कर्मचारीको अभावमा दूतावासमा गुनासो

कर्मचारीको अभावमा दूतावासमा गुनासो


np-embassyलण्डन । बेलायतको लण्डनस्थित नेपाली दूतावासमा कर्मचारी अभावका कारण काम ठप्प भएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । दूतावासमा रिक्त अस्थायी कर्मचारीहरुको पदपूर्ति नहु“दा दैनिक प्रशासनिक कामसमेत प्रभावित भएको बुझिएको छ । दूतावासमा फोन गर्दा फोन पनि नउठ्ने तथा कामका लागि जाँदा समयमा नै काम गर्न नसकिने उनीहरुले गुनासो गरेका छन् ।
करीब दुई महिनाअघि रिक्त मेड तथा फुटम्यान पदमा राजदूत डा. सुरेशचन्द्र चालीसे र उपप्रमुख तेजबहादुर क्षेत्रीको रस्साकस्सीले पूर्णता पाउन सकेको छैन । दुबैजना आ-आफ्ना मानिस घुसाउन लागिपरेको दूतावासका एकजना काउन्सिलरले नाम नबताउने र्सतमा जानकारी दिए । राजदूत चालीसेको सहायक कर्मचारीका रुपमा कार्यरत प्रीती गुरुङले पनि गत सातादेखि काम छोडेपछि दुतावासमा कर्मचारीको टड्कारो अभाव थियो । यद्यपि राजदूत चालीसेले आफूखुशी विज्ञापन नगरिकन नै केही समयअघि दूतावासमै काम गरेकी प्रतीक्षा गुरुङलाई पुनः ल्याएका छन् ।
राजदूत चालीसे आफूले घरको काम गर्न ल्याएका दुईजना कार्मचारीहरु उर्मिला श्रेष्ठ र सन्तोष मरासैनीलाई रिक्त पदमा राख्न चाहन्छन् भने उपप्रमुख क्षेत्रीले साला नाता पर्ने सुरेन्द्र रायमाझीलाई राख्नुपर्नेमा जोड दिएको ती काउन्सीलरले बताएका छन् । ‘उहाँहरुको खिचातानीले योग्य र सक्षम मानिस आउन गाह्रो छ,’ -उनले अगाडि भने ‘आफ्नो मानिस भर्ती केन्द्रको अखडा बनाउनुका सट्टा राम्रो र क्षमतावान मानिस आउनुपर्ने हाम्रो तर्क छ ।’ यद्यपि रिक्त पदहरुमा करीब २० जनाले र्फम बुझाएका छन् । ‘बुझाइएका र्फमहरुका बारेमा अगष्टको अन्तिम साता नै टुंगो लगाउनुपर्ने हो ।’ ती कर्मचारीले भने, -‘राजदूत चालीसे र उपप्रमुख क्षेत्रीको आपसी खिँचातानीले अहिलेसम्म कुनै काम कारवाही हुनसकेको छैन ।’
राजदूत चालीसेका विश्वासपात्र लेखा सहायक सूर्यबहादुर थापाले चाँडै नै टुंगो लगाउने जानकारी दिए पनि अहिलेसम्म कुनै प्रकृया शुरु गरिएको छैन । दूतावासमा फोन उठाउने, सरसफाइ गर्ने तथा पासपोर्ट शाखामा पनि कर्मचारी अभावको प्रत्यक्ष असर देखापरेको छ ।

को हुन् मरासैनी, श्रेष्ठ र रायमाझी ?

सन्तोष मरासैनीलाई राजदूत चालीसेले आफूसँगै बेलायत ल्याएका थिए । नाताले चालीसे र मरासैनी नजिक छैनन्, यद्यपि राजनीतिक आशीर्वाद छ मरासैनीलाई उनी नेपाली कांग्रेसका सभापति सुशील कोइरालाका सुरक्षा अधिकृत महेन्द्र मरासैनीका आफ्नै भाइ हुन् । कोइरालाका गार्ड महेन्द्रले भाइलाई दूतावासमा काम लगाउन आफ्नो पावर मात्र होइन धनराशी पनि खर्चिएको दूतावासका कर्मचारीहरु बताउँछन् । त्यस्तै उर्मिला पनि राजदूतकै निगाहामा आएकी हुन् । उनको परिवार राजदूत चालीसेकी धर्मपत्नी डा. मिलन अधिकारीको माइतीसँग धेरै नजिक छिन् ।
सुरेन्द्र रायमाझी उपनियोग प्रमुख तेज बहादुर क्षेत्रीका राख्खै साला हुन् । आफू बेलायतमा रहेका बेला सालालाई जोहो गर्न पाए ससुरालीमा ठूलै मान मिल्ने सपनामा छन् उनी । राजदूतलाई पनि उनले साला नियुक्ति गरिदिन दवाब दिइरहेको श्रोतले बताएको छ ।

दूतावासमा भाँडभैलो

नेपाली दूतावासको वास्तविकता सुन्दा धेरैलाई अचम्भ लाग्छ । आर्थिक भागबण्डामा माथिल्ला कर्मचारीहरुको कुरा नमिलेको बुझिएको छ । राजदूत चालीसे र लेखा प्रमुखबीचको सम्बन्ध भने धेरै राम्रो छ तर उपनियोग प्रमुख लगायतका अन्य कर्मचारीसंग राजदूतको सम्बन्धमा चीसोपन छ । आखिर एउटै मिसनमा काम गर्ने कर्मचारीबीचमा मनमुटाव किन – यो अझै रहस्यमय नै छ ।
– विकास खतिवडा