांसद स्मृतिनारायण चौधरी, प्रदेश सांसद तथा प्रदेश नम्बर २ नेपाली काङ्ग्रेसका संसदीय दलका नेता रामसरोज यादव, दुईपटक संविधानसभा र वर्तमानमा प्रतिनिधिसभा सदस्य मीनाक्षी झा, एकपटक संविधानसभा र वर्तमान प्रतिनिधिसभा सदस्य मुक्ता यादव, वर्तमान प्रदेश सभा सदस्य र संविधानसभाका पूर्वसदस्य श्रीमती सरस्वती चौधरी, एकपटक संविधानसभा र वर्तमानमा प्रदेश सभा सदस्य प्रमिलादेवी दास, नवप्रवेशी काङ्ग्रेस वर्तमानमा प्रदेश सभा सदस्य शिवचन्द्र चौधरी, संविधानसभाका पूर्वसदस्य प्रेमकिशोरप्रसाद साह, डा. चन्द्रमोहन यादव, रामउद्गार यादव, वासुलाल महतो, राजदेव यादव र श्यामप्रसाद साह मनोनीत भएका छन् ।
त्यस्तैगरी आमन्त्रित सदस्यहरूमा प्रतिनिधिसभाका पूर्वसदस्य शिवधारी यादव, प्रतिनिधिसभाका पूर्वसदस्य दिनेशप्रसाद प्रसैला, संविधानसभाका पूर्वसदस्य श्रीमती लक्ष्मी भण्डारी, पुष्पलता लामा, आमन्त्रित पूर्वकेन्द्रीय सदस्य भोला चौधरी, दिगम्बर राय, गणेश तिवारी, सुशील घिमिरे, कुँवरकान्त झा, जगतसुन्दर साह, कोमलकान्त झा, शत्रुधन यादव, हरिशंकर साह, रामकृष्ण मण्डल, प्रेमचन्द्र झा, सुधीरकुमार गोइत, सुदेशकुमार चौधरी, प्रदीपकुमार यादव, उत्तिमप्रसाद मण्डल, रामप्रसाद पञ्जियार र प्रदीपकुमार चौधरी मनोनीत भएका छन् । यसरी मनोनयन गरिएका अधिकांश जिल्ला सदस्य, स्थायी आमन्त्रित र आमन्त्रित सदस्यहरू सधैँ पदमा रहँदै आएका, पटकपटक मनोनीत, चुनावमा टिकट पाउने, केन्द्रदेखि जिल्लामा कुनै न कुनै पदमा रहिआएका पूर्व र वर्तमानमा अन्य पदमा स्थापित रहेकाहरू मात्र रहेका छन् ।
प्रतिक्रिया