लण्डन — यो ध्रुव सत्य हो २०० वर्षदेखि गोरखाली फौजको योगदानबाट बेलायतले आफ्नो प्रभाव सारा संसारमा नै फैलाउँदै आएको छ । यदि १८५७ सालमा श्री ३ जंगबहादुर राणाको नेतृत्वमा गएका आठवटा –नेपाली (गोरखाली रेजिमेन्ट) सहित बेलायत (ईष्ट ईण्डिया कम्पनी)ले सन् १८१५सालदेखि भर्ती शुरु गरेको गोरखाली फौजीबल नभईदिएको भए १८५७ सालको गदर अर्थात भारतको पहिलो स्वतन्त्रताको लडाई सिपाही विद्रोहलाई बेलायतले कदापी दमन गर्न सक्ने थिएन । झाँसीकी रानी लक्ष्मिबाई तथा ताँतिया टोपे जस्ता देशभक्त भारतीयहरु फिरङ्गीहरुलाई भारतबाट त्यतिबेला नै लखेट्ने ताकत राख्दथे । मङ्गल सिंह नामक सिपाहीबाट सल्केको आगोले त्यतिबेला भारतवासीहरुको मुटू जलिरहेको थियो । वफादार तथा मित्रहरुको लागि ज्यान दिने नेपालीहरुको मददबाट त्यो आगो निभाउन सफल भएको थियो । अतः बेलायतले भारतवर्षमाथि थप अर्को नब्बे वर्षसम्म शासन गरेको थियो । यस शासन अवधिभित्र भारतबाट बेलायतले धेरै फायदा उठाउन सफल भएको थियो । बेलायतका लागि गोरखाली फौजले विश्वको दुई महासमरहरु साथै विश्वमा लडिएका ठूला लडाईहरु सबै लडेका छन् । गोरखालीकै बाहुबल र पराक्रमबाट ती सबै युद्धहरुमा विजय हासिल गर्न बेलायत सफल भएको छ । नेपाल जस्तो भूपरिवेष्टित र गरिब मुलुकका जनताहरु वाध्यतावश तथा देशका शासकहरुको निकम्मपन्बाट पीडित भएर आफ्नो आर्थिक टेवा पुरा गर्न विदेश पलायन हुँदै आएको. पनि २०० वर्ष पुग्नै लागेको छ । एक दुई दशकयतादेखि बेलायतले गोरखालीहरुको योगदानलाई कदर गर्दै केहि सम्मान योग्य कार्यहरु ढिलै भएपनि गर्दै आएको छ । तर, ती सहयोगहरुले २०० वर्षदेखिका गोरखालीको अपार योगदानको मुल्य भने कदापि चुक्ता गर्न सकिदैन । बेलायतमा गोरखालीहरुका योगदानको कदर गरेर विन्चेस्टरमा एउटा गोरखा म्युजियमको स्थापना गरेको छ । त्यस म्युजियमभित्रका भित्ताहरु गोरखाली वीरगाथाको अभिलेखहरुले सज्जिएका छन् । सानो म्युजियमभित्र २०० वर्षदेखिको ईतिहासलाई अटाउने प्रयास गरेको छ । ध्वनी, चित्र, फोटाहरु, मुर्तिहरु र गोरखालीहरुले चलाउने हतियारहरुको प्रस्तुतिले त्यहाँ कैयौ समरहरु लडेर गोर्खालीहरुले बगाएका आलो रगतको अनुभूति दिन्छ । गोरखाली संस्कार, धर्म र ईतिहासबारे राम्रो प्रस्तुति छ । गोरखालीहरुले गर्वगर्ने बेलायतको एउटा स्थल विन्चेस्टर गोरखा म्युजियम हो । धेरै कममात्रमा नेपालीहरु जाने यस म्युजियममा एक जना नेपाली बहिनी कार्यरत् छिन् । बेलायतका प्रत्येक नेपालीले एक पटक पुग्नै पर्ने म्युजियम हो गोरखा म्युजियम विन्चेस्टर । रेल स्टेशनबाट केवल चार मिनटमा पुाग्ने म्युजियममा गएर गोरखालीको ईतिहास र गौरवगाथा बुझ्ने प्रयास गर्नुहोला भन्ने हार्दिक अनुरोध गरिन्छ ।
प्रतिक्रिया