बेलायतमा चौरासी पूजा तथा परोपकार

बेलायतमा चौरासी पूजा तथा परोपकार


IMG_5971लण्डन – हिजो, शुक्रवार १८ अक्टोबर २०१३को दिनमा मिचेट स्थित तमुधिं यूके भवनमा पर्वत जिल्ला, दुर्लङ निवासी हाल फानर््बारो, बेलायतमा बस्दै आएकी कर्ण कुमारी गुरुङको चौरासी पूजा भव्य समारोहबीच सम्पन्न भएको थियो । पूजाका आयोजक उनका तीन जना छोराहरु जेठा क्या.रि. जीवन कुमार गुरुङ, माईला श्री प्रसाद गुरुङ र कान्छा भगत गुरुङ थिए । यस पूजालाई पण्डित कमल लुइटेलले हिन्दु संस्कार अनुसार सुसम्पन्न गरेका थिए । २०० भन्दा बढि ईष्टमित्रहरुको सहभागिता रहेको यो चौरासी पूजा अनुकरणीय रहेको थियो । हिन्दुमत अनुसार ८४को सङ्ख्याले ठुलो महत्व राख्दछ । भनिन्छ ८४ लाख जुनी भोगे पश्चात प्राप्त गर्ने यो मानव जुनी सबैभन्दा सर्वश्रेष्ठ जुनी मानिन्छ । स्वयम् देवहरु पनि मानव जुनी प्राप्त गर्नका लागि लालायित हुन्छन् । मान्छेको जुनीमा ८४वर्ष बाँचे पश्चात ८४पूजा गर्ने परम्परा नेपालका हिन्दुहरु र बौद्धमार्गीहरुमा परापूर्वकालदेखि चलि आएको छ । ८४पूजा सम्पन्न गरे पश्चात मान्छे देवतुल्य अथवा पूजनीय बन्न पुग्छ भन्ने विश्वास रहेको छ । हिजो मिचेटमा सम्पन्न गरेको चौरासी पूजा समाजलाई सहयोग गर्ने एउटा उदहारण थियो । ३५ वर्षको युवा उमेरमा विद्वी बन्न पुगेकी कर्ण कुमारीले आफ्नो जीवनकालमा धेरै दुःखसुखका आरोह आवरोहहरु पार गरेर तीन छोराहरुलाई बाल्यकालदेखि राम्रो शिक्षा दिईन् । उनिहरुलाई आ–आफ्नो खुट्टामा उभ्याउन सफल बनेकी थिईन् । जीवनभरी सदा सकारात्मक सोच राखेर मानव सेवामा समर्पण हँुदै आएकी छिन् । उनी समाज सेविकामात्र नभई अध्यात्ममा र धर्ममा धेरै विश्वास राख्ने महिला हुन् । मानव कल्याणका लागि परोपकार नै धर्म हुन् भन्ने कुरामा विश्वास राख्ने कर्ण कुमारीले हिजो आफ्नै गाउँ स्थित पर्वत जिल्ला दुर्लुङ गाविस स्थित दुई वटा हाईस्कुलहरुका लागि एक लाखको हिसाबले चौरासी पूजाको अवसर पारेर आर्थिक सहयोग प्रदान गरिन् । पञ्चासे समाज, यूके लाई तीनसय तीन पाउण्ड र तमुधिं यूकेलाई २०१ पाउण्ड आर्थिक सहयोग प्रदान गरेर तमुधिं यूकेलाई प्रत्ति महिना पाँच पाउण्डको हिसाबले आजिवन आर्थिक सहयोग प्रदान गर्ने तमुधिं यूकेको अभियानलाई पनि सार्थकता प्रदान गरिन् । पूजाकै दौरान धर्मगुरु कमल लुईटेलले धर्म सम्बन्धि संक्षेपमा प्रवचन दिएका थिए । कार्यक्रमलाई ईन्द्र गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा सबै सहभागीलाई क्या.रि. जीवन कुमार गुरुङ आमाको जीवन छोटकरीमा प्रकाश पार्दै सबै ईष्टमित्रहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम अत्यन्त दिव्य माहोल बीच सञ्चालन भईरहेको थियो । पञ्चासे समाज यूकेका अध्यक्ष, सुमल कुमार गुरुङलाई आर्थिक सहयोग ग्रहण गरे पश्चात केहि शब्द सम्बोधन गर्ने आग्रह गरिएको थियो । सुमल कुमार गुरुङले सम्बोधन गर्नेक्रममा आमाको कविता सुनाउँदा भावविव्हल भएर नयनभरि टम्म हुन आएको आँसु थाम्न सकेनन् र हलभरीका ईष्टमित्रहरुमा सबैका आँखा रसाएको थियो । त्यसै अवसरमा शुभकामना शिर्षकको कविता मार्फत कर्णकुमारी गुरुङलाई कवियात्री जगन कुमारी गुरुङले शुभकामना प्रकट गरेकी थिईन् ।