अनेसास बेलायतको मोतीजयन्ती

अनेसास बेलायतको मोतीजयन्ती


inls picturteलण्डन – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतले हिजो आईतवार, २९ सेप्टेम्बर २०१३का दिन एक्टन टाउन, लण्डन स्थित एबीआई कलेजमा बडो रमाइलो गरेर मोती जयन्ती मनाएको छ । १४८औ मोती जयन्तीमा मोतीराम भट्टलाई श्रद्धासुमन अर्पण गर्ने अवसर पारेर “नेपाली गजलः हिजो, आज र भोली” शीर्षकमा अन्तरक्रिया एवं कविगोष्ठीको आयोजना गरिएको थियो । बेलायतमा ऐतिहासिकरुपमा पहिलो पटक सम्पन्न गरिएको पहिलो चरणको कार्यक्रमलाई समाजकी कोषाध्यक्ष शशि थापासुब्बाले अध्यक्षता ग्रहण गरेकी थिईन् । यतिबेला समाजका अध्यक्ष डा. रुपक श्रेष्ठ विशेष कार्यले गर्दा लण्डन बाहिर छन् । समाजको उपाध्यक्ष नारायण गाउँले यस कार्यक्रमको संयोजक रहेको हुनाले प्रथम चरणको कार्यक्रम उनले नै सञ्चालन गरेका थिए तथा गजलको इतिहास र वर्तमान स्वरुप बारे उनले लघु समीक्षापत्र प्रस्तुत गरेका थिए । उक्त समीक्षापत्रमाथि उपस्थित सहभागीहरुले राखेका विभिन्न जिज्ञासाहरुमाथि अन्तरक्रिया गरिएको थियो । उनले कार्यक्रम सञ्चालन गर्नु अघि समाजकी महासचिव लक्ष्मि थापाराई (लारा) ले सबैलाई आफ्नो छोटो परिचय दिने कार्यक्रम सम्पन्न गरेकी थिईन् । बिचबिचमा नारायण गाउलेले आफ्नो गजलहरु वाचन गर्दै सहभागी सर्जकहरुलाई समेत गजल वाचन गर्न अनुरोध गरेका थिए जसलेगर्दा एउटा मुसायराको माहोल सिर्जित भएको थियो । यस कार्यक्रमका अतिथिहरुमा नेपालबाट आएका प्राध्यपक डा. पारसमणि भण्डारी, बिबिसी नेपाली विभागका पूर्व प्रमुख तथा नेपाली साहित्य विकाश परिषद बेलायतका अध्यक्ष खगेन्द्र नेपाली लगायत बेलायतका अन्य साहित्यिक संगठनहरुबाट आएका साहित्यकारहरु थिए । अनेसासका पदाधिकारीहरु तथा साहित्य अनुरागीहरुका बलियो उपस्थिति रहेको यस कार्यक्रममा नारायण गाउँलेको समीक्षापत्र प्रस्तुत गर्नुपूर्व नेपाली साहित्य विकाश परिषदका महासचिव तथा वरिष्ठ समालोचक दुर्गा प्रसाद पोख्रेलले मोतीराम भट्टको साहित्यिक योगदान बारे लघु आलेखपत्र प्रस्तुत गरेका थिए । यस कार्यक्रमलाई दुई भागमा परिचालन गरेको थियो । प्रथम चरणको कार्यक्रमलाई नारायण गाउलेले सञ्चालन गरेका थिए भने दोस्रो चरणको कार्यक्रम कवियात्री तथा समाजकी महासचिव लाराले सञ्चालन गरेकी थिईन् । कार्यक्रम मोतीराम भट्टको तस्वीरमा फूल चढाएर शुरु गरेको थियो । प्रथम चरणको कार्यक्रम सञ्चालन गरेकै क्रममा नेपालबाट आएका प्राध्यपक डा. पारसमणि भण्डारी तथा नेपाली साहित्य समाजका अध्यक्ष खगेन्द्र नेपालीलाई सम्मान गरिएको थियो । पहिलो चरणको कार्यक्रममा केवल गजल सम्बन्धि समीक्षापत्र, मोतीराम भट्टको जीवनबारे प्रकाश र सहभागीहरुले सिर्जना गरेका गजलहरुको वाचन भएको थियो । प्रथम चरणको कार्यक्रम समाप्त हुनसाथ जलपानको लागि छोटो विश्राम दिएको थियो । जलपान तथा खाजाको प्रायोजकहरुमा स्वयम् नारायण गाउले, अजिता सिङखडा तथा बलदेव भट्ट थिए । दोश्रो चरणको कार्यक्रममा कविता, गीत तथा गजलहरु वाचन गरिएको थियो । अतिथिको आसनबाट बोल्दै त्रिभुवन विश्वविद्यालयका प्रा.डा. पारसमणि भण्डारीले नेपाली साहित्यका युग पुरुष मोतीरामको बहुआयमिक व्यक्तित्व माथि प्रकाश पारेका थिए । उनले त्यस कार्यक्रममा कविता, गजल तथा गीत वाचन गरेका सर्जकहरुलाई प्रशंसा गर्दै तथा कार्यक्रमको गरिमालाई मध्येनजर गरेर आफ्नो जीवनको एउटा महत्वपूर्ण र अविस्मरणीय क्षण रहेको कुरा बताएका थिए । त्यस कार्यक्रममा अनेसास बेलायतका वरिष्ठ सल्लाहकार सुमल कुमार गुरुङ, नारायण गाउले, लारा, शशि थापासुब्बा, खगेन्द्र नेपाली, बलदेव भट्ट, विजय हितान मगर, मुकेश राई, किरण टि लिम्बू,
नवराज घिमिरे, मञ्जु भण्डारी, लय प्रसाई, होमनाथ पौडेल लगायतका कविहरुले गजल, गीत तथा कविता वाचन गरेका थिए । अन्तमा उपाध्यक्ष नारायण गाउलेको धन्यवाद ज्ञापन पश्चात कार्यक्रम समापन भएको थियो ।