ग्यासको भाउ फेरी बृद्धि

ग्यासको भाउ फेरी बृद्धि


Gas prices go highलण्डन – नेपाली उखान काग कराउँदै जान्छ पिना सुक्दै जान्छ भने झै बेलायती ठुला कम्पनीहरुको मोनोपोलीले गर्दा सर्वसाधरण उपभोक्ताहरुले कमरतोड मार खेपिरहेका हुन्छन् । उनिहरुले मुल्य बृद्धि गर्न चाहे कसैले रोक्न सक्दैनन् । प्रत्येक वर्ष यातायातको भाडामा बृद्धि, खाद्य वस्तुहरुमा महँगाई र कुनै न कुनै निहँु पारेर व्यापारीहरुले अड्कल गरेभन्दा बढि नाफा कुम्ल्याउँछन् । सदनमा विपक्षीले यी कुराहरुमा टिप्पणी गर्दै आफ्नो पार्टीको छवि मजबूत बनाउने रणनीति बनाउँछन् तर भाउबृद्धिको बहस बहसमात्र हुन्छ र मुल्य बृद्धि बढेरै जान्छ । एकवर्ष अघि थेम्सवाटर कम्पनीले पानी नपरेको बहाना बनाएर मुल्य बृद्धि गर्न खोजेको थियो तर त्यसवर्ष भारी वर्षा भएर ठाउँ ठाउँमा बाढ आएको कारणले गर्दामात्र मुल्य बृद्धि गर्न सकेनन् । पोहोर साल पालैपालो गरेर बेलायतका ६ वटा ठुलुठुला ग्यास कम्पनीहरुले ग्यासमा मुल्य बृद्धि गरे । मुल्य बृद्धि गर्ने बहाना पनि सजिलो छ । होलसेल खरिदमा भाउ बृद्धि भएकोले गर्दा बाध्य भएर मुल्य बृद्धि गरेको भनिन्छ । एकातिर क्यामरोनको बिग सोसाईटीको सपना सेलाएर गईरहेको छ । गरिब जनता जाडोको याममा बेलायतको खप्नै नसक्ने चिसोमा जीवन जिउन बाध्य हुन्छन् । सयौ गरिबहरु मृत्युको मुखमा पर्छन । प्रत्येकवर्ष ग्यासको भाउ अक्टोबर महिनादेखि जनवरी महिनामा बृद्धि हुने गर्छन् । त्यसपछिका गृष्माकालिन् समयमा प्रायः ग्यासको भाउ बढाउँदैनन् । अब अर्को महिनाको १५ तारिखदेखि स्कोटिस साउदर्न ईनर्जीले आठ दशमलब दुई प्रत्तिशत ग्यासको भाउ बढाउने भएको छ । यसवर्ष चार प्रत्तिशत होलसेल खरिदमा बृद्धि भएको र त्यसमाथि सरकारको लेभिले गर्दा ग्यासको मुल्य बृद्धि बढाउनु परेको हो भनेर त्यस कम्पनीका विल मोरिस भन्छन् । अर्कोतर्फ कर्मचारीहरुको तनखा एकपैसा पनि बढेको छैन भनेर उपभोक्ताहरु गुनासो गर्छन् । साउदर्न स्कोटिस ईनर्जीले ग्यासको मुल्य बढाउने कुरा थाह पाएपछि त्यस कम्पनीका ग्यासको एक जना उपभोक्ता ग्यारी वेवेलले, “म अब गएर मेरो बोसलाई यो हिउँदभरिको लागि हप्ताको १६ पाउण्ड तनखा बढाई दिनुहोस भनेर आग्रह गरे निश्चय नै मेरोबोसले खुशीको अनुहार भने देखाउने छैन” भनेर गुनासो पोखाएका छन् । ग्यारी विगत ८वर्ष देखि स्कोटिश साउदर्न ईनर्जीका ग्राहक हुन् । यस ग्यास कम्पनीले भाउ बढाएको लगत्तै अरु ग्यास कम्पनीहरुले पनि आ–आफ्नो हिसाबले ग्राहकहरुको ढाड सेक्ने काम गर्छन् ।